
काठमाडौं : दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिए । उनले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताए ।
उनले भने, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो । तर बाँकी छ दशमलव ३८ प्रतिशतले क्यापुलका रुपमा पारोको प्रयोग गर्दै आएको देखियो ।” सात प्रदेशका विभिन्न ४२ आधारभूत स्वास्थ्य संस्था र ४७ दन्त चिकित्सा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो । अध्ययनमा लुम्बिनी प्रदेशको एक निजी दन्त चिकित्सा क्लिनिक, मधेस प्रदेशको एक निजी अस्पताल र गण्डकी प्रदेशको एक दन्त चिकित्सा क्लिनिकमा पारो अमलजम प्रयोग गर्ने गरेको देखिएको हो ।
कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पारोमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सालाई सय प्रतिशत पुर्याउनुपर्नेमा जोड दिए । उनले भने, “पारोको प्रयोगले वातावरण मात्र हैन जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । स्वास्थ्य क्षेत्रमा यसको प्रयोगमुक्त एक सय प्रतिशतसम्म नपुर्याउन आवश्यक छ ।”
स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोधा अर्यालले घरघर र स्वास्थ्य संस्थामा रहेका पारोयुक्त उपकरणको संकलन र व्यवस्थापन गर्न सरोकारवालाको ध्यानार्कषण गराइन् । उनले मिनामाता महासन्धिलाई अनुमोदन गर्ने तयारीमा सरोकारवाला निकाय लागिपरेको जानकारीसमेत दिइन् ।
विश्वस्वास्थ्य संगठनका प्रतिनिधि राजाराम पौडेलले पारोसम्बन्धी मन्त्रालयको निर्णय पूर्ण कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गनुपर्ने सुझाव दिए । यस्तै ललितपुर महानगरपालिकाका वातावरण इञ्जिनियर प्रदीप अमात्यले महानगरको वडा ६ र १६ मा मूर्ति बनाउन पारोको प्रयोग हुने भन्दै पारोको घरेलु प्रयोगबारे अध्ययन हुनुपर्ने बताए । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले जनस्वास्थ्य र वातावरणलाई असर गर्ने पारोको प्रयोगलाई विस्थापन गर्दै लगेको बताए ।
सहभागीले दन्त चिकित्साको पाठ्यक्रममा पारोको प्रयोगसम्बन्धी परिमार्जन गर्न आवश्यक रहेको बताएका थिए । प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेज र अस्पतालले पाठ्यक्रमअनुसार विद्यार्थीले पारोको प्रयोग गर्दै आएका छन् । दन्त सप्लार्यसले अझै पनि दन्त चिकित्साका लागि पारोको तरल, क्यापसुल र धातु मिश्रको बेचबिखन गर्दै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पारोसम्बन्धी निर्णयबारे जानकार नहुने २६ दशमलव दुई प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । झण्डै ९३ प्रतिशत स्वास्थ्य संस्थाले पारो(मर्करी)मुक्त थर्मोमिटरको प्रयोग गर्ने गरेको छ । कुनै पनि स्वास्थ्य संस्थाले पारोयुक्त स्पोगेमोमानोमिटरको प्रयोग नगर्ने गरेको देखिएको हो ।
केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय मातहतका मेडिकल कलेज र अस्पतालमा पारो प्रयोगमुक्त बनाउन सुझाव दिएको छ । केन्द्रका निर्देशक साहले विभिन्न स्वास्थ्य संस्था र विश्वविद्यालयमा भएका पारोयुक्त उपकरणलाई सबै ठाउँबाट संकलन गरी मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएको छ ।
