दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

Share:

दाङ : बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ ।

बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन । बङ्गलाचुली–५ की  रीता नेपाली नौ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँ बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन जानुभयो । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुगे । अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाउनुभएन । अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उनले गुनासो गरे ।

“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ”, नेपालीले भने । पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।

स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दंग परेका थिए । बङ्गलाचुली–४ रिभानका खिमबहादुर विक विशेषज्ञ सेवाका लागि पहल गरिनुपर्ने बताउँछन् । “अस्पताल बन्दा खुसी थियौँ, तर उपचारका लागि भने अन्यत्रै जानुपर्ने अवस्था छ”, उनले भने ।

सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो । स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताए ।

अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताए । “पूर्वाधार सबै छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन”, उनले भने ।

स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय  अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो । दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो ।  बङ्गलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत ११ गते पूर्वसभामुख कृष्णबहादुर महराले अस्पतालको उद्घाटन  गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: