
रञ्जन अधिकारी पोखरा, २९ भदौ / पोखरा उद्योग वाणिज्य संघको एक टोली पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन काठमाण्डौ जाने भएको छ । नवनिर्वाचित अध्यक्ष बिन्दुुकुमार थापाले पोखरेलीको सपना जुनै हालतमा पुरा हुनुपर्ने भन्दै विमानस्थल निर्माणमा ढिलाई भएकाले दबाब दिन नयाँ टीम काठमाण्डौं जाने तयारीमा रहेको बताए ।
पोखरा ८, सृजनाचोक स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लि. को पन्ध्रौं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा थापाले यो वा त्यो बहानामा अब कुनै पनि हालतमा निर्माणप्रक्रिया अवरोध हुन नसक्ने बताउँदै पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराउन आफूहरु जान लागेको जनाए । अर्थमन्त्रालय सकारात्मक नबन्दा पर्यटन मन्त्रालयले अघि बढाएको फाईल पनि रोकिएको उनले जनाए । पर्यटनमन्त्री भीम आचार्य पोखरा विमानस्थल निर्माणमा सकारात्मक थिए । अहिले एमालेकै दीपकचन्द्र अमात्य नयाँ मन्त्री बनेका छन् ।
‘भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र लुम्बिनी भ्रमणपछि पोखरा ल्याएर मुक्तिनाथ सम्म पु¥याउन पहल गरिरहेका छौं ।’ नवनिर्वाचित अध्यक्ष थापाले भने ‘पोखरामा खानेपानीको सहज वितरणका लागि जापानी संस्था जाईकासँग ५८ किमि पाईप सहयोगको लागि छिट्टै सम्झौता हुन लागेको छ ।’ उनले आफू अध्यक्ष भईसकेपछि घोषणापत्रमा गरेको प्रतिबद्धतालाई पूरा गर्ने पनि उल्लेख गरे । थापाले पोखराका प्रतिष्ठित व्यवसायीहरु सदस्य रहेको पोखरा बचत सहकारीसंग शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि लगायतको छेत्रमा सहकार्य गरी अघि बढ्न संघ ईच्छुक रहेको बताए ।
कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष सुदीप ढकालले सहकारी संस्थाहरुले मुनाफामुखी भएर मात्र होइन, सेवामुखी भावना बोकेर कार्य गर्नु पर्ने र सदस्यहरुले पनि सहकारी संस्थालाई आÇनै ठान्नुपर्ने बताए । ‘सदस्यहरुले संस्थाबाट ठूलो अपेक्षा पनि गर्नुहुँदैन ।’ उनले भने– ‘अब हामीले आफ्नो दायरा ठूलो बनाउन जरुरी छ ।’ कास्कीका ५ सय ६५ सहकारी मध्ये साढे तीन सय भन्दा बढि संख्यामा बचत तथा ऋण सहकारी रहेको तर आफैं भित्र रुमल्लिरहेको अवस्थामा रहेको उनको भनाई छ ।
कार्यक्रममा संस्थाले सिन्धुपाल्चोकको सुनकोशी नदी लगायत नेपालको विभिन्न भागहरुमा गएको बाढी पहिरोका कारण विपद्मा परेकाहरुको सहयोगार्थ नेपाल रेडक्रस सोसाईटी कास्की शाखालाई १५ हजार रुपैयाँ राहत सहयोग हस्तान्तरण गरिएको थियो । सोसाईटीका अध्यक्ष बामदेव ढुंगानाले व्यवसायिक संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुशी व्यक्त गरे ।
संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव समिरमान उदासले गरेका थिए । उपाध्यक्ष सुरेन्द्र बहादुर गोदार, कार्यक्रम संयोजक फणिन्द्रराज शर्मा, शेयर सदस्य विशेश्वर आचार्य लगायतले बोलेका थिए । कूल अधिकृत पूँजि सात करोड तथा चुक्ता पूँजि एक करोड ९६ लाख रहेको उक्त संस्थाको पन्ध्रौं वार्षिक साधरणसभाको बन्दसत्रमा संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गद्वारा प्रस्तुत आ.व. ०७०÷०७१ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक शम्भुराज बास्तोलाद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष फणिन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत आ.व. ०७०÷०७१ को लेखा परिक्षण प्रतिवेदनका साथै आ.व. ०७२÷०७३ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट लगायतका विविध एजेण्डाहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो ।
सो अवसरमा शेयर सदस्यका प्रवेशिका परीक्षा उत्तीर्ण छोराछोरीलाई नगदसहित सम्मानका साथै गत वर्ष भरि व्यवसायिक तथा सामाजिक क्षेत्रमा विशेष ओहदा हासिल गर्न सफल संस्थाका शेयरसदस्यहरु लक्ष्मी गुरुङ्ग, दुर्गा बहादुर थापा, पोम नारायण श्रेष्ठ, कविराज पौडेल र दामु अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै, शेयरसदस्यद्वय लिला पुर्जा पुन (शेरचन) असल बचत÷निक्षेपकर्ता तथा हरि बहादुर थापालाई वर्षको उत्कृष्ट कारोवारी सदस्यको रुपमा सम्मानित गरिएको कार्यक्रममा संस्थाको टेलर पदमा कार्यरत निर्मला गुरुङ्गलाई नगद पुरस्कार सहित वर्षको उत्कृष्ट कर्मचारीको उपाधि प्रदान गरिएको थियो ।
वि.सं. २०५९ सालमा स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्थामा हाल १७ सय भन्दा बढी शेयरसदस्यहरु रहेका छन् । कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको यस सहकारी संस्थाले पोखरा – ८ सृजनाचोक र पोखरा – ९, नयाँबजार स्थित दुईवटा कार्यालयहरुबाट आफना सदस्यहरुलाई सेवा पदान गर्दै आईरहेको छ । गत आ.व. मा यस संस्थाले ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
यसैबीच, अधिवेशनले पुनः आश बहादुर गुरुङकै अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
