राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्डलाई, लामाचौर तीज महोत्सव सम्पन्न

Share:

पोखरा, १२ भदौ / साविक विजेता न्यू डायमण्ड एकेडेमीले पोखराको लामाचौरमा आयोजित राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । तीजको अवसरमा स्थानीय नवआदर्श सामुदायिक विकास समाजले १८ औं वार्षिकोत्सवमा आयोजना गरेको हरितालिका तीज महोत्सव एवं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्डले उपाधिसहित नगद ५० हजार साथमा ट्रफी जितेको हो ।

लामाचौरमा बिहीबार सम्पन्न फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल (एपीएफ) को टीमलाई ३–१ को सेटमा पराजित गर्दा उसले २२–२५, २५–२१, २५–२३ र २५–११ को स्कोर निकालेको हो । उपविजेता एपीएफले ट्रफीसहित ३० हजार हात पा¥यो । प्रतियोगितामा नेपाल प्रहरी तेस्रो भयो भने पश्चिमाञ्चल भलिबल संघको टीम चौथो भयो । तेस्रो स्थानको लागि भएको खेलमा प्रहरीले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्न सफल भएको थियो । उनीहरुले क्रमशः १५ हजार रा १० हजार साथमा ट्रफी प्राप्त गरे ।

न्यू डायमण्डले विधागतरुपमा ३ उपाधि भित्रायो । उत्कृष्ट खेलाडीको रुपमा न्यू डायमण्डकी प्रतिभा माली घोषित हुँदै मोवाइल सेट जितिन् भने वेष्ट स्पाइकर रमिला तण्डुकार र सर्भर कृपा अधिकारी घोषित भइन् । पश्चिमाञ्चलकी मनिषा चौधरी वेष्ट ब्लकर, नेपाल प्रहरीकी कमला पुन वेष्ट डिफेण्डर र वेष्ट सेटर
एपीएफकी विनिता बुढाथोकी घोषित भइन् । खेलाडीहरुको मेहनतले यसपालि पनि उपाधि जित्न सकिएको भन्दै न्यू डायमण्डका प्रशिक्षक कुमार राईले खुशी व्यक्त गरे । ३ दिनसम्म चलेको प्रतियोगितामा ६
टीमले भाग लिएका थिए ।

यस्तै, अन्तरबिद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि भने रामघाटको टप्स उच्च माविले जितेको छ । फाइनलमा नोभेल इण्टरनेश्नल एकेडेमीलाई २५–१७ र २५–१३ को सोझो सेटमा पराजित गर्दै उसले २५ हजार १०१ पुरस्कार पायो भने उपविजेता नोभेलेले १५ हजार १०१ पुरस्कार पायो । प्रतियोगितामा टप्सकी मनिषा चौधरी नै स्कुलस्तरको छात्रा भलिबलमा उत्कृष्ट खेलाडी घोषित भइन् ।
खेलमा ७ टीमले भाग लिएको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
लामाचौरमा हरितालिका तीज महोत्सव सम्पन्न, तीज गीतमा अमरसिंह उच्च माविको दृष्टिबिहीन समूह प्रथम

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा आयोजित हरितालिका तीज महोत्सव सम्पन्न भएको छ । ३ दिनसम्म स्थानीय इन्द्रराज्य लक्ष्मी उच्च माविको प्राङगणमा चलेको महोत्सव अवलोकन गर्न टाढाटाढाबाट दर्शक ओइरिएका थिए ।
अन्य दिनको तुलनामा तीजको दिन दर्शकको घुइँचो अत्याधिक थियो ।

महोत्सवमा आयोजित राष्ट्रियमहिला भलिबल प्रतियोगिता एवं कलाकारहरुको विभिन्न प्रस्तुतिमा दर्शक आकर्षित बनेका थिए । अन्तिम दिनको मुख्य कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले संस्थाले गरेको सामाजिक कार्यको सह्राहना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । महोत्सवमा आयोजित तीज गीत प्रतियोगितामा अमरसिंह उच्च माविको दृष्टिबिहीन समूह प्रथम, लामाचौरको जाल्पादेवी आमा समूह दोस्रो, महिला समाज कल्याण आमा समूह तेस्रो, महिला मिलन आमा समूह तथा सिर्जना आमा समूह समूह सान्त्वना भए । उत्कृष्ट भेषभूषाको पुरस्कार लामाचौरकै सामुदायिक महिला विकास समितिले पाएको प्रचार संयोजक सञ्जयकुमार अधिकारीले बताए ।

संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा भएको समापन समारोहमा महोत्सव सफल पार्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो । तीजको दिन कलाकारहरु रामजी खाँण, शंकर बिसी, सम्झना लामिछाने, रश्मी तामाङ, जीवन दाहाललगायतले गायन तथा नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: