Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » त्यो ‘पोखरा महोत्सव’, यो ‘औद्योगिक व्यापार मेला’

त्यो ‘पोखरा महोत्सव’, यो ‘औद्योगिक व्यापार मेला’

रेम बिक
पोखरा, २६ पुस । हाल फिस्टेल हस्पिटल भएको स्थानमा त्यतिबेला साल्ट ट्रेडिङ बस्थ्यो । कम्पाउन्ड खाली थियो । यो २०४१ सालतिरको कुरा हो । पञ्चायतकालिन समय थियो त्यो । पुस माघतीरको बेला हुँदो हो ।

पोखरा उद्योग वाणिज्य संघले पोखराकै उत्पादनहरुलाई प्रचार गर्ने हेतुले पहिलोपटक त्यहि ठाऊँमा हो औद्योगिक प्रदर्शनीको ‘श्री गणेश’ गरेको । त्यो बेलामा पोखरामै उत्पादन हुने चकलेट, चाउचाउसँगै तिब्बतीयनहरुले बनाएका विभिन्न ‘गार्मेन्ट’हरुलाई एकै ठाऊँमा राखेर ‘व्यापार मेला’को आयोजना गरेको सम्झन्छन् पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी ।

‘त्यो बेलामा हामीहरुले नै टीनले बारेर खाली कम्पाउन्डलाई औद्योगिक प्रदर्शनीका लागि तयार पारेका थियौँ ।’ मुल्मी भन्छन्–‘र, त्यहि औद्योगिक प्रदर्शनी नै अहिले देशभरी हुने औद्योगिक व्यापार मेलाहरुको ईतिहाससँग जोडिएको छ ।’ पछि मुल्मी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बने । यद्यपी उद्योग वाणिज्य संघहरुमा तत्कालिन समयमा आर्थिक स्रोत जुट्ने त्यस्तो खास केहि कुरा थिएन । महासंघले हरेक शाखालाई एउटा टेबुल र कुर्सी दिन्थ्यो । बाँकी संस्था चलाउनका लागि कुनै आर्थिक स्रोत थिएन ।

‘उद्योग वाणिज्य संघहरुले औद्योगिक व्यापार मेला गर्ने परिपाटी शुरु भएकै पोखराबाट हो । यो अर्थमा पोखराको उद्योग वाणिज्य संघले ‘औद्योगिक व्यापार मेला’को जन्मदाताको रुपमा कालान्तरसम्म जस पाईरहनेछ ।’ मुल्मीले भने । औद्योगिक प्रदर्शनीबाट शुरु भएको मेलाको सँस्कृति अहिलेसम्म आईपुग्दा निकै विस्तारित भैसकेको छ । अहिले त देशभरिका उद्योग वाणिज्य संघहरुको प्रमुख आर्थिक स्रोत नै उनीहरुले गर्ने ‘औद्योगिक व्यापार मेला’ नै हो ।

पोखराको ईतिहासलाई फर्केर हेर्ने हो भने यहाँ औद्योगिक व्यापार मेलाले विस्तारित रुप लिन थालेको २०५२ सालदेखि हो । ५२ साल देखि नै हो, स्थानिय कलाकारहरु र उनीहरुको कृति, साहित्यकारहरुसँगै उनीहरुको विभिन्न प्रस्तुती, जातिय तथा साँस्कृतिक प्रस्तुतीसँगै मनोरञ्जनात्मक क्रियाकलापले औद्यौगिक प्रदर्शनीमा ‘इन्ट्रि’ पाएको ।

फेवातालको किनारमा बसुन्धारा पार्कसँगै माछापुच्छ«ेलाई पृष्ठभुमी पारेर गरिएको औद्योगिक व्यापार मेला त्यो बेला निकै भव्य रुपमा सफल भएको थियो । यसै वर्षदेखि औद्योगिक तथा व्यापारिक प्रदर्शनीले ‘महोत्सव’को रुप लिएको हो । त्यो बेला औद्योगिक व्यापार मेला मात्रै नभएर त्यसलाई यस क्षेत्रकै वृहत साँस्कृतिक प्रदर्शनीको रुपमा लिईएको थियो । तत्कालिन समयमा ‘पोखरा महोत्सव’ नाम दिईएको व्यापार मेला ५ दिनसम्म चलेको थियो । महोत्सवलाई त्यो बेलाका राजकुमार श्री ५ दीपेन्द्र विर विक्रम शाहदेवले उद्घाटन गरेका थिए । आँखा अस्पतालपछि दोस्रो पटक राजपरिवारका सदस्यले यहाँ आएर उद्घाटन गरेको कार्यक्रम पोखरा महोत्सव नै थियो । धौलागिरी अञ्चलका विभिन्न जिल्लाहरुसंगै लुम्बिनी, नारायणघाट, काठमाण्डौ लगाएतका स्थानबाट त्यो बेलाको महोत्सव हेर्न दर्शक पोखरा ओईरिएका थिए ।

५२ सालमा उद्योग वाणिज्य संघको नेतृत्वमा थिए, अशोक पालिखे । ‘साना औद्योगिक तथा व्यापार प्रदर्शनी त पहिल्यैदेखि हुँदै आएको थियो । तर हामीले त्यो बेलामा महोत्सवकै रुपमा शुरुवात ग¥यौँ । र, हामीले लिएको त्यो कन्सेप्ट अहिले देशव्यापी रुपमा फैलिरहेको छ । र, फैलन क्रम अझै रोकिएको छैन । अहिले त अझै गाऊँ–गाऊँसम्म मेला विस्तारित भैसकेको छ ।’ पालिखेले भने ।

तत्कालिन समयमा पोखरा उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध जर्मनीको माइन्स भन्ने ठाऊँको उद्योग वाणिज्य संघसँग थियो । त्यहि बेलामा अशोक पालिखे सो ठाऊँमा पुगेका थिए । र, त्यहिँ देखेका थिए, वृहत साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहितको औद्योगिक तथा व्यापारिक प्रदर्शनी । त्यहाँबाट फर्केपछि उनले पोखरामा भव्य ‘पोखरा महोत्सव’को शुरुवात गरेका हुन् ।

अशोक पालिखे आफूहरुले शुरुवात गरेको मेला अहिलेसम्म निरन्तर आउँदा निकै प्रफुल्ल छन् । र, अहिले भैरहेका औद्योगिक व्यापार मेलालाई लिएर केहि गुनासा पनि छन् उनीसंग । ‘व्यापार मेला विस्तारित हुनु र निरन्तर हुनु निकै खुशीको कुरा हो । तर पछिल्लो समय हुने औद्योगिक व्यापार मेलाहरुले आफ्नो उद्देश्य भुल्दै गएको मैले पाएको छु ।’ पालिखेले थपे ।

नेपालबाट उत्पादन हुने व्यापारिक सामाग्रीहरुको प्रबद्र्धन गर्ने उद्देश्यसहित औद्योगिक व्यापार मेलाको शुरुवात भएको थियो । तर पछिल्लो समय अत्याधिक मात्रामा विदेशी सामाग्रीहरुको भीड मेला महोत्सवमा देखिन थालेको छ । र, त्यहि विदेशी सामानको किनबेच मेलामा अत्याधिक हुन थालेको छ । जसले गर्दा नेपाली उत्पादन र उत्पादकहरु आझेलमा पर्न थालेका छन् । पालिखेले उद्योग वाणिज्ृय संघले गर्ने मेला महोत्सवहरुले विदेशी सामानको प्रदर्शनी र किनबेचलाइृ न्यूनिकरण गर्दै लैजानुपर्ने सुझाव दिन्छन् ।

यो कुरामा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष समेत भैसकेका आनन्दराज मुल्मीले पनि ‘हो मा हो’ मिलाउँछन् । ‘अहिलेका मेला महोत्सव निकै प्रोफेशनल भैसकेका छन् । यसले उद्योग वाणिज्य संघहरुका लागि मात्रै फाइदा पुग्ने भन्दा पनि अरु धेरै क्षेत्रलाई पनि आर्थिक रुपमा चलायमान बनाएको छ । यद्यपी यी सबै कुरा भैरहँदा पनि नेपाली उत्पादनहरुले भने कम प्राथमिकता पाउन थालेका छन्, यो भने चिन्ताको कुरा हो ।’ मुल्मीले भने ।

मेला महोत्सवकै कारणले इभेन्ट कम्पनीहरुले काम पाएका छन् । कलाकारहरुको आर्थिकस्तर निकै सुधारिएको छ । कम्पनीहरुका लागि आफ्नो उत्पादनको प्रचार र व्यापारको निकै ठुलो प्लेटफर्म सिर्जना भएको छ । व्यवसायीहरुका लागि पनि यो एउटा पर्व जस्तै भएको छ । यद्यपी यी सबै कुरा भैरहँदा पनि मेलाले आफ्नोपन गुमाएको आरोप लाग्दै आएको छ ।

अहिलेको मेला कस्तो हुँदै छ ?

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने औद्योगिक व्यापार मेलाको पछिल्लो सँस्करण यहि माघ २७ गतेदेखि पोखरामा शुरु हुँदैछ । १८ औँ सँस्करणको औद्योगिक व्यापार मेलाको तयारी करिब अन्तिम चरणमा पुगिसकेको छ । पछिल्लो सँस्करणको मेला आयोजना गर्दा पोखरा उद्योग वाणिज्य संघमा विश्वशंकर पालिखेले नेतृत्व गरिरहेका छन् ।

केहि वर्ष यता निरन्तर पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुँदै आएको मेला चाहिँ कस्तो हुँदै छ त ? ‘मेला महोत्सव भनिसकेपछि हामीले सकेसम्म धेरै कुराहरुलाई समेट्ने तयारी गरिरहेका छौँ । दर्शकले यो कुराको महशुस मेलामा आएपछि गर्नुहुनेछ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने । कम्तिमा व्यावसायिक सोँचको विकास गर्नुका साथै उपभोक्ता र उत्पादकलाई एकै ठाऊँमा ल्याउन मेला सफल भएको उनको ठम्याई छ ।

अनि आयोजकले मेलाको उद्देश्य भुलेको हो ?

अध्यक्ष पालिखे यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्–‘मेला समय अनुसार अपडेट र परिस्कृत हुँदै जानुपर्छ । विदेशमा जस्ता निकै ठुला औद्योगिक प्रदर्शनी पोखराको बजारले धान्न सक्ने स्थिती छैन । यद्यपी हामीले सकेसम्म औद्योगिक घरानाहरुलाई पनि मेलामा सहभागी गराएका छौँ । र, त्यस्ता उत्पादनहरुमा नेपाली उत्पादनलाई अझै बढि सहुलियत दिएर हामीले सहभागिताका लागि जोड दिएका छौँ ।’

औद्योगिक व्यापार मेलामा यो पटक मोबाइलको पनि वृहत प्रदर्शनी हुनेछ । र, यस्ता कुराहरु समयका माग भएको पालिखे दाबी गर्छन् । त्यो सँगै दर्शकको चाहनालाई पनि मध्यनजर गरेर स्टल व्यवस्थापन गर्दा विदेशी उत्पादनहरुलाई पनि आवश्यक ‘स्पेस’ चाहिने उनको तर्क छ । यद्यपी यी सबै गरिरहँदा मेलाको मूल उद्देश्य भने नेपाली उत्पादन र ती उत्पादनको बजारिकरणमा नै मेला केन्द्रित रहेको उनले प्रस्ट्याए ।

Check Also

पोखरा इन्टरनेटको बिल अब ‘इ–सेवा’बाट भुक्तानी गर्न सकिने

रेम बिक पोखरा, २८ कात्तिक । ‘पोखरा इन्टरनेट’का सेवाग्राहीले अब ‘इ–सेवा’ मार्फत आफ्नो बिल भुक्तानी …