
इस्लामावाद १५ भाद्र / पाकिस्तानमा सरकारको राजीनामा माग्दै भइरहेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा तीन जनाको मृत्यु भएको छ। चार सयभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
घाइते हुनेमा प्रहरी पनि छन्। केही क्षेत्रमा बेलाबेलामा दुई पक्षबीचझडप भइरहेको समाचार छ। प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै केही सातादेखि भइरहेको प्रदर्शनका क्रममा आइतबार प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि झडप भएको हो। एक सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको इस्लामावाद प्रहरी प्रमुखले जनाएका छन्। ‘पक्राउ परेका प्रदर्शनकारीसँग धारिला हतियार थिए,’ इस्लामावाद प्रहरी प्रमुख खालिद खटकले भने, ‘उनीहरूसँग बन्दुक पनि पक्कै छ। हामीले बन्दुक भने भेटाएका छैनौं।’
पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ ९पिटिआई० र मौलवी ताहिरुल क़ादरीको पाकिस्तानी अवामी तहरिक ९पिएटी० ले केही सातादेखि सरकारविरुद्ध आन्दोलन चर्काएका छन् । गत वर्षको चुनावमा धाँधली भएको आरोप उनीहरुको छ। पुनः निर्वाचन हुनुपर्ने उनीहरुको माग छ।
यसअघि यी दुई पार्टीका समर्थकहरू नाराबाजी गर्दै संसद भवन परिसरमा प्रवेश गरेका थिए।
प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। झडपमा २ सय ६४ जना घाइते भएको र त्यसपछि २६ जना प्रहरी भएको बिबिसीले जनाएको छ।
सरकारले प्रधानमन्त्री निवासदेखि सम्पूर्ण रेड जोनको सुरक्षा जिम्मा सेनालाई दिएको छ। आवश्यक परे सेनालाई कारबाहीको आदेश दिन सकिने रक्षामन्त्री ख्वाजा आसिफले बताएका छन्। हिंसाका बीच वार्ता सम्भव नभएको उनको भनाइ थियो।
गृहमन्त्री चौधरी निसारले भने प्रदर्शनकारीलाई सचेत गराएका छन्। ‘सरकारी भवनहरूमाथि उनीहरूले कब्जा जमाउन खोज्छन् भने,’ उनले संवाददाताहरूसँग भने, ‘सुरक्षाकर्मीले पनि संविधान र देशको रक्षा गर्ने शपथ लिएको छ।’ सरिफको राजीनामाको मागसहित इमरान खानले १४ अगस्टमा लाहोरबाट स्वतन्त्रता यात्रा सुरु गरेका थिए। धर्मगरी ताहिरुल कादरीले पनि सोही दिन ‘इन्कलाव मार्च’ सुरु गरेका थिए।
