Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » तरकारी देखि रियलस्टेटसम्म : ‘पवन प्रजापति’को ४२ वर्षे व्यवसाय यात्रा

तरकारी देखि रियलस्टेटसम्म : ‘पवन प्रजापति’को ४२ वर्षे व्यवसाय यात्रा

रेम बिक
पोखरा, ३१ भदौ । पोखरा महेन्द्रपुलस्थित अहिलेको ‘गोरखापत्र बाजे’को पसल भएकै ठाऊँमा करिब ४२ वर्ष अगाडि तरकारी पसल थियो । एउटा सानो १३ वर्षको केटो तरकारी पसलमा बसेर व्यापार गथ्र्यो ।

एउटा ‘जुनुन्’ थियो उसमा । व्यापार गरेर धेरथोर पैसा जोड्नुपर्छ र केहि गर्नुपर्छ भन्ने । उसले आफ्नो पढाईलाई पनि निरन्तरता दिईरहेकै थियो । काठमाण्डौबाट साझा बसमा तरकारी ल्याएर आफ्नो व्यापार शुरु गरेको त्यहि ठिटो अहिले आसन्न पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि आफुलाई उभ्याएको छ ।

पवनकुमार प्रजापति त्यहि व्यक्ति हुन् । जो अहिले पोखराका सफल व्यवसायी मानिन्छन् । १३ वर्षे त्यो ठिटो अहिले ५५ वर्ष टेकिसक्यो । र, यो बीचमा उसले व्यापारलाई निरन्तर आफ्नो पेशा बनायो । विभिन्न थरीका व्यापारको अनुभव संगाल्दै आफुलाई सफल बनाउन ऊ निरन्तर खटिरह्यो ।

त्यतिबेला बुवा पञ्चकुमार प्रजापतिले माटोको भाँडाको व्यापार गर्थे । घरमा व्यवसायिक माहौल थियो । आफ्नै बुवाको पथप्रदर्शनमै उनले व्यापार शुरु गरेका थिए ।

र, उनको व्यवसायको यात्रा पनि उत्तिकै रोमाञ्चक छ । तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चाले । पवनकुमार प्रजापतिले रेस्टुरेन्ट व्यवसाय गरेको ४० सालताका हो । व्यवसाय सँगै उनी क्षेत्रीय कृषि कार्यालयको जागिरे समेत बने । करिब १२ वर्षसम्म उनले जागिरलाई निरन्तरता दिए । यद्यपी यो बीचमा उनले व्यवसाय गर्न पनि छोडेनन् ।

जागिर गरिरहँदा पनि उनी त्यो बेला भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बेच्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । व्यवसायहरु चौपट भैरहेका थिए । प्रजापति भने चुनौतीमै सम्भावना देख्थे । त्यसैले त त्यो बेलामा उनले सिसा, प्लाइ, हार्डवेयर सामाग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडे ।

प्रजापतिको व्यवसायीक यात्रा रोकिनेवाला थिएन । त्यसैले त उनले एकपछि अर्को व्यापारमा हात हाल्थे । र, सफलता पनि पाईरहेकै थिए । उनी व्यवसायकै क्रममा यातायात व्यवसायमा पनि जोडिन पुगे । काठमाण्डौ–पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी हालेर उनले यातायात व्यवसायबाट पनि राम्रै आर्जन गरे ।

एक पछि अर्को व्यवसायमा हात हाल्ने स्वभावका प्रजापति पछिल्लो समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर चलाईरहेका छन् । यद्यपी उनी व्यवसायको दौडमा रोकिनेवाला खेलाडी पक्कै होईनन् । उनको ईतिहासले नै यस्तै देखाईरहेको छ ।

व्यवसायको यो दौडमा उनी केहि समय अटोमोबाइल्स क्षेत्रसँग पनि जोडिए । फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर बेचेको अनुभव पनि छ उनीसँग । नेपाली चलचित्रको निर्माणमा पनि उनी जोडिए । तृष्णा, सडक लगाएतका फिल्महरु निर्माण गरेका प्रजापतिले अहिले फिल्मको वितरण गरिरहेका छन् । उनले यो बीचमा करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे ।

पछिल्लो समय उनी रियल स्टेट व्यवसायमा जमे । र, अहिलेको अवस्थासम्म आईपुग्दा पनि उनले व्यवसायलाई निरन्तरता दिईरहेकै छन् । यो बीचमा व्यापार र व्यवसाय बुझ्नका लागि ३५ वटा भन्दा बढि राष्ट्रहरु उनले भ्रमण गरिसकेका छन् ।

व्यवसायीको घरघरमा उद्योग वाणिज्य संघ :

आसन्न महाधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रजापति सोहि क्षेत्रसँग बढि घुलमिल पनि छन् । ‘उद्योगतर्फको भन्दा पनि वाणिज्यतर्फका व्यवसायीहरु यस क्षेत्रमा धेरै छन् । र, उनीहरुको समस्या पनि उस्तै धेरै छन् ।’ उनले भने–‘म यो क्षेत्रमा लामो समय बिताएको हिसाबले उनीहरुको पीरमर्का मैले धेरै बुझ्न सक्छु ।’ उद्योग वाणिज्य संघमा रहेर पोखरा र आसपासमा रहेका वाणिज्य क्षेत्रका व्यवसायीहरुको पीरमर्का बुझ्दै उनीहरुको समस्यामा काँध थाप्नका लागि आफुले उम्मेदवारी दिएको प्रजापति बताउँछन् ।

आसन्न चुनावका लागि उनको एजेण्डा हो, ‘व्यवसायीको घर घरमा, पोखरा उद्योग वाणिज्य संघ’ । उनले यसका लागि आफ्नो धारणा पनि ‘क्लियर’ पारिसकेका छन् ।

‘व्यवसायीहरुलाई पाइलै पिच्छे समस्या आईरहन्छन् । त्यसैले मैले यस्तो खाले अवधारणा अगाडि सारेका हुँ ।’ प्रजापतिले भने–‘मेरो अवधारणा अनुसार हरेक टोल टोलमा सँयोजक तोकेर व्यवसायीहरुको समूह बन्छ । र, त्यहि समूहले त्यहाँको समस्या समाधान गर्दै अगाडि बढ्छ । यसो गर्दा सबैलाई सहज पनि हुन्छ ।’ निर्वाचित भएसँगै आफ्नो पहिलो काम नै यहि हुने उनी बताउँछन् ।
कतिपय अवस्थामा उद्योग वाणिज्य संघ र व्यवसायीबीच दुरी बढेको पनि देख्छन्, प्रजापति । त्यसैले उनी भन्छन्–‘म संघ र व्यवसायीबीचको दुरी हटाउने पुल बनेर काम गर्ने प्रयत्न गर्नेछु ।’

त्यसो त प्रजापति व्यवसायीमाझ लोकप्रिय छन् भन्ने कुराको पुष्टी यस अघिको महाधिवेशनले प्रष्ट पारिसकेको छ । कोषाध्यक्ष पदमा प्रजापति त्यो बेलाकै सबैभन्दा बढि मतका साथ निर्वाचित भएका हुन् । ‘र, अहिले पनि व्यवसायी साथीहरुले मेरो ईतिहास दोहोर्याउनका लागि सहयोग गर्नेछन् भन्ने कुरामा म ढुक्क छु ।’

पोखरा उद्योग वाणिज्य संघमा २०६९ सालदेखि कार्यसमितिमा रहेर काम गरेको अनुभव प्रजापतिसँग छ । त्यसो त त्यो भन्दा अगाडि पनि उनले संघको विभिन्न उपसमितिको सँयोजक रहेर काम गर्दै आएका थिए ।

यसकारण रविन्सन प्यानललाई व्यवसायीले साथ दिनुपर्छ :

प्रजापतिका अनुसार पोखरा उद्योग वाणिज्य संघको अबको नेतृत्व रविन्द्रबहादुर प्रजु प्यानलले जित्नुपर्ने थुप्रै कारण छन् । उनी भन्छन्–‘म यो प्यानल अन्तरगतको भएकैले मात्र पनि होईन । तर यो प्यानल सबै हिसाबले पर्फेक्ट भएकैले व्यवसायीहरुलाई संघको नेतृत्वमा यहि प्यानललाई ल्याउने गरि मत हाल्न म अनुरोध गर्दछु ।’

पुराना व्यवसायी, अनुभवी टिम, नेतृत्वमा दृढ इच्छाशक्ति, व्यवसायीप्रति उत्तरदायी भएकै कारणले प्रजु प्यानल संघको नेतृत्वको लागि उत्तम विकल्प भएको प्रजापति दाबी गर्छन् ।

करको समस्या, राजनीतिक दलबाट चन्दा आतंक, घरभाडाको दुख जस्ता कुराहरुलाई संघमार्फत निराकरण गर्न आफुसहित आफ्नो टिम सदैव तम्तयार रहने उनले विश्वास दिलाउँछन् । ‘प्रजु प्यानलमा व्यवसायीहरुसँग सँधै नजिक रहेर काम गर्नेहरु समावेश भएकोले पनि व्यवसायीहरुले यसलाई बढि साथ दिन आवश्यक छ ।’ प्रजापति भन्छन् ।

यी क्षेत्रसँग नजिक छन् प्रजापति :

त्यसो त प्रजापति व्यवसायमा मात्रै होईन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनको बनाएको सामाजिक छवि साँच्चिकै लोभलाग्दो छ । शायद पोखरामा प्रजापति व्यवसायी बाहेक अन्य क्षेत्रका मानिसहरुमाझ पनि उत्तिकै लोकप्रिय छन् । यो खाले ‘पब्लिक रिलेशन’ बनाउनु पनि एउटा खाले कला नै मान्नुपर्छ ।

व्यवसायसँगै उनको लगाव मनोरञ्जन र खेलकुदमा देखिन्छ । त्यसैले त दक्षिण एशियाली राष्ट्रहरुमा हुने कबड्डी प्रतियोगितामा आफैँले खर्च गरेर राष्ट्रको प्रतिनीधित्व गराउन पनि उनी पछि पर्दैनन् । ‘खेलकुदप्रति एउटा खाले लगाव र प्रेम भएकै कारणले मैले यसो गरेको हुँ ।’ प्रजापति भन्छन् ।

प्रजापति पोखरा बडि विल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो दह«ो उपस्थिती देखाईसकेका छन् ।

त्यो बाहेक उनी संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल मानिन्छन् । सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गरेका प्रजापतिले सोहि समयमा सराङकोट सहकारीको स्थापना गराएका हुन् । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ ।

गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका स्मरणीय छ ।

Check Also

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ …