
काठमाडौं,१४ भदौ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ । वैशाख १९ देखि परीक्षा भएको भएको विज्ञान संकायको आज नतिजा सार्वजनिक भएको हो ।
शनिबार बिहान सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ७० दशमलव ४३ प्रतिशत र आंशिकतर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उर्त्तीण भएका छन् । यस वर्ष नियमिततर्फ ३६ हजार ७ सय २७ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये २५ हजार ८ सय ६६ जना उर्त्तीण भएको परीक्षा उपनियन्त्रक उत्तमदेव विष्टले जानकारी दिए । त्यस्तै आंशिकतर्फ ६ हजार ८ सय ४२ विद्यार्थीले परीक्षा दिएकोमा २ हजार ६ सय २१ जना उर्त्तीण भएका छन् ।
परीक्षा दिने विद्यार्थीमध्ये नियमिततर्फ ८ जना तथा आंशिकका ७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको विष्टले बताए । त्यस्तै ६ जना विद्यार्थीको परीक्षाफल स्थगित गरिएको छ ।
परीक्षा स्थगित गरिएका विद्यार्थीले आफ्नो परीक्षा स्थगित भएको व्यवहोराको पत्रसहित उच्च मावि शिक्षा परिषद्मा आवेदन दिए स्थगित हुनुको कारणसहित नतिजा प्रकाशन गरिने विष्टले बताए ।
