
रञ्जन अधिकारी पोखरा, १४ भदौ / पोखराकै जेठो संस्था, उद्योगी व्यावसायीको छाता संगठन पोखरा उद्योग वाणिज्य संघ ३० औं अधिवेशनको संघारमा छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा वर्तमान अध्यक्ष सञ्जीव बहादुर कोईराला र प्रथम उपाध्यक्ष बिन्दु कुमार थापा प्यानल सहित चुनावी मैदानमा छन् ।
चुनावी सरगर्मी बढिरहेका बेला पोखराका व्यवसायिक संघहरु भने बिधान संशोधनको मागलाई जोडतोडका साथ उठाएका छन् । यसअघि चार पटकसम्म विधान संशोधनका लागि पहल गरिएपनि असफल भएको जनाउँदै उनीहरु यसपटक जुनै हालतमा बिधान संशोधन गर्ने पक्षमा छन् । संघको विधानमा श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार समेत परिवर्तन नभएको एक सदस्य बताउँछन् ।
पोखराका व्यावसायीक संघहरु उद्योग वाणिज्य संघको सदस्यता प्राप्त गर्नकै लागि अधिकृत विक्रेता संघ, पोखराका अध्यक्ष सुरेश अधिकारीको संयोजकत्वमा व्यावसायिक उच्चस्तरीय कमिटि गठन गरेर अघि बढेका छन् । ‘संघले साना व्यवसायीहरुलाई समेट्न सकेको छैन । राज्यले स्वीकृत प्रदान गरेको संघलाई समेत उद्योग वाणिज्य संघले सदस्यता दिन हिच्किचाएको अवस्था छ ।’– संयोजक अधिकारीले भने – ‘सबै व्यवसायिक संघसंस्थाहरु एक भएर अघि बढौं । उद्योग वाणिज्य संघ छाता संगठन बनोस् ।’
कमिटिकै आयोजनामा पोखरामा शनिबार आयोजित अन्तक्र्रिया कार्यक्रम अधिकारीले विधान संशोधनका लागि चार पटकसम्मको प्रयास असफल भएको जानकारी दिँदै चुनावका बेला उम्मेदवारहरुले आश्वासन दिने तर निर्वाचित भएपछि लगत्तै आउने दशैं तिहार चाड सँगै सबै सेलाउने गरेको बताए । ‘त्यसैले अब व्यवसायिक उच्च स्तरीय कमिटि नै गठन गरेर हाम्रा माग दुवै पक्षका उम्मेदारहरुबीच प्रस्तुत गरी लिखित प्रतिबद्धता जनाउनेलाई मात्र निर्वाचनमा मत दिने निर्णयमा पुगेका छौं ।’ – उनले भने ।
अधिकृत विक्रेता संघबाट ८५ जना सदस्य छन् । उनका अनुसार यसपटक सय बढि पुग्ने अवस्था छ । विक्रेता संघका सदस्यहरुका तीन चार ओटा कारोबार भएको व्यवसायिक संघ पनि रहेकाले १५० बढि मतदाता संख्या रहेको अधिकारीले जनाए ।
‘पहिले पहिले व्यक्ति विशेष, भूतपूर्व अध्यक्षहरुको चलखेल हुन्थ्यो, त्यसपछि राजनीति हावी भयो । अहिले आएर पारिवारिक किचलो व्यापक रुपमा आएको छ ।’ अधिकारीले थपे– ‘कार्यसमितिका उम्मेदवारहरुले पनि हामीहरु किचलोमा प¥यौं भन्दै आईरहनुभएको छ । हाम्रो सुझाव त सबै मिलेर जानुस्, सबैलाई समेट्नुस् भन्ने हो ।’
उनका अनुसार तीन सय ५० देखि चार सय संख्याका ठूला व्यवसायीहरु जसको एउटा फर्म मात्र आधिकारीक कारोबार गर्छन् र अन्य फर्महरु निष्क्रिय राख्ने गरेका छन्, उनीहरु चुनावी प्रक्रियाका लागि मात्र उद्योग वाणिज्य संघमा नविकरण गर्ने गर्छन् । उनीहरु व्यवसायीको हितमा पनि नलाग्ने र राम्रो गर्न पनि नदिने तर जिताउने हराउने खेलमा लाग्छन् । अधिकारी भन्छन् – ‘जुन पर्याप्त पनि छ । उनीहरुको आर्शिवादमा निर्वाचित भएपछि अध्यक्षले घेरा तोड्न पनि सक्दैनन् र सानो व्यवसायीको हितमा काम गर्दैनन् । पर्दा पछाडी बस्नेहरुको चलखेल छ । त्यसैले यो अवस्था सिर्जना भएको हो।’
अध्यक्षले जहाँबाट जितेर आयो उसैलाई हालीमुहाली गर्न दिने र पोर्टफोलियो चयन गर्ने अधिकार समेत अध्यक्षलाई नै भएकाले बहुमत संख्या ठूलो व्यावसायीकै पक्षको हुने भएकाले मनोनित समेत अध्यक्ष पक्षमा ३५ प्रतिशत ननाघ्ने गरी बिधान संशोधनको लागि आफूहरु लागि परेको उनले बताए । विधानले नै दिएको कुरामा पनि आफूखुशी व्याख्या भएकोमा उनले असन्तुष्टि जनाए ।
अन्तक्र्रियामा सहभागीले समान किसिमको सदस्यता वितरण प्रणाली हुनुपर्ने, समावेशी ढंगले आबद्धता गराईनुपर्ने, महिला सहित एशोसियट सदस्यमा सहभागी गराईनुपर्ने आवाज जोडदार रुपमा उठाए ।
क्यानका निवर्तमान अध्यक्ष चण्डीप्रयाद अर्यालले समान तरिकाले सदस्यता वितरण गर्नुपर्ने भन्दै दुई महिना अघि देखि नै व्यवसाय नै छाडेर चुनावी प्रचारमा हिँड्ने विकृति आएकोमा असन्तुष्टि जनाए ।
अटोमोबाईल डिलर्स एशोसियसनका ध्रुब थापाले पोर्टफोलियोमा पनि चुनाव हुनुपर्नेमा आफू सकारात्मक रहेको जनाए । पेट्रोलियम डिलर्श एशोसियसनका शुशिल गौचनले दुई तिहाई कहिल्यै नपुग्ने भएकाले ५१ प्रतिशत हुने गरी विधान संशोधन गर्नुपर्ने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउनुपर्ने पक्षमा आफू रहेको बताए ।
निर्माण व्यवसायीका तर्फबाट ऋषि गौत र क्याटरिङ व्यावसायीको तर्फबाट पिताम्बर पौडेलले नेपाल सरकारले रजिष्टर्ड गरिसकेको व्यवसायलाई उद्योग वाणिज्य संघले दर्ता नगरेकोमा आक्रोश व्यक्त गर्दै राजनीति हावी भएर विभिन्न विकृति भित्रिएको टिप्पणी गरे । अधिकृत विक्रेता संघका संस्थापक अध्यक्ष समेत रहेका सल्लाहकार गोविन्द कमाचार्यले एशोसियट सदस्य भनेर उद्योगीहरुबाट कार्यसमितिमा लगिए जस्तै व्यवसायी संघलाई पनि प्रतिनिधित्व गराउनुपर्ने माग गरे । पुस्तक व्यावसायीको तर्फबाट जगदीश गौतम, अधिवक्ता एवं कानुनी सल्लाहकार जगन्नाथ ढकाल लगायतले बोलेका थिए ।
