Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » [म्याच प्रिभ्यू] इंग्ल्याण्ड Vs स्विडेन @७ः४५

[म्याच प्रिभ्यू] इंग्ल्याण्ड Vs स्विडेन @७ः४५

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आज (शनिबार) क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

फ्रान्स र बेल्जियमले शुक्रबार राति भएको खेलबाट सेमिफाइनलको टिकट पक्का गरिसकेका छन् भने बाँकी दुई टोलीको आज टुंगो लाग्ने छ ।

आज हुने पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ मा शुरु हुनेछ ।

विश्वकप सुरु हुनुअघि स्विडेनलाई दावेदार टोली मानिएको थिएन । ज्लाटन इब्राहिमोबीचको सन्यासपछि स्विडेनमा स्टार खेलाडीको अभाव खड्किएसँगै उसले ठूला प्रतियोगितामा स्वभाविक दावेदारी दिन सकेन । तर, स्वीडेनको टिम गेम हेर्दा र क्वार्टरफाइनलसम्मको यात्रा विश्लेषण गर्दा उसले पनि विश्वकपको उपाधिमा आफ्नो दावेदारिता पेश गरिसकेको छ ।

सन् १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ ।

सन् १९६६ को विजेता इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ ।

इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ ।

जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।

त्यसको केही घण्टापछि मस्कोको स्पार्टाक एरिनामा एक–एक को बराबरीपछि पेनाल्टी शुटआउटमा इंग्ल्याण्डले कोलम्बियालाई हरायो । पछिल्ला दुई संस्करण दक्षिण अफ्रिका र ब्राजिलमा निराशाजनक प्रर्दशन पछि जारी विश्वकपको क्वार्टरफाइनलसम्मको यात्राले देशमा नयाँ आशा र अपेक्षाको सञ्चार भएको छ ।

कोलम्बियाविरुद्धको खेलमा स्टोन्सले शानदार प्रदर्शन गरेका थिए । उनले विश्वकपको सपना देखेका छन्, तर, स्विडेनजस्तो निखारिएको टोलीविरुद्धको प्रतिस्पर्धाअघि उनी केही डराएका छन् ।

पछिल्लो पटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले स्विडेनविरुद्धको १३ खेलमा मात्र ३ जित हासिल गरेको छ । यद्यपि केही समर्थकहरु सोच्छन कि स्वीडेन कमजोर प्रतिस्पर्धी हो ।

स्विडेनको रक्षापंक्तिमा ग्रान्क्भिष्टलाई दायाँपट्टि साथ दिने मिकेल लस्टिङ दुई पहेँलो कार्डका कारण आजको खेलमा हुने छैनन् । त्यस्तै इंग्ल्याण्डका जेमी भार्डीको ग्रोइन इन्ज्यूरीका कारण चिन्तित छन् । उनको चोट गम्भीर छ त्यसैले उनले कोलम्बियाविरुद्ध पेनाल्टी प्रहार गरेका थिएनन् । उनी आजको खेलमा उपस्थित हुने निश्चित छैन ।

प्लेयर्स टु वाच

मार्कस बर्ग – स्विडेन

मार्कसले अहिलेसम्म विश्वकपमा स्विडिस टोलीका लागि गोल गर्न सकेका छैनन् । तर, इंग्लिस टोलीले उनलाई हल्का रुपमा लियो भने उसका लागि प्रत्युत्पादक हुन सक्छ । स्मरणीय के छ भने ३१ वर्षीय स्ट्राइकर बर्गले पछिल्लो पाँच सिजनमा पानाथिनाइकोस र अल एनका लागि १३७ खेलमा ९८ गोल गरेका छन् ।

कियरन ट्रिपर – इंग्ल्याण्ड
ह्यारी केन, रहिम स्टिर्लिङ र जेसे लिंगार्ड, यी तीन स्टारलाई इग्ल्याण्डको रक्षाप्रक्तिको प्रमुख हतियार मानिनछ । तर, विङ–ब्याकको रुपमा ट्रिपरको प्रदर्शन जारी विश्वकपमा शानदार देखिएको छ । टोटनह्यामका स्टार ट्रिपर रक्षात्मक रुपमा उत्कृष्ट देखिएका छन् साथै मध्य क्षेत्रबाट बल अघि बढाउन र स्ट्राइकरलाई पास उपलब्ध गराउन खप्पिस छन् ।

म्याच फ्याक्ट्स

– स्विडेन र इंग्ल्याण्डबीच २५ खेल भएका छन् र ८ खेल इंग्ल्याण्ड तथा ७ खेल स्वीडेनले जितेको छ । ९ खेल बराबरीमा सकिएको छ ।

– दुईबीच विश्वकपमा यो तेस्रो भेट हो, यसअघि भएका दुवै खेल बराबरीमा सकिएका थिए । सन् २००२ मा १–१ को बराबरी खेलेका यी टोलीले सन् २००६ मा २–२ गोलको बराबरी खेलेका थिए ।

– इंग्ल्याण्ड आफ्नो विश्वकप इतिहासमै मात्र दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् १९६६ मा उपाधि जितेको इंग्ल्याण्ड १९९० मा चौथो भएको थियो ।

– ह्यारी केनले विश्वकपमा गरेका ६ शट अन टार्गेटमा ६ गोल नै गरेका छन् । जसमध्ये तीन गोल पेनाल्टीमा सम्भव भएको हो । विश्वकपमा पेनाल्टीमा ३ गोल गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । सन् १९९४ मा बुल्गेरिकाका रिस्तो स्टोच्कोभले पेनाल्टीमा ३ गोल गरेका थिए ।

Check Also

माछापुच्छ्रेको आँगनमा विश्वकै मनमोहक क्रिकेट मैदान, पिपिएलका लागि तयार

पोखरा – समय १२ वर्ष अघि । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान …