चाडपर्वको बेला कडा निगरानी हुनेछः प्रजिअ राउत

Share:

रञ्जन अधिकारी पोखरा, असोज ३ / चाडपर्वको बेलामा हुन सक्ने चोरीका घटना, विभिन्न ठगी, चर्को मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, कृत्रिम अभाव सृजना गर्ने जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की र सुशासनका लागि नागरिक समाज कास्कीको संयुक्त आयोजनामा शुक्रवार पोखरामा भएको दशैं तिहार केन्द्रित बजार व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह चुस्त राख्ने विषयक अन्तक्र्रियामा बोल्दै राउतले व्यवसायीहरु धेरै कमाउने ध्याउन्नमा नलागी व्यवसाय गर्न आग्रह गरे । ‘मासु, फलफूल, खाद्य, कपडा सबै व्यवसायीले आÇनो मर्यादा ख्याल गरी काम गर्नुपर्छ ।’ उनले भने– ‘बजार अनुगमन पनि तीब्र पारिएको छ । सबै पसल अनुगमन गरेर त सकिदैँन तर जहाँ पनि अनुगमन हुन सक्छ ।’

IMG_0313

उनले चाडपर्व सुरक्षा योजना पनि लागू भएको जानकारी दिँदै पोखरा क्षेत्रमै दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना भएको जनाए । पोखरामा पृथ्वीचोक र बाग्लुङ बसर्पा क्षेत्रमा हेल्प डेस्क स्थापना गरिएको छ । सबैभन्दा बढि यातायात क्षेत्रमा चाडबाडमा उपभोक्ता ठगिने गुनासो सुनिएकाले ट्राफिक प्रहरीलाई कडाई गर्न निर्देशन पनि दिए । प्रमुख जिल्ला अधिकारी राउतले आपूर्ति व्यवस्थापन समितिको वैठक तत्काल बोलाई आपूर्ति थप सहज बनाईने जानकारी समेत दिए ।

व्यवसायीले दशैंमा ल्याईने खसी, बोका र च्याङ्ग्रालाई विभिन्न स्थानमा कर उठाउने गरेको गुनासो गरेपछि राउतले अवैध कर उठाउनेलाई कारवाही गरिने बताए । ‘ठाँउ ठाँउमा कर उठाउनु अवैध हो, तुरुन्तै खवर गर्नुहोस् प्रशासनले तत्काल कारवाही गर्छ ।’ उनले भने– ‘कास्कीमा प्रवेश गरेपछि पोखरा टुँडीखेलमा पोखरा उपमहानगरपालिका बाहेक अरु कसैले पनि कास्कीमा कर लिन पाउँदैन । जिविस र नगरपालिका बाहेक कुनै निकायले कर उठाउन सक्दैन ।’

पोखरामा दशैं र तिहारका लागि हिमाली जिल्लाहरुवाट च्याङग्रा ल्याउने व्यापारी मार्फत कास्की जिल्लामा मात्रै लुम्ले, नौडाँडा, हेम्जा लगायतको राजमार्ग खण्डमा यूवा समूह, आमा समूह तथा विभिन्न अवैध समूहका नाउमा व्यापारीसंग कर मागिने गरेको गुनासो वर्षेनी उठ्ने गरेको छ

अन्तरक्रियामा विभिन्न क्षेत्रका प्रतिनिधिले ठाउँठाँउमा अवैध कर उठाउने, यातायातमा सिन्डीकेट हुने, मनपरी भाडा असुल्ने, अखाद्य वस्तु वेचविखन हुने, मिसावट गरिने, उपहार योजनाका नाउमा ठगी धन्दा वढेको लगायतका गुनासा गरेका थिए । सेवाग्राहीहरुले प्रशासनको अनुगमन प्रणाली चुस्त राख्न पनि आग्रह गरेका छन् । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोईराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, खसी तथा कुखुरा व्यवासायी समितिका अध्यक्ष प्रेम पौडेल, पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरी, एल.पी ग्यास विक्रेता संघका अध्यक्ष नारायण प्रसाद पौडेल, शान्तिका लागि नागरिक समाजको संजालका संयोजक रामप्रसाद सुवेदी, नागरिक अधिकारकर्मी विष्णु वराल, खगराज आचार्य, ईन्सेक संयोजक शिव खकुरेल, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सरला पाण्डे, फलफुल व्यवसायी रुद्रप्रसाद खनाल, च्याङग्रा व्यापारी गोर्कण भण्डारी, यातायात व्यवसायी शोभाकान्त पौडेल, सुनास कास्कीका अध्यक्ष पुण्य पौडेल, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, सचिव दीपेन्द्र श्रेष्ठ लगायतले चाडपर्वको वेलामा हुन सक्ने समस्याका वारेमा गुनासो तथा सुझाव राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: