
छैन अब कुनै अध्याँरो बाँकी छैन केटाकेटीहरुको झोलाभित्र
छैन अब कुनै कुरुपता बाँकी छैन छातिको सुरुङभित्र
गाउँलेहरुको पेटभित्र भोकको कुनै अध्याँरो छैन
स्कुलहरुमा, अस्पतालहरुमा कुनै आतंक नाचिरहेको छैन
लामो समय विदेश बसेर आँखाहरुमा फेरि फर्किएर आएका छन् सपनाहरु
लेख्न मुस्किल मुस्कानहरु छन् डबलीहरुमा, पार्लियामेन्ट जस्तो चमक छन् झुपडीहरुमा …..
कवि भूपिनका ‘अन्तिम कविता’ शीर्षकका हरफहरु हुन् यी । तर ‘अन्तिम कविता’ सँगै पोखरेली कविमनबीच उनले आफ्ना कविता भने प्रारम्भ गरे । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष हलमा शुक्रबार साँझ चितवनबाट आएका भूपिनले पोखरालाई फेरि कवितामय बनाईदिए ।
बागलुङ, बलेवा जन्मथलो रहेर पोखरा हुँदै चितवनमा कर्मथलो बनाएका भुपेन्द्र खड्का उर्फ कवि भूपेन ब्याकुललाई पहिलोपटक पोखरामा एकल कविता वाचनको मौका पोखरेली युवा सांस्कृतिक परिवारले दिलाएको हो । परिवारको स्रष्टा, सिर्जना र साँझ अन्तर्गत सातौं श्रृंखलामा एकल कविता वाचनका लागि पोखरा आएका कवि भूपिनले सवा घण्टासम्म १४ ओटा कविता सुनाए ।
गजलकार डा. कृष्णहरि बरालदेखि युवा पुस्तासम्मका साहित्यकारको जमघटका बीच उनले ‘सुन्दरी’ को बयान गर्दै आफ्ना कोशेली पोको पारे । पहिलो पटक उनलाई प्रत्यक्ष सुन्न पोखरा लगायत विभिन्न जिल्लाका साहित्यकारहरुको बाक्लो उपस्थिति थियो ।
यो देश भूपिको हल्लै हल्लाको देशमात्र होईन
बेसारेहरुको देश पनि भएको छ
यो देशको पार्लियामेन्ट भान्साघर जस्तै छ
जहाँ, स्वस्थता बहिस्कृत र बेसार स्वीकृत छ
जहाँ बेसारे अधिवेशनहरुमा त्रासदीपूर्ण नाटकको अन्तिम दृश्य सधैंभरि मञ्चित छ …
भूपिनले ‘बेसार’ शीर्षकको कविताका यिनै हरफहरु मार्फत नेपाली राजनीतिलाई व्यंग्य गरिरहँदा दर्शकदीर्घाको अघिल्लो पंक्तिमा मुस्काईरहेका थिए साहित्यमा ढल्किएका राजनीतिज्ञ दिननाथ शर्मा तथा अग्रज साहित्यकार प्रदीप नेपाल । कवि भूपिनले ‘चस्मा’ र ‘कवि कुनाको अध्याँरो चेप’ बाट शीर्षकको कवितामा आफ्नै सहयात्रीहरुलाई तिखो व्यंग्य गरे त ‘ट्रक ड्राईभर’ र ‘सुन्दरी’ मार्फत दिलमायालाई सम्झिए । ‘कवि नभएको भए’, ’भेडिगोठमा’, ‘फेसबुकमा आमाको सम्झना’ कवितामा आफू र आमालाई अटाए भने ‘सुप्लाको हवाईजहाज’ बनाउँदै कखरा सिकाउने शिक्षक देवराज सरलाई स्मरण गरे ।
बहुत तकलितको बात छ मेरे दोस्त जब भारी वर्षात् हुन्छ
थुनिन्दिन्छ पडोशीले बाँधको दरबाजा र बाढ पसेर हाम्रो खलिआन बगाउँछ
मेरे दोस्त, यो यस्तै गाउँ हो
जहाँ हर हिउँदमा खडेरीले किसानहरुको तकदिर फुटाउँछ
र वर्षात्मा बाढले उनीहरुको बास उठाउँछ …
उनले ‘खडेरी’ कविता मार्फत छिमेकी राष्ट्रले नदि नै छेक्दा तराई नै बगाउने गरेको घटना र तराईबासीको सर्वस्व लुटिएको यथार्थलाई प्रस्तुत गरिरहँदा उनलाई सहभागीले गडगडाहट तालीले साथ दिए । कवि भूपिनले एउटा नोटको जीवनी, जेब्राक्रसमा, रुख शीर्षक गरी १४ कविता प्रस्तुत गरे । उनको कवितामा भ्रष्ट राजनीतिको व्यंग्य, साहित्यमा भित्रिएका दुर्गन्ध देखि लिएर हाम्रो मुलुकलाई हेर्ने छिमेकीको नकारात्मक दृष्टिकोणसम्म अटाईएको थियो ।
निबन्ध लेखनबाट आख्यानतर्फ ढल्किएको बताउने कवि भूपिनको पछिल्लो निबन्ध संग्रह चौबिस रिल उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत भईसकेको छ । ‘क्षतिग्रस्त पृथ्वी’ र ‘मूल सडक’ कविता संग्रह निकालेका कवि भूपिनले साथीहरुसँग मिलेर ‘शब्दहरुको नेपथ्य’ कविता संग्रह ल्याएका थिए । त्यसअघि, २०६६ सालमा ‘हजार वर्षको निद्रा’ कविता संग्रह निकालेका भूपिन २०७२ सालमा एउटा कविता संग्रह निकालेर त्यसपछि उपन्यास लेख्ने सोचमा छन् ।
चितवनमा दुई पटक र काठमाण्डौंमा एक पटक एकल कविता वाचन गरिसकेका कवि भूपिनका यो चौथौं पटक हो । उनले यही भदौ २८ गते चितवनमा फेरि एकल वाचन गर्दैछन् । कवि भूपिनले पोखरामा आफूले अध्ययन र अध्यापनका क्रममा सात वर्ष विताएको स्मरण गर्दै उनले पोखरालाई प्रेमिका शहरको संज्ञा दिएका छन् । कवि तीर्थ श्रेष्ठ, ईश्वरमणि अधिकारी, दीपक समिप, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सरस्वती प्रतिक्षा, उपाध्यक्ष सुरेश रानाभाट, चितवनका कवि ईश्वर कंडेलले कवि भूपिन नेपाली साहित्यमा प्रतिभावान् श्रष्टा भएको बताउँछन् ।
पोखरेली युवा सांस्कृतिक परिवारको स्रष्टा, सिर्जना र साँझ श्रृंखलामा यसअघि साहित्यकारहरु सरुभक्त, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, भिष्म उप्रेति, सरस्वती प्रतिक्षा र बिजय बजिमयको एकल वाचन सम्पन्न भईसकेका छन् ।
– रञ्जन अधिकारी

