Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » ‘इन्टु र मिन्टु’लाई पोखरामा सास्ती, रेनाशाले मागिन् माफि

‘इन्टु र मिन्टु’लाई पोखरामा सास्ती, रेनाशाले मागिन् माफि

रेम बिक
पोखरा, २७ भदौ । ‘इन्टु र मिन्टु’ पोखरा आएका थिए । ‘इन्टु मिन्टु पोखरामा’ भन्दै तामझामसहित आईपुगेका उनीहरुले दिउँसो १ बजे पत्रकारहरुलाई निम्ता दिएका थिए, भेटघाटका लागि । पोखरा ‘मिडटाउन ग्यालरिया’को परिसरमा पत्रकारहरु बोलाएकै समयमा आईपुगे । तर इन्टु र मिन्टु त कता हो कता ? बेपत्ता ।

खोजी गर्दै जाँदा पत्ता लाग्यो, उनीहरु आफ्नो फिल्मको प्रचारका लागि जनप्रिय बहुमुखी क्याम्पसतर्फ गएका रैछन् । जनप्रिय क्याम्पस त्यहि ठाऊँ हो, जहाँ केहि समय अगाडि ‘मेरी मामु’ भन्ने फिल्मको प्रचार गरेकै कारण पढाईमा अवरोध भएको भन्दै विद्यार्थीहरुले चर्को विरोध गरेर दुई दिनसम्म प्रशासनमा ताला लगाएका थिए । अब त्यस्तो ठाऊँमा ‘इन्टु र मिन्टु’ पुगे । केहिछिन् पत्रकारलाई कुराएरै भएपनि उनीहरु त्यहाँ आफ्नो प्रस्तुती दिनका लागि कुरेर बसे । तर केहि पार लागेन । करिब एक घण्टापछि उनीहरु त्यहाँबाट केहि नगरि लुरुक्क फर्किए । र, लागे पत्रकार सम्मेलनतर्फ ।

पत्रकार सम्मेलनमा पत्रकारहरु कुर्न परेकोमा त्यसै त्यसै ‘ब्लड प्रेसर’ बढाएर बसेका थिए । पत्रकार सम्मेलनमा इन्टु उर्फ धिरज मगर, मिन्टु अर्थात साम्राज्ञीलक्ष्मी शाह, निर्देशक रेनाशा वान्तवा राई र अर्का अभिनेता सारुक ताम्राकार आईपुगेका थिए । फिल्मका क्याप्टेन भएका नाताले पत्रकार शुरुमा निर्देशक माथि नै खनिए ।

‘के पत्रकारहरुको इज्जत छैन । यीनिहरुलाई जति कुराए पनि हुन्छ भन्ने लाग्छ हजुरहरुलाई ?’ कड्किँदै पत्रकार सम्मेलनमा पहिलो प्रश्न यसरी आएपछि निर्देशक राईले भनिन्–‘कृपया हामी यो कुरालाई लिएर माफि माग्न चाहन्छौँ । रातभरिको गाडीको यात्रापछि विहान पाँच बजे मात्रै आएर सुतेको र प्रचारका लागि धेरै ठाऊँमा जान पर्ने भएकोले ढिला भएको हो । यसलाई अन्यथा नलिईदिनुहोला । र, मैले पोखरामा पत्रकारहरु निकै पंचुअल छन् भन्ने कुरा काठमाण्डौका हरेक मेकर्सलाई बताउनेछु ।’

पत्रकार सम्मेलनमा निर्देशक रेनाशा राईले फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ आफ्नो डेब्यु भएपनि यसमा मेहेनत निकै गरेको बताईन् । एउटा गज्जब फिल्म बनेकोमा पुरै इन्डष्ट्रिले गर्व गर्न सक्ने फिल्म बनाएको उनले दाबी गरिन् । फिल्ममा कलाकारहरुले पनि उत्कृष्ट काम गरेको बताउँदै उनले फिल्म हरेक खालका दर्शकका लागि बनेको प्रतिकृया दिईन् ।

फिल्म ‘इन्टु मिन्टु लन्डन’मा आगामी असोज ५ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । फिल्मको प्रोमो र गीतसंगीतले यतिबेला दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । फिल्मको व्यापारलाई लिएर निर्माण कम्पनी निकै आशाबादी देखिएको छ । आइकोर फिल्मस्का लागि प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले फिल्म निर्माण गरेका हुन् ।

 

Check Also

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर …