Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » मैले साँच्चिकै भूत देखेकी छुः ऋचा शर्मा

मैले साँच्चिकै भूत देखेकी छुः ऋचा शर्मा

रेम बिक
पोखरा, ४ बैशाख । विविध प्रकारका चरित्र निभाउनमा अभिनेत्री ऋचा शर्मा माहिर छन् । ‘उमा’मा जनमुक्ति सेनाको रुपमा होस् या ‘टलकजंग भर्सेज टुल्के’मा साहुमहाजनको घरमा बसेर काम गर्ने ‘फुली’को रुपमा, उनी आफुलाई हरेक चरित्रमा अब्बल देखाउन सक्ने खुबी राख्छिन् । हरेक फिल्ममा फरक चरित्रमा देखिन रुचाउने ऋचालाई आफैले गरेका चरित्रहरुमध्ये सबैभन्दा मन परेको चरित्र भने ‘को आफ्नो’ चलचित्रको हो । यो चलचित्रमा उनी एउटा आमाको रुपमा देखिएकी थिईन् । ‘म अहिलेसम्म आमा बनिसकेको छैन । तर म मा आमा बन्ने सम्पूर्ण गुणहरु प्राकृतिक रुपमै छ ।’ उनी भन्छिन्–‘अहिलेसम्मकै सबैभन्दा गाह«ो र नजिकको चरित्र मेरो लागि त्यहि हो ।’

खैर, यतिबेला ऋचा आफ्नो पछिल्लो चलचित्र ‘सुनकेशरी’का लागि दौडधुपमा छिन् । फिल्मको पोस्टर सार्वजनिक भएसँगै ऋचाको चरित्रलाई लिएर सिनेवृत्तमा चर्चा बढेको छ । देख्दा ठ्याक्कै ‘भूत’ लाग्ने हुलियामा ऋचालाई पोस्टरमा ‘फिचर’ गरिएको छ । र, ट्रेलरमा पनि यो कुराको छनक पाईन्छ ।

नेपालमा निकै कम संख्यामा ‘हरर’ जनराका चलचित्रहरु निर्माण हुन्छन् । व्यवसायिक हिसाबले पनि नेपालमा बनेका ‘हरर’ चलचित्रहरुको ईतिहास खराब छ । यद्यपी ऋचाले आँट गरेकी छिन् । यो चलचित्रको निर्माता पनि ऋचा नै हुन् । अर्पण थापा यो चलचित्रका निर्देशक हुन् । सुनकेशरी चलचित्रमा ‘भूत’ बनेकी ऋचाको वास्तविक जीवनमा पनि केहि ‘भूत’सँग जोडिएका किस्साहरु छन् :

‘भूतको फिल्मसँगको निकटता’

सानोमा बुवाले, हजुरआमाले राती सुत्ने बेलामा भूतका विभिन्न कथा सुनाउनुहुन्थ्यो । ‘वरपिपलको रुख भएको ठाऊँमा रातीमा जान हुन्न’ भन्नुहुन्थ्यो । मलाई त्यस्ता कथाहरु सुन्दा डर लागेपनि सुनिरहाँै लाग्थ्यो । त्यहि बेलादेखि नै हो मलाई ‘हरर जनरा’ मन पर्न थालेको ।

सानोमा बुवाले अनि हजुरआमाले सुनाएका भूतका विभिन्न किस्सा भएका कथाहरुले गर्दा होला, अलिक बुझ्ने भएपनि मैले भूतका विषयमा बनेका चलचित्रहरु हेर्न थालेँ । म हरर चलचित्रहरुको फ्यान हुँ । शायद त्यस्तो कुनै बलिउड वा हलिउड हरर फिल्म छैन होला जो मैले नहेरेको होस् । जति डरलाग्दो हरर फिल्म हे¥यो, मलाई झन् बढि मज्जा आउँछ । र, जतिबेला म डराउँछु अनि मलाई हाँसो लाग्छ । संसारका धेरै मानिसहरुको बानी पनि त्यस्तै हुन्छ, जब भूतको फिल्म हेरेर तर्सिन्छन्, तब उनीहरु चर्कोचर्को गरि हाँस्न थाल्छन् । भूतको फिल्म हेर्दाको मज्जा भनेकै खासमा यहि त हो ।

सुनकेशरीमा पनि आङै जिरिङ्ग हुने थुप्रै दृश्यहरु छन् । ‘ब्याकग्राउण्ड स्कोर’मार्फत पनि हामीले दर्शकका लागि त्यस्ता ‘सिचुएशन’हरु ‘क्रियट’ गरेका छौँ । हामीले ‘हरर’ जनराका फिल्ममा हुनुपर्ने सबै ‘इलिमेन्ट्स’हरु यसमा राखेका छौँ । हलिउड र बलिउड स्तरकै चलचित्र बनेको छ, ‘सुनकेशरी’ । शायद यो ‘लेभल’मा नेपालमा बनेको ‘हरर’ चलचित्र ‘सुनकेशरी’ नै पहिलो हो । दर्शकले चलचित्र सार्वजनिक भएपछि यो कुराको महशुस गर्न सक्नुहुनेछ ।

‘आफैँ भूत हो की जस्तो लाग्यो’

सुनकेशरीको छायाँकन सम्पूर्ण रुपमा अष्ट्रेलियामा भएको हो । लोकेशनको रुपमा हामीले त्यहाँ एउटा ठुलो बंगला लिएका थियौँ । आँखामा ‘ब्लाइन्ड लेन्स’ लेन्स राखेर त्यस्तै डरलाग्दो ‘मेकअप’ गरेर सुटिङ गर्नुपथ्र्यो । आँखामा ब्लाइन्ड लेन्स हालेर पाईला गन्दै टेक दिनुपर्दा ती दिनहरुमा मैले दृष्टिविहिनहरुको समस्या पनि केहि हदसम्म बुझ्न पाएँ ।

जब त्यस्तो हुलियामा टेक दिनुपथ्र्यो, ऐनामा हेर्दा त कहिलेकाँहि आफैँ तर्सिन्थे । जब सुटिङ एक हप्ता कट्न थाल्यो । त्यसपछि त यस्तो लाग्न थाल्यो, ‘कतै म आफैँ भूत त होईन ?’

अझै एक दिन त कस्तो भयो भने, दृश्यमा मैले घरभित्र हिँड्दै गर्दा छानोबाट बच्चाहरु कल्याङमल्याङ गर्दै हिँडेको जस्तो आवाज सुनेर त्यहि अनुसारको प्रतिक्रिया दिनुपर्ने थियो । तर अचम्म, मैले ‘लिटरल्ली’ त्यस्तै आवाज सुने, अकस्मात ! पछि मैले ‘क्रु’सँग सोधेँ, ‘के त्यस्तै आवाज दिएको हो ?’ तर त्यहाँ त्यस्तो आवाज कसैले दिएकै थिएन ।

हामीले अठार दिनमा सुटिङ सकाएको हो । सुटिङ सकाउँदासम्म हामी रातको बेलामा होटलमा एक्लै ट्वाइलेट जान सम्म डराउने भैसकेका थियौँ । अझै रातीको समयमा त यस्तो लाग्थ्यो कि, ‘क्रु मेम्बर’कै एकअर्का भूत हुन् । हामीले निकै कम समयमा सुटिङ सकायौँ । यदि सुटिङ एक महिना लम्बिँदो हो त झन् हाम्रो हालत कस्तो हुन्थ्यो होला ?

‘भूत देखेपछि विरामी’

हो, मैले वास्तविक जीवनमा पनि भूत देखेको छु । भूतका चलचित्र हेर्दा नडराएपनि जब मैले साँच्चिकैको भूत देखेँ, त्यतिबेला म निकै तर्सिएँ । बेहोशै भएँ । र, त्यो भूत देखेपछि म लामो समय विरामी पनि भएँ ।

एसएलसी परिक्षा दिने ताकाको कुरा हो । म होस्टलमा बस्थेँ । राती अबेरसम्म बसेर पढ्नुपथ्र्यो । म र केहि साथीहरु माथिल्लो तल्लामा बसेर पढिरहेका थियौँ । ट्वाइलेट तल्लो तल्लामा थियो । म ट्वाइलेट जानलाई निस्किएँ । भ¥याङ ओर्लेर ट्वाइलेट नजिकै पुग्दा मैले निकै भयानक प्रतिरुप देखेँ । त्यो एउटा महिलाको प्रतिरुप थियो । त्यो यति भयानक थियो कि, मैले शब्दमा त्यसलाई भन्नै सक्दिन ।

मलाई त्यो प्रतिरुप अझै पनि याद छ । कहिलेकाहीँ सम्झँदा अझै डर लाग्छ । जब मैले त्यो रुप देखेँ, म एक्कासी चिच्याएर ढलेछु । त्यस्तो भयानक प्रतिरुप मैले त्यसअगाडि कहिल्यै देखेकी थिईन । र, त्यसपछि पनि देखेको छैन । त्यो भयानक छायाँकै कारणले होला, त्यसपछिका दिनमा म नराम्रो गरि विरामी पनि भएँ ।

यसो भन्दै गर्दा मैले भूत हुन्छ भन्ने अन्धविश्वास फैलाउन खोजकी पक्कै होईन । यो विषयमा सबैको आ–आफ्नो मान्यता हुन्छ । तर मलाई भूत या आत्माको अस्तित्व हुन्छ भन्ने लाग्छ । जब कोहिले अकालमा या आत्महत्या गरेर ज्यान गुमाउँछ, उनीहरुको आत्मा भड्किन्छ भन्ने कुरामा म विश्वास गर्छु ।

‘सुनकेशरीको व्यापारबाट आशाबादी’

म निकै आशाबादी छु, हरेक कुरामा । झन् आफुले गरेका कुरा राम्रो होस् भन्ने आशा त जसले नी गर्छ । म ६ कक्षा पढ्दादेखि फिल्म लाइनमा आउँछु भन्ने आशा राख्थेँ । त्यो मेरो सपना थियो । र, अहिले म मेरो आफ्नै सपना बाँचिरहेको छु ।

मलाई भोली उठेर अभिनय गर्न नपाईएला की भन्ने कुराको मात्रै डर लाग्छ । तर म आशाबादीसँगै एकदमै भाग्यमानी पनि हुँ जस्तो लाग्छ । जब आफुले सपना साँचेको कुरा पुरा हुँदै जान्छ, त्यस्तो मानेमा जो कोहि पनि भाग्यमानी नै हुन्छ ।

चलचित्रको व्यापारलाई लिएर म पनि आशाबादी नै छु । हो, नेपालमा हरर जनरा त्यति व्यवसायिक भैसकेको चाँहि छैन । यद्यपी एउटा राम्रो हरर चलचित्र नेपालमा चल्ने भन्ने कुरामा भने कुनै दुइमत छैन । हलिउड चलचित्र ‘कन्ज्यूरिङ’ले नेपालका मल्टिप्लेक्स हलहरुबाट मात्रै करोडौँको कमाई गरेको ईतिहास साक्षी छ । हरर चलचित्र नेपालीले निकै हेर्न चाहने रै’छन् भन्ने कुराको गतिलो उदाहरण यहि हुन सक्छ ।

हामीले सुनकेशरीलाई पनि अन्तराष्ट्रियस्तरको हरर चलचित्रकै दाँजोमा बनाएका छौँ । हुनसक्छ, टेक्निकल्ली त्यो लेभलमा चलचित्र नहोला । यद्यपी अहिलेसम्म नेपालबाटै यो लेभलको हरर चलचित्र बनेको छैन । यो मैले दाबाका साथ भन्न सक्छु । त्यसैले सुनकेशरीले व्यववसायिक रुपमा पनि दर्शक हलसम्म तान्छ भन्ने कुरामा म विश्वस्त छु ।

Check Also

बिग एफएम नवनियुक्त स्टेशन म्यानेजर अधिकारीको पहिलो निर्णय: ‘न्यूनतम पारिश्रमिक लागू’

पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जले न्यूनतम पारिश्रमिक लागू गर्ने …