
पोखरा । समाजसेवामा सक्रिय बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय सफलता हासिल गर्दै ५४ युनिट रगत संकलन गरिएको छ। एशोसियसनले १२औं पटक आयोजना गरेको यस कार्यक्रमले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रमको उद्घाटन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिलो रक्तदाता तथा एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका थिए। उनले व्यापारीहरूको संस्था भएर पनि एशोसियसनले निरन्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएकोमा प्रशंसा गरे। साथै, सबै संघ-संस्थाहरू कानुनी दायराभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिए।
विशिष्ट अतिथि पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले एशोसियसनलाई आवश्यक सहयोग र सल्लाह दिन आफू सधैं तयार रहेको बताए। उनले पोखराको पुरानो बजार “विशाल बजार” को पहिचान जोगाइराख्न पनि आग्रह गरे।
त्यसैगरी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले रक्तदान जस्तो महान कार्य आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिँदै व्यवसायीहरूको हकहितका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै एशोसियसनका मानार्थ सदस्य केशव बहादुर खत्रीले “रगत किनेर पाइँदैन, बेलैमा नपाए जीवन जोखिममा पर्न सक्छ” भन्दै रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा व्याख्या गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरू बराल लगायतका वक्ताहरूले पनि आफ्नो धारणा राखेका थिए।
एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुंवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा संयोजक मनोहरी पौडेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। प्रादेशिक रक्त सञ्चार केन्द्रको टोलीले कार्यक्रममा विशेष सहयोग गरेको थियो।

