Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » पोखराको सेदीमा सांस्कृतिक शैलीको रिसोर्ट, ६ करोड लगानी

पोखराको सेदीमा सांस्कृतिक शैलीको रिसोर्ट, ६ करोड लगानी

पोखरा, १४ साउन। पर्यटकीय नगरी पोखरामा एकपछि अर्को होटल थपिइरहेका छन् । यही क्रममा पोखरा–१८ सेदीमा मौलिक शैलीमा निर्मित अर्को रिसोर्ट थपिने भएको छ । फेवातालको माथिल्लो भाग सेदी बगरमा मौलिक शैलीमा ‘द कल्चर रिसोर्ट’ आगामी असोजबाट सञ्चालनमा आउन लागेको हो । ६ करोड लगानी दावी गरिएको रिसोर्टमा मौलिक, पुरातात्विक र सांस्कृतिक पक्षलाई जोड दिइएको सञ्चालक प्रकाश कार्की बताउँछन् ।

‘मौलिक र सांस्कृतिक महत्वलाई ध्यानमा राखेर रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हौं । पर्यटकीय नगरी पोखरामा रिसोर्ट नयाँ डेस्टिनेसन हुनेछ,’ सञ्चालक कार्कीले भने ।रिसोर्टमा खानादेखि भेषभुषा र विभिन्न सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बन्ने उनले बताए । फेवातालको किनारमा मौलिक स्वाद पस्कने उनको भनाइ छ ।
‘रिसोर्टका कोठाबाटै फेवातालको मनोरम दृश्य कैद गर्न पाइने छ भने आँखैमा शान्ति स्तूप ठोक्किन आइपुग्नेछ,’ रिसोर्टको विशेषताबारे भने ।
रिसोर्टमा सुविधासम्पन्न ११ वटा डिलक्स कोठा हुनेछन् । गार्डेन रेस्टुरेन्ट, गार्डेन बार र स्पा पनि रहनेछन् । असोजको पहिलो हप्ता सञ्चालनमा ल्याउने तयारी गरिएको यो रिसोर्टमा स्विमिङ पुल पनि हुनेछ ।
हाल निर्माणाधीन रिसोर्ट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । काठ पनि मौलिक शैलीकै प्रयोग गरिएको छ । सराङकोटसम्म सञ्चालन हुने केबलकारको सेदीमा रहने स्टेसनको पश्चिममा निर्माणाधीन रिसोर्ट हल्लनचोकदेखि करिब २ किलोमिटरको दुरीमा छ । शान्त र एकान्त मन पराउने पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको सञ्चालक कार्कीले जानकारी दिए । ‘पोखरामा पर्यटक लक्षित थुप्रै होटल तथा रेस्टुरेन्ट खुलिरहेका छन् तर हामीले फरक स्वाद पस्किन लागिरहेका छौं,’ कार्कीले भने, ‘नेपाली संस्कृतिको जर्गेनासँगै सेवा दिन लागेका हौं ।’

६ रोपनी क्षेत्रफलमा निर्माणाधीन रिसोर्टले नाफा कमाउनेमात्रै नभइ सामाजिक क्षेत्रमा पनि उत्तरदायित्व निर्वाह गर्ने कार्कीको भनाइ छ । रिसोर्टमा सय जना क्षमताको समिनार हल पनि हुने छ । रिसोर्टमा ५ हजार रुपैयाँमा कोठासहितको प्याकेज पनि दिइने उनले बताए । ग्राहकको चाहानाअनुसार घोडामा रिसोर्टमा ल्याउने–पुर्याउने, फेवाताल आसपासमा घुमाउने प्रवन्ध रिसोर्टले मिलाउने छ भने गाडीको व्यवस्था पनि गर्नेछ । एकान्तमा बसेर किताब लेख्ने तथा अनुसन्धानमा आउने पाहुनालाई विशेष छुट प्रदान गर्ने योजना रिसोर्टले बनाएको हो । ‘पोखरा आउने पर्यटक रमाउनका लागि मात्रै नभएर विभिन्न उद्देश्यले आउँछन्,’ कार्कीले भने, ‘हामीले सिर्जनात्मक कामका लागि आउने पाहुनालाई विशेष सुविधा तथा छुट दिने छौं ।’

Check Also

जन्ती चढेको जिप र बस ठोक्किँदा बेहुलाका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ, २७ मंसिर । दाङमा जन्ती सवार जिप र यात्रु बस ठोक्किँदा बेहुलाका बुबा आमा सहित ६ …