अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

Share:

बिग न्यूज
काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) काभ्रे च्याप्टरले सम्मान गरेको छ । कला जगतमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै च्याप्टरले यो वर्ष काभ्रे स्थायी घर भएका बुढाथोकीलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सभासद बसुन्धरा हुमागाँई र फेटोका अध्यक्ष अमरकृष्ण चन्दले बुढाथोकीलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान व्यक्त गरेका थिए ।

सानैदेखि अभिनय गर्ने आदित्यले २०५९ सालमा राष्ट्रिय नाचघरमा औपचारिक रुपमा अभिनयको कक्षा लिएका थिए । फिल्ममा आउन भन्दा अगाडि नै उनी टेलिफिल्महरुबाट चर्चामा आएका थिए । सबिन बाँस्तोलाको निर्देशनमा तत्कालिन समयमा आउने टेलिसिरियल ‘थोरै भए पुगिसरी’बाट उनी निकै चर्चित बने ।

शम्भु प्रधानको ‘तिमी पुरुष’, विष्णु शर्माको ‘क्याम्पस’ र लय संग्रौलाको ‘एक रात’ जस्ता तत्कालिन समयको लोकप्रीय टेलिसिरियलहरुमा आदित्यले मुख्य भूमिकामा अभिनय गरिसकेका छन् । उनले अभिनयसँगै विभिन्न सर्ट फिल्महरु पनि बनाउँदै आएका छन् । यो बीचमा अभिनय र निर्देशनको माध्यमबाट उनले विभिन्न अवार्डहरु समेत प्राप्त गरेका छन् ।

च्याप्टरले हरेक वर्ष कला जगतमा लागेको एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यस भन्दा अगाडि च्याप्टरले वरिष्ठ रंगकर्मी पंकज चित्रकार र वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटालाई सम्मान गरिसकेको छ ।

सम्मान पाएपछि अभिनेता तथा निर्देशक बुढाथोकीले आफुलाई सम्मानपछि अझै बढि जिम्मेवार महशुस भएको प्रतिक्रिया दिए । आफूलाई सम्मानले कला क्षेत्रमै लागिरहन प्रेरित गरेको उल्लेख गर्दै उनले आफु सदैव यसै क्षेत्रमा केहि गरिरहने वचन दिए ।

कार्यक्रममा कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का, यसअघि वर्ष सम्मान पाईसकेका गायक मच्छेश्वर सापकोटा लगाएत विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: