Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ‘पीडित पनि हामी, प्रहरी ज्यादती पनि हामी माथि नै ?’

‘पीडित पनि हामी, प्रहरी ज्यादती पनि हामी माथि नै ?’

बिग न्यूज
पोखरा, ३० कात्तिक । पीडित भएर पनि पीडक जसरी व्यवहार गरिएको भन्दै तनहुँ भिमादको एक परिवारले मिडियामा गुनासो पोखेका छन् । आफूहरु पीडित भएको दाबी गर्दै प्रहरीले पीडितलाई नै झन् बढि तनाव दिने काम गरेको उनीहरुको आरोप छ ।

घटनाअनुसार कात्तिक २३ गते भाइटिकाको दिन भिमादमा स्थानिय व्यवसायी गणेश सुवेदी सोहि ठाऊँकै स्थानिय समूहबाट निर्घात कुटिए । परिवारका सदस्यले भनेको कुरालाई मान्ने हो भने उनी प्रहरीकै अगाडि कुटिएका थिए । त्यसैमाथि प्रहरीले उनलाई कुटपिट गर्ने भनिएको स्थानिय सुरज नेपाली सहित उनको टोलीको बचाऊ गरि उल्टै सुवेदीलाई नै दोषी देखाउने गरि माहौल बनाईरहेको घाईते सुवेदीको परिवार बताउँछ ।

‘मेरो भाइ राती साढे ९ बजेसम्म हामीसँगै घरमै थियो । एक्कासी फोन आएर कसैले उसको ड्राइभरलाई कुटपिट गरेको र तत्काल त्यहाँ आउन भनेपछि एकजना साथीलाई लिएर ऊ गएको थियो । अनि पछि त झन् उल्टै भाइ नै घाइते भएको खबर आयो ।’ सुवेदीकी दिदी मञ्जु अधिकारीले भनिन्–‘यतिसम्म कि घाइते भएर बेहोश भएको मेरो भाइलाई अस्पतालसम्म पु¥याउन पनि प्रहरीले आवश्यक ठानेन ।’

प्रहरीसँगकै मिलेमतोमा अर्को समूहले आफ्नो भाइलाई कुटपिट गरेको मञ्जुले आरोप लगाईन् । ‘नत्र उल्टै मेरै भाइ निर्घात कुटिएको छ । गम्भिर घाइते भएको छ । अनि फेरि उसैलाई प्रहरीले दोषीजसरी व्यवहार देखाउँछ । यो मिलेमतो नभई के हो त ?’ मञ्जुले प्रतिप्रश्न गरिन् ।

सुवेदीका नाताले दाइ पर्ने सुरेश पहारीले पनि प्रहरीले पीडितलाई झन् बढि पीडा दिईरहेको गुनासो व्यक्त गरे । ‘घाईते भएपछि भाइलाई फिस्टेल अस्पताल ल्याईयो । त्यसपछि सेवा अस्पतालमा सारियो । अझै त्यहाँ पनि नभएर अहिले उसलाई काठमाण्डौको अस्पताल पठाईएको छ । तर प्रहरीको व्यवहार हेर्दा पीडितलाई नै झन् बढि तर्साउने खालको छ । यो कस्तो खालको न्याय हो ?’

यद्यपी प्रहरीले भने परिवारले लगाएको आरोपको खण्डन गरेको छ । आफूहरुले घटनाको विषयमा दुवै पक्षलाई एक ठाऊँमा ल्याएर अनुसन्धान गर्न खोजेको उसले बताएको छ । घटनामा संलग्न भनिएको अर्को पक्षको नेतृत्व गर्ने सुरज नेपाली पनि आफूहरुको नियन्त्रणमा आएको स्थानिय बेलचौतारा प्रहरीले जनाएको छ ।

सुवेदीले भिमादमा रहेर हिरो होण्डाको शो रुम संचालन गर्दै आएका छन् । विभिन्न सामाजिक काममा समेत संलग्न हुँदै आएका सुवेदी नेपाली काँग्रेसको भातृ संगठन नेविसंघसँग आबद्ध छन् । त्यस्तै उनले तनहुँमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक इभेन्टहरु पनि गर्दै आएका छन् ।

सुवेदीको परिवारले घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाहि गर्न आग्रह गरेको छ । आफूहरु पीडित भएकोले प्रहरीले झन् ज्यादती गर्नु भनेको मानवअधिकार विपरित कदम भएको सुवेदी परिवारको दाबी छ । त्यस्तै नेविसंघ तनहुँले पनि यो विषयलाई लिएर निरन्तर दबाब दिँदै आएको छ । सुवेदी निर्दोष रहेको र उनलाई उचित न्याय दिलाई पीडकलाई कारबाहिको दायरामा ल्याउन संघले आग्रह गरेको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …