‘तेस्रो मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि, तयारी पूरा

Share:

पोखरा, २४ जेठ । तेस्रो ‘मेगा एजुकेशन फेयर’ पोखरामा शुक्रबारदेखि सुरु हुँदैछ । इभेन्ट कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो शैक्षिक मेला आयोजना गरेको हो । दुई दिनसम्म न्युरोड स्थित सिटी स्क्वायरमा सञ्चालन हुने फेयरको सम्पूर्ण तयारी सकिएको छ ।

पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई उपयोगी बनाउन निकै मेहनत गरेको जनाएको छ । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयरमा सहभागी हुने विद्यार्थी र अभिभावकका लागि निकै राम्रो परामर्शको व्यवस्था गरिएको छ ।

दुई दिने मेला अवधीभर सिटी स्क्वायरमा २० बढी शैक्षिक परामर्श संस्थाहरुबाट वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी प्राप्त हुनेछ । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् ।

मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।

अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।

क्विन्सफोर्ड कलेजको प्रस्तुतिमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा जापान, न्युजिल्याण्ड, अष्ट्रेलिया, यूएस, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: