Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » वडा सदस्य क्षेत्री विकासविरोधी भएको आरोप,सदस्य भन्छिन,”आरोप झुठो हो”

वडा सदस्य क्षेत्री विकासविरोधी भएको आरोप,सदस्य भन्छिन,”आरोप झुठो हो”

३० कार्तिक,पोखरा । अनुप पौडेल । पोखरा महानगरपालिका वडा नम्बर ५ की वडा सदस्य अन्जु क्षेत्री विकास विरोधी भएको आरोप लागेको छ । वडा नम्बर ५ धारापानी आसपासका स्थानीय बासिन्दाले उनले विकास निर्माणको काममा वाधा पुराएको भन्दै यस्तो आरोप लगाएका हुन् । सिमाना मार्ग बाँसटाठी बाटो निर्माण समितिले योजना अनुसार सडक निर्माण गर्दा उनले अवरोध गरेको स्थानीयवासी एवं समितिका अध्यक्ष युवराज खतिवडाले बताएका छन् । खतिवडाका अनुसार सुरुमा वडाध्यक्ष सहित सबैसँग छलफल गरेर निर्माण सुरु गरेपनि वडा सदस्य केसीले आफ्नो घरमा क्षती पुग्ने भएपछी अवरोध गरेकी हुन् । उनका अनुसार सदस्य क्षेत्रीले बाटो निर्माण कार्यमा तोकिए अनुसारको मापदण्ड छोड्न अटेर गरेकी हुन् ।

अध्यक्ष खतिवडाले विग एफ.एम.सँग टेलिफोनमा भने,”सुरुमा हामीले नै विकास गर्नुहोला भनेर जिताएर पठायौ तर अहिले उहाँ नै विकासविरोधी निस्किनु भयो ।” उनले थपे,”हामीले सुरुमा सबैसँग बसेर बाटो निर्माणका लागि छलफल गरेर निर्णय गरेका थियौ,अहिले उहाँले त्यो निर्णय विपरीत कार्य गर्नुभयो ।”समितिका उपाध्यक्ष योगराज पौडेलले सुरुमा अगाडि र पछाडी २२/२२ फिट बाटो चक्लाउने निर्णय भएपनि सदस्य केसीले त्यसमा अवरोध पुराएको बताए । उनले भने,”सदस्य ज्युले डोजरको चापी नै खोस्नुभयो,पुलिस पनि बोलाउनुभयो,हामीले उहाँको विकासविरोधी गतिविधी सहन सकेनौ र वडा कार्यलयसम्म पुग्यौं ।”बुधबार वडा सदस्य केसी विरुद सयौं बढीको संख्यामा स्थानीयवासी वडा कार्यलय अगाडी विरोध गर्न पुगेका थिए ।

समितिका कोषाध्यक्ष विष्णु गौतमका अनुसार सिमाना मार्ग अन्तर्गत पर्ने ढुङ्गेखोला सम्मको ३ सय ५० मिटर सडक ढलान गर्ने गरी काम अगाडी वढिरहेको थियो । त्यसबेला ९ सय मिटर पहिले ढलान भईसकेको थियो । बाँकी रहेको सडकमा पुरानो १५ फिट मापदण्डलाई बढाएर २२ फिट बनाउने क्रममा जनप्रतिनिधी क्षेत्रीले मापदण्ड नलाग्ने भन्दै प्रहरी बोलाएर एक्साभेटरको चावी नियन्त्रणमा लिएकी थिइन् । तर सदस्य केसीले आफ़ूलाई विकासबिरोधि भन्ने समितिका अध्यक्ष युवराज खतीवडाको १ आना १ पैसा २ दाम क्षेत्रफल (१-१-२ ब.मि .४४.३० )मा घर प्रति जग्गा ९ आनामा रातारात अोगटेर बसेको आफूले पाएको सामाजिक संजालमा तस्बिर सहित पोष्टाएकी छन् ।

वडा कार्यलय अगाडी विरोध प्रदर्शन गर्दै आक्रोशित स्थानीयबासी

आक्रोशित स्थानीयले कालोमोसो दल्ने चेतावनी दिएपछी वडाध्यक्ष सहित स्थानीय आक्रोशित प्रतिनिधी बीच लामो वार्ता भएको थियो । वडाध्यक्ष धनबहादुर नेपालीले छलफलमा बाटो निर्माण गर्दा २२ फिट कै चाक्लो र राम्रो देखिने भएपछी २२ फिट कै बनाउने निर्णय गरेको बताए । उनका अनुसार वडा सदस्य क्षेत्रीले पुलिस बोलाएर वितण्डा मच्याएको खबर भने झुटो हो । उनले भने,”उहाँले पुलिस बोलाउनुभयो भन्ने कुराको कुनै तुक छैन र पुलिस बोलाएको सदस्य ज्युले होईन । विना जानकारी घर भत्काएपछि पीडित बनेका स्थानीयले वडामा खबर गरेका थिए । नेपालीले थपे,”पुलिस बोलाएको पीडित बनेका स्थानीयले हो,वडामा मलाई बुझाएको पत्र मसँग सुरक्षित छ । सदस्य क्षेत्रीले बाटो निर्माणको कार्यमा कुनै अवरोध नपुराएको र उनका श्रीमानले पनि पहिले नै सहमति जनाएको नेपालीले बताए । निर्माण समितिका कोषाध्यक्ष गौतमका दाई दिननाथ सुवेदी सहितको टोलीले कातिक २५ गते वडा कार्यालयमा उजुरी दिएका थिए ।

के भन्छिन त विवादित वडा सदस्य क्षेत्री ?

विवादमा परेकी वडा सदस्य केसीले भने आफू विकासविरोधी नभएको बताएकी छन् । उनले बाटो बनाउने विषयमा आफू पूर्ण सहमत भएपनी आफूलाई झुठो आरोप लगाईएको बताईन । क्षेत्रीले सार्वजनिक पर्ति जग्गामा बल र धम्कीको भरमा घरकम्पाउण्ड गरेर बसेको र उसैले सोझा साझा नागरिकको लालपुर्जा भित्रको जग्गामा अनुमति बिना धम्काएर विकासको नाममा डोजर चलाएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेकी छन् । उनले यो आरोप निर्माण समितिका पदाधीकारीलाई लगाएको बुझिन्छ । स्वार्थीहरु मिलेर जनताका लागि काम गर्ने प्रतिनिधीलाइ विकास विरोधी भनि प्रचार गर्नु गलत भएको उनको भनाई छ । उनका अनुसार विरोधमा उत्रनेमा सोही टोलका बासिन्दा भन्दा पनि बाहिरी वडाका बासिन्दा थिए। उनले भनिन,”विरोध गर्नेमा हाम्रो टोलका बासिन्दा भन्दा पनि वडा नम्बर १८ का बासिन्दा छन्,उताका वडाका सबैजना हुलिया पाराले विरोधमा उत्रनुभयो । क्षेत्रीले थपिन,”बाटो खन्दा प्रत्यक्ष उपभोक्ताको सहमति हुनुपर्छ,डोजर लगाउँदा घरधनीको अनुमती लिनुपर्ने हो ।”लोकतन्त्रमा हामी प्रतिनिधि आइसकेको बेला जबर्जस्ती गर्नुहुदैन हामीले जन भावना पनि बुज्नुपर्छ,”उनले भनिन ।आफु डोजर लगाउँदाको समयमा पोखरा बाहिर पर्वत रहँदा डोजर लगाउन सुरु गरेको र आफू फर्के लगत्तै धेरैले बिना जानकारी भत्काउन सुरु गरेकोमा गुनासो पोखेको सुनाईन । बजेट परी नसकेको ,लागत स्टमेट नगरेको ,कानुनी रुपमा वडामा र नगरपालिकामा सम्झौता नगरि घरमा डोजर लगाउदा नागरिकका समस्या ख्याल राख्दै थोरै समय दिएर सबैलाई समेटदै लैजानुपर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पारिन ।

उनले भनिन,”म एउटा जनप्रतिनिधि हुँ,मेरै टोलका बासिन्दाले मसँग गुनासो गर्न आउनुभयो,मैले त्यसको विषयमा आवाज उठाउँदा मलाई विकास विरोधी भनियो ।”केसीले उदाहरण दिँदै थपिन,”मेरो घर छिमेकको एकजना आमा बिना जानकारी आफ्नो गेट र पर्खाल भत्काउन थालेपछी डोजर अगाडी गएर सुत्नुभएछ ।”२२ फिट बाटो निर्माण गर्न तिहारको करिव १० दिन अगाडी नै सहमति भएको थियो । त्यसपछि कामदार पनि नपाईने र तिहार पनि सुरु भएकाले तिहार पछि काम गर्ने कुरा भयो । टोलका बासिन्दा तिहार मनाउन लागे । टोलका बासिन्दा घर नफर्कदै तिहार लगत्तै घर भत्काउन सुरु गरियो । त्यसपछी केहीले त्यसको अवरोध गरे र सदस्य क्षेत्रीसँग गुहार माग्न पुगे । स्थानीयले उनलाई गुनासो गरेपछि उनले उपभोक्ता समितिसँग २/३ दिन काम रोक्न अनुरोध गरिन । उनले अनुरोध गरेपछि आफ्नो टोल परका र त्यहाँ जग्गा नभएका बासिन्दाले उनलाई विकास विरोधी भन्दै आवाज उठाएका हुन् । उनले बाटो निर्माण गर्दा त्यहाँ भएका अव्यस्थित तारलाई हटाउन बिधुत प्राधिकरणसँग सहकार्य गरेर दुर्घटना न्यूनीकरण गर्ने सोच भएको भएपनि त्यसमा समेत सहमति जुट्न नसकेको बताईन । तर उनले आफूलाई डोजरको चाबी खोसेको भनेर लगाईएको आरोप पनि झुठो भएको बताईन । आफूलाई झुठो आरोप लगाएकोमा न्यायको माग गर्ने उनको भनाई छ । अहिले सहमती बहेको ठाउँमा मात्र डोजर लगाउने काम जारी रहेको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …