
रञ्जन अधिकारी पोखरा, २९ भदौ / कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले विद्यार्थी, शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले राम्रो विद्यालय पढाएर, पढेरै मात्रै राम्रो शिक्षा प्राप्त गर्छ भन्ने ठान्नु गलत मान्यता रहेको बताए ।
पोखरा ३ नदिपुर स्थित बालमन्दिर उच्च माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै आचार्यले आफ्नो जिम्मेवारी पूरा गरेमात्रै उचित शिक्षा प्राप्त हुने बताए । ‘छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको, विद्यालय गएर मात्रै विद्यार्थीको र कक्षाकोठामा छिरेर मात्रै शिक्षकको कर्तव्य पूरा हुँदैन ।’ जिशिअ आचार्यले भने– ‘त्रिपक्षीय सम्बन्ध सबल भयो भने विद्यालयमा उचित शिक्षाको वातावरण बन्छ ।’
आईतबार राष्ट्रिय बाल दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उनले बालबालिकाहरुका भविष्य उज्जवल बनाउन शिक्षाको आवश्यकता रहेकोमा जोड दिए । ‘शिक्षाबाट कुनै बालबालिका बञ्चित रहने अवस्था नरहुन् ।’ आचार्यले भने– ‘हरेक बालबालिकाले शिक्षा पाउनुपर्छ र बालबच्चाले कस्तो शिक्षा पाईरहेका छन्, अभिभावक पनि जानकार रहनुपर्दछ ।’ उनले बाल मन्दिर विद्यालय ५० वर्ष पुग्दा यो अग्रणी स्थानमा आएको बताउँदै यहाँ ल्याईपु¥याउने सबै बधाईका पात्र भएको बताए ।
कार्यक्रममा प्राज्ञ प्रकाश घिमिरे, पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजु (रविन्सन), रेडियो सराङकोटका निर्देशक कृष्ण थापा, टोलसुधार समन्वय समितिका अध्यक्ष विष्णुशंकर ख्वाजु, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहप्राध्यापक चन्द्रकान्त रेग्मी, शिक्षक अभिभावक संघा अध्यक्ष मनबहादुर बिक, इनरह्विल क्लब अफ रोटरी अन्नपूर्णकी विजया कर्माचार्य लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बालसंगठनका उपसभापति कृष्णबहादुर श्रेष्ठ र विद्यार्थी सन्ध्या आचार्यले स्वागत गरेका थिए । प्रधानाध्यापक शुशिल बस्नेतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा दीर्घ सेवा सम्मानबाट प्रधानाध्यापक शुशिल बस्नेत, बसुन्धरा तिम्सेना र सावित्री थापा तथा उत्कृष्ट शिक्षकबाट सहप्रधानाध्याप भिष्ममणि लामिछाने र रमा अधिकारीलाई सम्मान गरिएको थियो भने प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
२०२१ सालमा स्थापित सो विद्यालयमा २०६९ देखि उच्च मावि तहतर्फ व्यवस्थापन र शिक्षा विषयमा अध्यापन सुरु भएको छ । विद्यालयमा कूल १०६९ विद्यार्थी अध्ययनरत छन् ।
