पोखराबाट भिमादसम्म: कवि-साहित्यकारको यात्राले उजागर गर्‍यो लुकेका पर्यटकीय रत्न

Share:

पोखरा । पोखरालाई आफ्नो सिर्जनाको केन्द्र बनाउँदै आएका कवि तथा साहित्यकारहरू आज भिमाद नगरपालिकाका रमणीय तथा ऐतिहासिक गन्तव्यहरूको अवलोकनमा पुगेका छन्। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा र भिमाद नगरपालिकाको संयुक्त आयोजनामा भएको ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन तथा साहित्यिक कार्यक्रम’ले साहित्य र पर्यटनलाई एकै थलोमा जोड्ने प्रयास गरेको देखिएको छ।

भ्रमणका क्रममा सहभागीहरूले सिद्ध गुफा, चमेरे गुफा, भिमबाँध, तीन सय वर्ष पुरानो शिवालय मन्दिर तथा ढोर मिनमखानीको फलाम प्रयोग गरी बनाइएको ऐतिहासिक झोलुङ्गे पुलजस्ता स्थलहरूको प्रत्यक्ष अवलोकन गरे। भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यी सम्पदाहरू प्राकृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको बताउँदै पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

अवलोकनसँगै सिद्ध गुफा परिसरमै सम्पन्न साहित्यिक कार्यक्रममा सेतीकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देलसहित दर्जनौं स्रष्टाहरूले कविता, गजल र अन्य विधाका रचना वाचन गरे। कार्यक्रममा सहभागी स्रष्टाहरूले भिमादको प्राकृतिक सौन्दर्यलाई सिर्जनामा उतार्ने प्रतिबद्धता समेत जनाए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले हरेक महिना फरक-फरक पर्यटकीय स्थलमा पुगेर साहित्यिक तथा अनुसन्धानात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए। संयोजक अम्बिकाप्रसाद भट्टराईले यस्ता गतिविधिले भिमाद क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: