
रञ्जन अधिकारी पोखरा, २४ साउन / कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः क्या. पूर्णबहादुर ह्योल्मोलाई अध्यक्षमा चयन गरेको छ ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा सृजन गुरुङ, सहसचिवमा डिबी नेपाली, कोषाध्यक्षमा प्रदीप गौचन छन् । यस्तै, समितिका सदस्यहरुमा कमल गुरुङ, अशोक शेरचन, तेज केसी, जगबहादुर गुरुङ, गजेन्द्र गौचन, धर्मा गुरुङ, ईश्वरी थापा र शुशीला गुरुङ रहेका छन् । निर्वाचन अधिकृतका रुपमा पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा रहेका थिए ।
यसअघि, साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पूर्व पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक योगेन्द्रबहादुर बस्नेतले कल्याण शेरचनले देखाएको बोटालाई नयाँ पुस्ताले अनुशरण गर्नुपर्ने बताए । उनले शेरचनको सिर्जनालाई मर्न दिन नहुने बताए । ‘शेरचन समकालीन साथी हुन्, यस क्षेत्रमा संगै लागियो ।’ बस्नेतले स्मरण गरे ‘उनी सधैं जायज कुरालाई मात्रै बोकेर हिँड्ने राम्रो मान्छे थिए । यथार्थवादी, साहसी थिए । शिक्षा, कला, खेलकूदमा प्रगति गरेर गए ।’
अग्रज चलचित्रकर्मी तथा प्रतिष्ठानका संरक्षक चेतन कार्कीले लोक संस्कृतिको जर्गेनामा शेरचनको अतुलनीय योगदान रहेकाले उनको योगदानलाई हामीले भुल्न नहुने बताए । उनले कलाकारलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वर्गिय शेरचनले लोक संस्कृतिको जर्गेनाको साथै समाजमा देखिएको विकृति विसंगित रोक्न निडर भएर उभिएको स्मरण गरे ।
पर्यटनविद तथा संस्थाका सल्लाहाकार झलक थापाले कल्याण शेरचन पोखरालाई कलाको माध्यमबाट सिर्गाने कलाकार भएको बताउनुभयो । ‘मैले हरेक बिहान सम्झने २२ जना व्यक्तित्वमध्ये कल्याण शेरचन पनि हुन् ।‘ थापाले भने – ‘उनका अपूरा कामहरुलाई पूरा गर्नुपर्छ ।’
प्राज्ञ तथा बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले कला क्षेत्रमा जीवनभर लागेका शेरचन बहु आयामिक व्यक्तित्वका धनी भएको बताईन् । संरक्षक नरबहादुर शेरचनले नेपाली लोकसंगीतमा विशिष्ट योगदान पु¥याएका स्व. शेरचनलाई सबैले स्मरण गर्नुपर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको साधारणसभामा सचिव ज्ञानबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रदीप गौचनले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा स्वागत सहसचिव सृजन गुरुङले गरेका थिए । लोकस्रष्टा, साधक, शिल्पि कल्याण शेरचनकी धर्मपत्नी शर्मिला शेरचन प्रतिष्ठानकी प्रमुख संरक्षक हुन् ।
