
रञ्जन अधिकारी पोखरा, १५ भदौ / सातौं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी आईतबार मनाईएको छ । ‘पुस्तकालयको विस्तार, सभ्य समाजको आधार’ नाराका साथ पोखरामा पनि जिल्ला पुस्तकालय व्यवस्थापन समिति कास्कीले पुस्तकालय स्थापना र लामो समय पुस्तकालयमा सेवा गर्ने दुई जनालाई सम्मान गर्दै सातौं पुस्तकालय दिवस–२०७१ मनायो ।
दिवसका अवसरमा पुस्तकालयसेवी धनबहादुर नेपाली र पुस्तकालयकर्मी सूर्यबहादुर क्षेत्री सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य लगायतले नेपाली र क्षेत्रीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित व्यक्तित्व नेपाली सहिद स्मृति पुस्तकालयका अध्यक्ष हुन् भने क्षेत्री बन विज्ञान अध्ययन संस्थान र पोखरा सार्वजनिक पुस्तकालयसँग आबद्ध छन् ।
क्षेत्रीय प्रशासक थपलियाले पुस्तकालयको स्थापना र यसको व्यवस्थापनका लागि छुट्टै बजेटको आवश्यकता रहेको बताए । ‘शिक्षा तथा सूचनाको क्षेत्रमा लगाईने बजेटको केहि अंश पुस्तकालयका लागि पनि छुट्टाउन अनिवार्य छ ।’ थपलियाले भने– ‘शिक्षा कार्यालय र स्थानीय निकायले बजेटको व्यवस्थापन गर्नुपर्छ ।’ उनले पुस्तकालयको विकासमा सहयोगका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिए । उनले पुस्तकालयको प्रयोग र त्यसको प्रभावबारे मूल्यांकन हुनुपर्ने भन्दै पुस्तकालयले मानवलाई मानवको रुपमा स्थापित गर्ने धारणा राखे । ‘एउटा समय यस्तो थियो जुनबेला पुस्तकालय र स्कूल खोल्न प्रतिबन्ध थियो ।’ उनले थपे ‘तर आज पुस्तकालयको स्थापना र व्यवस्थापनमा चिन्ता लिनुपर्ने अवस्था छ ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका जिल्ला पुस्तकालय व्यवस्थापन समिति कास्कीका संयोजक एवं स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले जिल्लाका महत्वपूर्ण सूचनाहरुको सकंलन गर्न सक्ने सुविधा सहितको पुस्तकालय विकास आजको आवश्यकता भएकोमा जोड दिए ।
सहभागीलाई स्वागत गर्दै जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले पुस्तकालयको महत्वबारे प्रचारप्रसारकै लागि यो दिवस मनाउने गरेको भन्दै अब पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । ‘परिवर्तित समयसँगै ई–लाईब्रेरीलाई विकास गर्न पनि आवश्यक छ ।’ उनले भने – ‘गाउँ गाउँमा पुस्तकालय पु¥याउन आवश्यक छ ।’ गत वर्ष एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय भन्ने नाराका साथ छैटौं पुस्तकालय दिवस मनाएपनि नाराले सार्थकता भने पाउन सकेको छैन ।
कार्यक्रममा वक्ताहरुले सिकाई प्रक्रिया जीवनको अन्तिम घडीसम्म रहने भएकाले त्यसमा पुस्तकालय सबैभन्दा बढि सहयोगी माध्यम हुने उल्लेख गरेका थिए ।
ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापालाई पुस्तक हस्तान्तरण गरिएका थियो । प्रचारप्रसार तथा तयारी उपसमितिका संयोजक सूर्यबहादुर क्षेत्रीले पुस्तकालय दिवस र पुस्तकालय तथा सूचना व्यवस्थापन सम्बन्धी नीति र निर्देशिका बारे जानकारी गराएका थिए भने पोखरा विश्वविद्यालयका सहायक लाईब्रेरियन दुर्गाप्रसाद आचार्यले पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका र शैक्षिक पुस्तकालयबारे जानकारी गराएका थिए । अनुभूति घिमिरेबाट नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सम्मान उपसमिति संयोजक अर्जुन श्रेष्ठ लगायतले बोलेका थिए ।
वि.सं. १८६९ भदौ १५ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले पुस्तक चिताई तहबिलमा पुस्तकालयाध्यक्ष तोकिदिएको व्यवस्थालाई आधार मान्दै २०६५ सालदेखि नेपालमा औपचारिक रुपमा पुस्तकालय दिवस मनाईंदै आएको छ । गत वर्ष पुस्तकालयकर्मीहरुले रक्तदान, विभिन्न पुस्तकालयमा पुस्तक हस्तान्तरण जस्ता कार्यक्रम गरी सप्ताहव्यापी रुपमा यो दिवस मनाएका थिए । यसवर्ष जिल्ला पुस्तकालय व्यवस्थापन समितिले कार्यक्रम आयोजना गरेको हो ।
यसैबीच, सातौं राष्ट्रिय पुस्तकालय दिवसको अबसर पारेर लेखनाथको दीपशिखा सामुदायीक पुस्तकालयले पनि साताव्यापी कार्यक्रम अन्तरगत आईतवार सडक ¥याली निकालेको छ ।
