Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » प्रेम, चाहना र जीवनशैलीको ‘कथा काठमाण्डु’

प्रेम, चाहना र जीवनशैलीको ‘कथा काठमाण्डु’

रेम बिक
पोखरा, २० भदौ । काठमाण्डौ । सबैको सपनाको शहर । यो शहरमा हरेक व्यक्ति केहि न केहि सपना साँचेर छिर्छन् । कतिको सपना साकार हुन्छ त कैयन् सपना भीडमा विलिन भैजान्छ ।

शायद काठमाण्डौ सपनाहरुको भण्डार हो । यहाँ हरेकसँग आफ्नै सपना छ । आफ्नै कथा छ । विविध चरित्र छन् । र, त्यहि सपना जस्तोसुकै अवस्थामा पनि पुरा गर्ने उत्कट चाहना छ ती चरित्रहरुमा ।

लेखिका तथा निर्देशक संगीता श्रेष्ठ काठमाण्डौ र यहाँको यस्तै प्रवृत्तिमाथि कथा बुनेका छन् । केहि त्यस्ता चरित्रहरुलाई देखाएर उनले काठमाण्डौ र यहाँको लुकेको पाटो केलाउँदैछन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘कथा काठमाण्डौ’को प्रचार सामाग्रीहरुले पनि यो शहरको फरक–फरक चरित्रको प्रवृत्ति र जीवनशैली देखाउन खोजेको छ ।

खासगरि काठमाण्डौका तीनवटा विशिष्ट प्रवृत्तिमाथि फिल्म केन्द्रित देखिन्छ । यो शहर र यहाँका केहि चरित्रहरुको प्रेम, चाहना र जीवनशैलीमार्फत उनले यहाँको कथा पस्कन खोज्दैछन् । टेलिभिजनमा लेखन र निर्देशनको अनुभव लिईसकेकी संगीताको यो फिल्म दर्शकको लागि पनि विशेष पर्खाईको फिल्म बनिसकेको छ ।

अझै त्यसैमाथि फिल्मको प्रचारसामाग्री सार्वजनिक भैसकेपछि धेरैले यो फिल्मलाई उत्सुकताका साथ हेरिरहेका छन् । अभिनेता प्रमोद अग्रहरी र अभिनेत्री प्रियंका कार्कीको ‘उत्कट यौन चाहना’ भरिएका दृश्यहरु बाहिरिएसँगै फिल्मको चर्चा ह्वात्तै बढेको छ । फिल्ममा काठमाण्डौको एउटा खाले चरित्र र प्रवृत्तिलाई उनीहरुमार्फत देखाईएको छ । र, अहिले दर्शकलाई यहि कुराले झन् बढि फिल्मतर्फ आकर्षित गरिरहेको छ ।

फिल्ममा आयुष्मान देशराज जोशी, संजोग कोईराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगाएतका कलाकारहरुसमेत अभिनय गरेका छन् । निर्देशकले शहरिया मायाप्रेम र जीवनशैलीको विषयमा अन्य दुई जोडीमार्फत देखाउन खोजेको प्रचार सामाग्री हेर्दा बुझ्न सकिन्छ ।

त्यसैमाथि हरिवंश आचार्यले फिल्मकै लागि गाएको गीत ‘मेरि माया वेलकम टु धुलोमाण्डु’ले पनि फिल्मको प्रचारलाई अझै सघाएको छ । फिल्म असोज १२ गतेदेखि चल्दैछ ।

 

Check Also

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर …