सामुदायिक वन समूह खोटो संकलन गर्दै

131
0
Share:

दाङ : जिल्लाका दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको  ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको छ ।

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ राजस्व तिर्ने गरेका छन् । “वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ”, उनले भने।

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दैआएका छन् । तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख मर्न थालेका स्थानीयले बताएका छन् ।

 वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए । सो वन समूहले यस वर्ष करिब रु दुई लाख ५० हजारको खोटो बिक्री गरेको छ । उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो रु १२ का दरले खोटो खरिद गर्दैआएको छ । वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ ।

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ । खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ । “रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ । आगोले भेटे रुख मर्छ”, उनले भने, “खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ ।”

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउनुहुन्छ । सल्लाको रुखबाट वैशाख–जेठदेखि मङ्सिर–पुससम्म खोटो संकलन गर्ने गरिन्छ । “चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ”, उनले भने, । बङ्गलाचुली–८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो संकलन गर्दैआएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: