
पोखरा, २० साउन । सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको १४ औँ चरणको अडिसन मंगलबार सकिएको छ । मंगलबार जेनिता राई प्रतियोगिताबाट बाहिरिएपछि अब विग आईकनका लागि भिड्न ६ जना मात्रै बचेका छन् । उनीहरुबिच मंगलबार नै उत्कृष्ट पाँचको लागि प्रतिस्पर्धा समेत भएको छ । विहिबार दिउँसो हुने अर्को चरणको अडिसन शुरु हुन भन्दा अगाडि हुने एलिमिनेशन राउण्डपछि मात्रै उत्कृष्ट पाँचको टुंगो लाग्नेछ ।
अडिसनका चरणहरु सकिँदै जाँदा विग आईकनको ग्राण्ड फिनाले पनि नजिक आईरहेको छ । विग आईकनको ग्राण्ड फिनालेका लागि आयोजक संस्था विग एफएमले तयारी तिव्र पारेको जानकारी दिएको छ । उत्कृष्ट ६ प्रतियोगीहरुमा ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, दिपेश भट्टचन र कुन्साङ गुरुङ रहेका छन् ।
साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । मंगलबार भएको १४ औँ चरणको अडिसनमा गायक रामभक्त जोजिजू ‘पाहुना निर्णायक’को रुपमा ईभेन्टमा सहभागी भएका थिए । उनले सम्पूर्ण प्रतिस्पर्धीहरु उपाधीका लागि फिट भएको उल्लेख गर्दै प्रतियोगीहरुलाई थप प्रयास गर्न आग्रह गरे । उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको शो मा अब प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुको एसएमएस भोटिङ पनि उत्तिकै जरुरी रहेको एफएमले जनाएको छ । एफएमले दिएको जानकारी अनुसार उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ ।
बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ७ गते पोखरा सभागृह हलमा भव्य व्यवस्थापनसहित हुने एफएमले जनाएको छ । सोहि दिन पाँचौ सँस्करणको विग आईकन विजेता घोषणा समेत हुनेछ । ग्राण्ड फिनालेमा हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा रहनेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीहरुको प्रस्तुती समेत रहनेछ ।
प्रतियोगितालाई चार वर्ष अघिदेखि लगातार मुख्य प्रायोजन गर्दै आएको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ मोबाईलले यसपटक पनि साथ दिएको छ । प्रतियोगिताको सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स, सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन, प्रोमोटेड बाईमा द व्रिटिश कलेज, उपप्रायोजकमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी तथा सहप्रायोजकमा रबि अटोमोबाईल्स नयाँबजार र पर्फेक्ट कन्स्ट्रक्शन एण्ड ईन्जिनियरिङ रहेको छ ।
बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । यस्तै प्रतियोगिताको ईन्टरनेट पार्टनरमा पोखरा ईन्टरनेट रहेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
