
दक्षिण एशियाको इन्चोनमा राष्ट्रिय खेलखुद परिषद्ले गत हप्ता सम्पन्न १७ औं एशियाली खेलकूदमा झण्डै तिनसय ६० जना खेलाडीसहितको टोली पठायो । ती मध्ये २०५ जना खेलाडी मात्रै थिए । राखेपले छनौट गरेको टोलीले नेपालको लागि सन्तोषजनक पदक त के खेल अवधिभर राष्ट्रको झण्डा झुकाईरहनुपर्यो । झुकेको चन्द्रसुर्य अंकीत नेपाली झण्डा उचाल्न राष्ट्रिय टिम बाहिरबाट प्रतिनिधित्व गर्ने बालाजु कराँते एकेडेमिकी विमला तामाङमात्रै सफल भइन् । उनी आउादा क्रिकेटरलाई सम्मान गरे सरह उनलाई पनि एरपोर्टमा नेपालीहरुले हात हल्लाईरहेको दृष्य देख्ने सपना थियो । तर उनले भनिन्,‘ क्रिकेटरले पनि देशकै लागि जितेको हो मैले पनि देशकै लागि जितेको हो । मैले जस्तो आशा गरेको थिएँ त्यस्तो स्वागत मैले पाइन ।
सम्मानित भइरहनुभएको छ कस्तो अनुभूति गर्नुभएको छ ?
यस्तो सम्मानले मलाई अझै हौसला प्रदान गरेको छ । मलाई यसरी सम्मानित हुन्छु जस्तो लागेको थिएन ।
कराँते कसरी सुरु गर्नुभयो ?
म सानै छँदा पढाउने भनेर धादिङको सेम्जोङ–४ चौताराबाट मेरो बुवाले मलाइ राजधानी ल्याउनु भएको हो । हामी परिवार नै राजधानी आएका थियौं । मेरो बुवाको सपना मलाई राम्रो खेलाडी बनाउने थियो । आज भन्दा ११ बर्ष अघि ७ बर्षको छँदा मेरो बुवाले बालाजु कराते एकेडेमीमा भर्ना गरिदिनु भयो । मलाई पढाउनकै लागि भनेर मेरो परिवार राजधानी आउनु भएको हो ।
बाबा कुनै खेल क्षेत्रमा हुनुुहुन्थ्यो वा किन तपाईलाई खेलाडी नै बनाउने सपना देख्नु भयो ?
बाबाले संगिना बैद्यहरुलाई खेलेको देख्नु हुन्थ्यो । पत्रिकाहरुमा उहाँहरुको तस्वीर पत्रिकाहरुमा देख्नुहुन्थ्यो । आफ्नो छोरी पनि त्यस्तै होस् भन्ने मेरो बाबाको चहाना थियो ।
बाबाले कस्तो उत्प्रेरणा दिनु हुन्थ्यो ?
उहाँले जहिले पनि संगिना बैद्य जस्तै बन्नु पर्छ भन्नु हुन्थ्यो । राम्रोसंग ट्रनिङ्ग गर्नुपर्छ भनेर उत्प्रेरणा दिनु हुन्थ्यो ।
कराँते सुरु गर्दा के थियो लक्ष्य?
मैले सुरु गर्दा केहिपनि सोचेको थिइन । बाबाको सपना पुरा गर्नुपर्छ भन्ने त सोचेको थिएँ तर यही गर्छु भन्ने खास थिएन ।
परिवारमा कोको हुनुहुन्छ ?
मेरो परिवारमा बुवा–आमा र भाई बहिनी छन् । बाबा अहिले मलेसियामा रोजगारीमा हुनुहुन्छ । बहिनी गेम मानै छिन् ।
गेम जितेको दिन बुवासँग कसरी कुराकानी भयो ?
म यति धेरै खुसी थिएँ, बाबालाई त्यतिखेरै फोन गर्न चहान्थेँ । तर त्यो सुविधा थिएन । पछि नेपालआएर मात्रै करिब राती १० बजेतिर बाबालाई फोन गरेँ । बाबा अत्यन्त खुशी हुनु भयो ।
तपाईले खेल जितेको क्षणमा कसलाई सम्झनु भयो ?
मैले आफ्नो बुवालाई सम्झे ममीलाई सम्झेँ । त्यसपछि मेरो गुरु धुर्व विक्रम मल्ललाई धेरै सम्झेँ । बुवाले भन्नुभएको राम्रो गर्नु पर्छ भन्ने शब्द सम्झँे । बुवाको सपना केहि सम्म पुरा गर्न सकेँ जस्तो लाग्यो । नेपालकै दाई हुनुहुन्थ्यो राम र लक्ष्मण उहाँहरुलाई भाइवरमा म्यासेज गरेँ ।
तपाईले अहिलेसम्म जित्नु भएको राष्ट्रिय अन्तराष्ट्रिय टुर्नामेन्टहरु धेरै जित्नु भएको छ, केहि त्यस्ता टुर्नामेन्टहरु ?
इन्टरनेश्नल गेम त मैले धेरै खेलेको छु । दुबइमा भएको दुबइ इन्टरनेश्नल कराँते च्याम्पीयनसिपमा म फस्ट भएको थिएँ । एउटै टुर्नामेन्टमा विभिन्न विधामा म सेकेन्ड नै ३ पटक भएको थिएँ । मलेशियामा भएको जुनियर वल्डकपमा पनि मैले तिन वटा मेडल लेराएको थिएँ । मलेशियामै भएको यशियन गेममा मैले थर्ड मेडल लेराएको थिएँ । कलकता दिल्ली , लगायत धेरै ठाउमा अन्तराष्ट्रिय टुर्नामेन्ट खेलेको छु ।
तपाई अन्तराष्ट्रिय मान्यता प्राप्त कराँते एकेडेमीमा हुनुहुन्छ यद्यपी तपाईलाई राष्ट्रिय टिमबाट बाहिर राखिएको थियो । यसले मानसीक रुपमा कुनै असर गरेन ?
मलाई त्यस्तो असर गरेन । मैले गुरुलाई गेम के भइरहेको छ कस्तो छ भनेर जिज्ञासा राखिरहेको थिए । मेरो गुरुले ट्रेनिङ गर तिमीले खेल्न पाँउछौ भन्नु हुथ्यो । तरो हक छ भन्नु हुन्थ्यो ।
एक त तपाई राष्ट्रिय टिमभन्दा बाहिरबाट गएको तपाईले जितेपछिको अनुभूती कस्तो थियो ?
गेम इन्डीङ हुँदा हरेक गेममा नेपालको झण्डा झुक्न बाध्य भएको थियो । गेम जित्ने देशको झण्डा लहराउने गथ्यो जब मैले जितेँ त्यतिबेला अब हाम्रो देशको झण्डाको पनि पालो आयो है जस्तो अनुभूति भएको थियो ।
सेमिफाइनलमा पुग्दा अरुको टिम बाहिरबाट गएको खेलाडी यसरी जितेको छु जस्तो अनुभूति भएन ?
मलाई त्यो फीलिङ्सले झनै स्ट्रङ बनाएको थियो । मेरो गुरुले यत्रो द:ुख गरेर पठाउनु भएको छ भन्ने याद आइरहन्थ्यो । मैले केहि गरेर देखाउनुपर्छ भन्ने लागेको थियो ।
तपाईले जितेपछि अन्य खेलाडीहरु वा नेपालीहरुले खुशियाली मनाउने त्यस्तो केहि भयो ?
मेरो पहिलो खेल भएकाले नेपालीहरु त्यति आउनु भएको थिएन । साथीहरुले भने बधाई दिए ।
तपाईले गेम जितेर नेपाल आउँदा तपाइलाई जसरी सम्मान गरिनुपथ्र्यो त्यो नभएको जस्तो लागेन ?
जसरी क्रिकेट फूटबल जितेर आइन्थ्यो त्यस्तो मेरो इन्ट्री थिएन । उनीहरुले पनि देशकै लागि जितेको हो मैले पनि देशकै लागि जितेको हो । मैले जस्तो आशा गरेको थिएँ त्यस्तो स्वागत मैले पाइन ।
कस्तो खालको स्वागतको कल्पना गर्नुभएको थियो ?
मैले कल्पना गरेको थिएँ । टिभीमा जसरी क्रिकेटरलाई एयरपोर्टमा हात हल्लाउदै लाखौंले स्वागत गरेका थिए । मलाई पनि त्यस्तै हुन्छ होला भन्ने कल्पना थियो । त्यो पुरा भएन । मेरो गुरु,ममी आउनु भएको थियो ।
तपाईको कल्पना एउटा थियो तर भयो अर्कै कस्तो अनुभव गर्नु भयो ?
सोचेको जस्तो भएन । आशा गरेको भन्दा कमै मान्छे हुनुहुन्थ्यो । दु:ख त लाग्यो । तर, यस्तै रहेछ भन्ने लाग्यो । आफैलाई सम्हाले ।
तपाईलाई छैटौं राष्ट्रिय प्रतियोगीतामा पनि राष्ट्रिय टिमबाट खेल्ने कुरा थियो पछि पिएलए स्पोर्टस क्लबबाट खेल्नु भयो र स्वर्ण जित्नु भयो । यद्यपी सम्मान हुन सकेन । अहिले तपाई फेरी राष्ट्रिय टिम भन्दा बाहिरबाट राष्ट्रकै इज्जत राख्दै पदक जितेर आउादा पनि अझै सरकारले सम्मान गरेको छैन । नरमाइलो लागेको छैन ?
मेहनत गरेपछि फल जसरी पनि पाउाछ भन्ने सबैलाई थाहा छ । जसले आफ्नो देशको लागि राम्रो गर्न सक्छ त्यसैले चान्स पाउने हो । मैले पनि त्यो चान्स पाएको हो । हामी खेलाडी हो । हाम्रो काम खेल्नु हो । टुर्नामेन्ट खेल्न पाउनु हाम्रो अधिकार हो । त्यो टुर्नामेन्ट नै खेल्न नपाएपछि अर्को बाटो अपनाउनु स्वभाविक हो । फेयर सेलेक्सन हुने हो भने मैले हारेको भएपनि चित्त बुझाउथेँ ।
सेलेक्सन नै नखेली नेपालबाट कोरिया जाँदा अलि असजीलो अनुभव भएन ?
– त्यस्तो अनुभव भएन । छैटौं राष्ट्रिय गेममा मैले हराएका मान्छेलाई राष्ट्रिय टिममा राखिएको थियो । हामी सेलेक्सनमा जान तयार हुदा पनि बोलाइएन । त्यतिबेला दुख लागेकै हो ।
तपाईलाई राज्यले नै छानको टोलीबाट जान पाएको भए योभन्दा अझैबढी सम्मान पाइन्थ्यो, जस्तो लागेन ?
– म खेलाडी हो । अरुले सम्मान गरोस नगरोस मेरो काम खेल्नु हो । मैले देशको लागि पदक दिलाए त्यो नै मेरो सबैभन्दा ठूलो कुरा हो ।
अन्य योजनाहरु के छन् ?
मेरो योजना गोल्ड मेडल लेराउन पाउ भन्ने हो । अन्तराष्ट्रिय गेम खेलेर देशलाई पदक दिलाउन पाउँ ।
खेलबाहेक अन्य केहि लक्ष्य ?
खल बाहेक अन्य केहि छैन । जुन काम मैले शूरु गरेको छु । यसलाई पुरा गर्न चहान्छु । विश्वलाई म चिनाउन चहान्छु । राम्रो कराँते खेलाडी बन्ने योजना छ । मेरो अध्ययन र खेल दुवैलाईसंगै लान चहान्छु ।
– रातोपाटीका सुदीप विश्वकर्मासँग कुराकानी साभार गरिएको ।

