पोखरा विमानस्थल बन्न नदिन चलखेल, ऋण सम्झौतामा करोडौंको खेल, राम्रो गर्न खोज्दा आचार्यलाई हटाइएको दाबी

Share:

काठमाडौं । सरोकारवालाहरुले पोखरा क्षेत्रिय विमानस्थल बन्न नदिन विभिन्न चलखेल सुरु भएको आरोप लगाएका छन् । विभिन्न बहानामा विमानस्थल निर्माणका लागि ढिलाई भइरहेको भन्दै उनीहरुले निर्माण प्रभावित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

विमानस्थल निर्माणको काम छिटो गराउनको लागि दवाव स्वरुप प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराइसकेको संघर्षसमतिले विमानस्थल बन्न नदिन विभिन्न चलखेल सुरु भएको भन्दै तत्काल काम सुरु नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पर्यटन व्यवसायी, स्थानीय दलका प्रतिनिधिलगायतका सरोकारवालाहरु रहेको सो स्थानीय संघर्ष समितिले चाइना एलएएमसी इन्जिनियरिङ कम्पनीसँग विमानस्थल निर्माणका लागि झण्डै २३ अर्व बराबरको ठेक्का सम्झौता भएपनि विभिन्न चलखेलमा ऋण सम्झौता हुन ढिलाइ भइरहेको दाबी गरेको छ ।

सरोकारवालाहरुका अनुसार पर्यटन मन्त्रालयले एक्जिम बैंकसँग आवश्यक ऋण सम्झौतालागि लागि पठाएको फाइल अर्थमन्त्रालयले अघि नबढाइदिँदा विमानस्थल निर्माणमा ढिलाई भइरहेको हो । ऋण सम्झौता नगर्न विश्व बैंक तथा एसियाली विकास बैंकले अर्थका सचिव तथा सहसचिवहरुलाई करोडौंको प्रलोभन देखाएपछि एक्जिम बैंकसँग सम्झौतामा ढिलाई हुन पुगेको स्रोत बताउँछ । ‘विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ऋण सम्झौतामा अर्थकै सचिव तथा सहसचिवहरुलाई करोडौंको प्रस्ताव आएको छ ।’ पर्यटन मन्त्रालय निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘यही प्रलोभनले गर्दा ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि अर्थले ऋण स्विकृत गर्न कुनै चासो देखाएको छैन । ’

केहि दिन पहिलेमात्रै पर्यटनमन्त्रीबाट हटाइएका एमाले नेता भीम आचार्यले यसलाई अघि बढाउन सक्रियतापूर्वक कदम चालेपनि अर्थका कर्मचारीरुले सहयोग नगरेको स्रोत बताउँछ । आचार्यले कुनै पनि हालतमा विमानस्थल निर्माण कार्यलाई अघि बढाउन दु्रततर गतिमा काम गरेको गरेको तर उल्टै काम प्रभावित पार्न आर्थिक चलखेललगायतका आरोप लगाएर बर्खात गरिएको स्वयं पोखराबासीहरु दाबी गर्छन् । प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर विमानस्थल तत्काल निर्माणको काम अघि बढाउन माग गर्दै आएका संघर्ष समितिका एक सदस्यले समेत पर्यटनमन्त्रीले पारदर्शी ढंगले विमानस्थलका निर्माणको काम अघि बढाउन खोजेपनि उल्दै झुटा प्रचार गरेर काम प्रभावित पार्न खोजेको आरोप लगाए ।
safe_image
‘आफ्नो कार्यकालमा उहाँले (आचार्य) विमानस्थल निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो’, उनले भने, ‘तर विमानस्थल बन्न नदिने र कमिसनको चक्करमा लाग्ने शक्तिले उनलाई अनेकौ गलत प्रचार गरेको र सो प्रभावमा पार्टी नेतृत्त समेत परेर मन्त्रीबाट हटाइएको छ ।’

तर, केहि दिन पहिलेमात्रै एमालेले पोखरा क्षेत्रिय विमानस्थल निर्माणको ठेक्कापट्टामा आर्थिक चलखेल भएको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाएको सार्वजनिक भएको थियो । एमाओवादी नेतृत्वको सरकारको बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनिया कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि नयाँ २२ अर्बको नयाँ सम्झौता गरेका थिए ।
चिनको एक्जिम बैंकसँग विमानस्थल निर्माणका लागि ऋण सम्झौता गर्न आचार्य नेतृत्वको पर्यटन मन्त्रालयले २१५ मिलियन डलर ऋण सम्झौता गर्न अर्थमन्त्रालयलाई पत्र पठाएको थियो । तर, कमिसनको चक्करमा अर्थमन्त्रालय अन्तरगत रहेको वैदेशिक ऋण सहायता विभागका प्रमुख मधु मरासिनीले काम त्यत्तिकै थन्क्याएर राखेको स्रोत बताउँछ । फाइल सदर गर्न सबै प्रक्रिया मिलिसकेको भएपनि सदर नगर्न करोडौंको प्रलोभन आएकाले सोहि प्रभावमा परेर काम नबढाइएको सम्बद्ध स्रोत बताउँछ ।
विमानस्थल निर्माणका लागि ऋण उपलब्ध गराउन एसियाली विकास बैंक, विश्व बैंक तथा अन्य लगानीकर्ताहरुले पनि चासो देखाएको र सोहि बमोजिम चलखेल भएको बताइन्छ ।

पोखरा विमानस्थल तत्काल बनाइनुपर्ने पक्षमा रहेका संघर्ष समितिले आचार्य पदमुक्त भएपनि नयाँ नियुक्ति पाएका पर्यटनमन्त्री तथा स्वयं प्रधानमन्त्रीले चासो देखाएर तत्काल विमानस्थल निर्माण थाल्नुपर्नेमा जोड दिएका छन् ।

रातोपाटीमै यसअघि प्रकाशित न्युज यो थियो ।

किन भए एमालेका दुई मन्त्री ‘बर्खास्त’ ? कराडौंको आर्थिक चलखेल
काठमाडौं, भदौ २८–

एमालेले आफ्ना दुई मन्त्रीलाई अकास्मात फिर्ता बोलाएर विवादित पृष्ठभूमिका महेश बस्नेतसहितलाई मन्त्री बनाएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्चालहरुमा सनसनी नै मच्चियो । बहालवाला पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाउँदै एमालेले त्यसको ठाउँमा उद्योगमा महेश बस्नेत र पर्यटनमा दिपकचन्द्र आमात्यलाई पठाएको हो । एमालेले प्रधानमन्त्री सुशील कोइरालाई ती दुई नाम पठाएपछि प्रधानमन्त्री कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ती जारी गरी ‘संवन्धित राजनीतिक दलको सिफरिसमा’ मा भन्दै मन्त्रीमण्डलमा हेरफेर गरेको जानकारी गराए ।

कतिपयले विवादित पृष्ठभूमि तथा एमालेको केहि महिना पहिले सम्पन्न महाधिवेशनका लागि प्रतिनिधिमै पराजित भएकालाई मन्त्री बनाएको भन्दै चर्को आलोचना गरिरहेका छन् । अहिले यही विषयले सामाजिक सञ्जालदेखि राजनीति बृत्त तातिरहेका बेला आचार्य र थापालाई फिर्ता बोलाइनु पनि चासोको विषय बनेको छ ।
यसकारण बोलाईयो फिर्ता

मन्त्रीमण्डलबाट फिर्ता बोलाइएका मध्ये आचार्य झलनाथ खनाल निकट हुन् भने कर्णबहादुर थापा केपी ओली निकट । अझँ आचार्य त एमाले वरिष्ठ नेता खनालका बहिनी ज्वाईँ समेत हुन् । यद्यपी पछिल्लो समय आचार्यको गतिविधिका कारण खनाल निकै असन्तुष्ट बनेको एमाले उच्च स्रोत बताउँछ । पछिल्लो समय आचार्यले विभिन्न हर्कतका कारण आफ्नो समेत ‘इमेज डाउन’ गराउन खोजेको भन्दै खनाल उनीसँग रुष्ट बनेका थिए । पोखरा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणका लागि एमाओवादी नेतृत्वको सरकारको बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनिया कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि नयाँ २२ अर्बको नयाँ सम्झौता गरेका थिए । यद्यपी सम्झौतामा करोडौंको कमिसनको खेल भएको भन्दै भित्रभित्रै अख्तियारले छानबिन थालेपछि आचार्यको कारण आफूसमेत बदनाम हुन लागेको भन्दै आगो बनेको स्रोत बनाउँछ । स्रोतका अनुसार सो ठेक्कापट्टामा खनालको कुनै संलग्नता नरहेको बरु अर्का नेता तथा कास्कीबाटै गत संविधानसभा निर्वाचनमा सभासदमा विजयी भएका युवा नेता रबीन्द्र अधिकारीको मिलोमतो रहेको छ । सो ठेक्कापट्टामा झण्डै १० करोडको कमिसनको खेल भएको उच्च स्रोत बताउँछ । उनको चलखेलबारे अहिले अख्तियारले शुक्ष्म अध्ययन गरिरहेको बुझिएको छ ।

यता कर्णबहादुर थापाले भने रुग्ण उद्योग सञ्चालन गर्ने भन्दै मन्त्रालयबाट पैसा खाएको, मन्त्रालयकै लेटरप्याडमा आफू, श्रीमतिसहित लाई अमेरिकाको भिषाको लागि मन्त्रालयको लेटर प्याडको ढुरुपयोग गरेको तथा आफ्नालाई नै कुनै वास्ता नगरेको आरोपमा फिर्ता बोलाईको ओली निकट उच्चस्रोतले रातोपाटीलाई बतायो ।

उनले विभिन्न कारणले धरासयी बन्दै गएको उद्योगहरुलाई सञ्चालन गर्नेभन्दै मन्त्रालयबाट पैसा बुझेको तर काम गर्न कुनै सक्रियता नदेखाएको स्रोत बताउँछ । त्यसो त आफू र श्रीमतिसहित १८ जनालाई कामविशेषले भन्दै मन्त्रालयको लेटरप्याडमा अमेरिकाको भिषाको लागि दुताबासमा चिठी लेखेका थिए । उनले सो चिठी काम विशेषले भन्दा पनि आर्थिक प्रलोभनमा परेर स्रोतको दाबी छ । भीषा लगाइदिने भन्दै हरेक व्यक्तिबाट १५ लाख सम्म उठाएको र सोहि बमोजिम उनले दुताबासलाई चिठी लेखेको स्रोतको दाबी छ । तर, दुतावासले शंकास्पद भन्दै भिषा दिन अस्विकार गरेपछि मन्त्रीको सो योजना सफल हुन नसकेको स्रोत बताउँछ ।
यता आफ्नो सचिवालय र मातहतका निकायमा पनि उनले आफ्ना कार्यकर्तालाई नियुक्ति गर्नुपर्नेमा आर्थिक चलखेलमा कांग्रेस र एमाओवादीका कार्यकर्ता नियुक्ति गरेको बताइन्छ । उनले यस्ता गतिविधिले ओली समेत असन्तुष्ट बनेका थिए ।

दुबै मन्त्रीको गतिविधिले ओली र खनाल असन्तुष्ट बनेपछि उनीहरुलाई ‘बर्खस्त ’गर्ने सहमति बनेको स्रोत बताउँछ । सोहि सहमति अनुसार ओलीले बस्नेत र खनालले आमात्यलाई सिफारिस गरेपछि नाम प्रधानमन्त्रीसमक्ष पुगेको थियो ।

को हुन् बस्नेत र आमात्य ?

एमाले अध्यक्ष केपी ओली निकट बस्नेत युवा संघका अध्यक्ष हुन् । हालै भएको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए । यसैगरी गत संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका उनी त्यसमा पनि पराजित बनेका थिए । बेलाबेला गुण्डागर्दीमा संलग्न हुने गरेको आरोप लाग्दै आएका बस्नेतले प्रायजसो आपराधिक पृष्ठभूमिका कार्यकर्ताहरु पक्राउ गर्दा त्यसकोवरुद्ध खुलेर समर्थन गर्दै आएका छन् । केहि वर्षअघि गुण्डा नाइके पर्शुराम बस्नेत काण्डमा उनी विवादमा समेत फसेका थिए ।

यसो त महाधिवशनताका पनि ओलीलाई जिताउन बस्नेतलगाएको महत्वपूर्ण हात गरेको एमालेका एक नेताले बताए । ‘ओलीलाई जिताउन बस्नेतहरुको महत्वपूर्ण हात गरेको छ, उनी नभएको भए ओलीको पक्षमा नेतृत्व नहुनपनि सक्थ्यो, अहिले त्यसको गुन तिर्न पनि बस्नेतलाई मन्त्री बनाइएको हुन सक्छ,’ ति नेताले भने । ओलीले विवादित पृष्ठभूमिका बस्नेतलाई मन्त्री बनाएपछि एमालेभित्रै केहि नेताहरु असन्तुष्ट बनेको बुझिएको छ ।

यता नयाँ मन्त्री बनेका आमात्य एमाले तत्कालीन अध्यक्ष झलनाथ खनाल ०४७ सालमा मन्त्री हुँदा दीपकचन्द्र स्वकीय सचिव थिए । नवौं महाधिवेशनको महाधिवेशन प्रतिनिधिमै उनी पराजित भएका थिए । अमात्य सुशीलचन्द्रका छोरा हुन् । उनलाई अघिल्लो संविधानसभामा राजीनामा गएर दुई स्थानबाट पराजित भएका माधवकुमार नेपाललाई सभासद बनाइएको थियो ।

Source: Ratopati.com

कमेन्ट गर्नुहोस्
Share: