सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा ‘मह’ जोडी

Share:

रेम बिक, पोखरा १४ साउन । साँगीतिक रियालिटि शो विग आईकनमा हरेक पटक फिल्मी सेलिब्रिटीलाई प्रमुख अतिथि बनाउँदै आएको पोखराको विग एफएमले यो पटक मह जोडीलाई पोखरा ल्याउने भएको छ ।

भदौ सात गते पोखरा सभागृहमा हुने पाँचौ सँस्करणको विग आईकनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी प्रमुख अतिथि हुनेछन् । विग एफएमले यसको पुष्टी गरेको हो । ‘लाखौँ नेपालीको ढुकढुकीको रुपमा रहेका मह जोडीलाई हामीले हाम्रो ग्राण्ड ईभेन्टमा ल्याउन पाउँदा निकै खुशि छौँ ।’ एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘कार्यक्रमलाई सभ्य र भव्य बनाउन उहाँहरुको उपस्थितीले अझै बढि सघाउनेछ ।’ यसअघिका विग आईकनका ग्राण्ड फिनालेमा महानायक राजेश हमाल, रेखा थापा जस्ता कलाकारहरुको प्रमुख आतिथ्यता भैसकेको छ ।

गायन क्षेत्रमा भविष्य खोज्दै ५० जिल्लाका आठ सय ९० जना बिग आईकन बन्ने प्रतिष्पर्धामा होमिएका थिए । अहिले प्रतियोगितामा ९ जना मात्र बचेका छन् । उत्कृष्ट ९ मा पुगेका प्रतिस्पर्धीहरु जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, सम्राट गायक, दीपेश भट्टचन र कुन्साङ गुरुङ उत्कृष्ट बन्ने दाउमा छन् । उनीहरुले उत्कृष्ट आठमा छानिनको लागि मंगलवार आफ्नो प्रस्तुती दिएका छन् भने विहिवार उत्कृष्ट आठ प्रतियोगीको घोषणा गरिनेछ । प्रतियोगिको गायन प्रस्तुती मूल्यांकन गरी आफुलाई मन परेका प्रतियोगीलाई विहिवार दिउँसो ३ वजेसम्म भोट गर्न सकिनेछ ।

विग आईकनको आयोजनामा भएको पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड ईभेन्टमा अहिलेसम्म एघारवटा चरण पुरा भैसकेको छ । १९ चरणसम्म सबैलाई पछाडि पार्ने एक जनाले मात्रै विग आईकनको उपाधी चुम्नेछन् । र, पाउनेछन् एक लाख ६० हजार रुपैँया बराबरको पियाजिओ मोटरसाईकल र बेलायतका लागि एक हप्ते साँगीतिक टुरको प्याकेज । सँगसँगै विग आईकन बन्नेले नेपाली साँगीतिक क्षेत्रमा एउटा उचाई पनि पाउनेछन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य संगै ग्राण्ड फिनालेमा अन्य चर्चित सेलिब्रिटिहरुको पनि उपस्थिती रहने एफएमका कार्यक्रम संयोजक सन्जोग बस्यालले बताए । ‘अघिल्ला सँस्करणभन्दा यो पटकको विग आईकनको ग्राण्ड फिनाले हरेक हिसाबले उत्कृष्ट बनाउन हामीले तयारी गरिरहेका छौँ ।’ उनले भने–‘मोफसलमा रहेर पनि हामीले राष्ट्रियस्तरसम्म प्रभाव पर्ने गरि कार्यक्रम गर्नेछौँ ।’

साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको शो मा अब प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुको एसएमएस भोटिङ पनि उत्तिकै जरुरी रहेको एफएमले जनाएको छ । एफएमले दिएको जानकारी अनुसार उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ । बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: