जोमसोम ४४ औं थाक भलिबल प्रतियोगिताको च्याम्पियन

Share:

प्रेमनारायण न्यौपाने लेते (मुस्ताङ), ४ असोज । डिफेण्डिङ च्याम्पियन सिक्स सोल्टिज स्पोर्टस् क्लब घाँसालाई फाइनलमा पराजित गर्दै जनहित युवा क्लब जोमसोमले लेतेमा जारी ४४ औं थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम–२०७१ अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघको तत्वावधान एवं निर्मल स्पोर्टिङ क्लबको आयोजनामा लेतेमा शनिबार भएको फाइनलमा घाँसालाई ३–२ को सेटमा पराजित गर्दै जोमसोमले पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । बेस्ट अफ फाइभका आधारमा खेलाइएको सो खेलमा पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको जोमसोमले त्यसपछिको दोस्रो सेट २३–२५ र तेस्रो सेट १९–२५ ले घाँसालाई सुम्पियो ।चौथो सेट भने २५–२२ ले हात पारेको उसले पाँचौं सेट कडा संघर्षका बीच १६–१४ ले जित्दै उपाधिको हकदार बन्यो ।

DSC07537

च्याम्पियन बनेको जोमसोमले नगद ३० हजार, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजेता तथा उपविजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि सभासद् महेन्द्र शेरचन, पूर्व सभासद् चन्द्रबहादुर गुरुङ ताङ्वे, मुस्ताङ जिल्लाका डीएसपी गोेविन्द पाण्डे, समाजसेवी खगेन्द्र तुलाचन, थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष प्रेमप्रसाद तुलाचनले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा महिला भलिबलतर्फ घाँसाकी अनिशा गौचन तथा पुरुष भलिबलतर्फ घाँसाकै निरोज गौचन उत्कृष्ट घोषित भए भने पोशाकमा लो छो दुन् लोमान्थाङ र अनुशासनमा टुकेचेले पुरस्कार पप्राप्त गरे । थकाली नृत्यमा घाँसा प्रथम भयो ।
थाक खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा आयोजित कृषि बाली मेला प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पनि जिल्ला कृषि विकास कार्यालयले पुरस्कार प्रदान गरेको थियो । यस्तै साँस्कृतिक कार्यक्रमअन्तर्गत नृत्यमा पुरुषतर्फ घाँसाका दर्पण श्रेष्ठ, महिलातर्फ जोमसोमकी रबिना गुरुङ, गायनमा ताग्लुङका रमेश विक र लेतेका विशाल गौचन उत्कृष्ट भएका थिए ।
यसअघि बिहानन भएको पहिलो सेमिफाइनलमा घाँसाले धौलागिरि युवा क्लब कोवाङलाई ३–१ तथा दोस्रो खेलमा जोमसोमले आयोजक निर्मल स्पोर्टिङ क्लब लेतेलाई ३–१ को सेटमा पराजित गरेका थिए । प्रतियोगिता आगामी वर्ष टुकेचमा हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: