पोखरा आएर प्रचण्डले भने : सीके राउतसँग मलाई तुलना नगरेको भए हुन्थ्यो

Share:

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका छन् । सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका हुन्।

‘जनमत संग्रहलाई संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने हुन्छ’ पोखरामा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन । यस विषयमा मेरो प्रधानमन्त्रीजीसँग कुराकानी भयो, प्रधानमन्त्रीले सीके राउतले आफ्नो समूहलाई सहमतिका विषयमा बुझाउन बाँकी रहेकाले त्यस्तो भएको हो भन्नु भएको छ।’

विभिन्न कार्यक्रममा ओलीले उनी (प्रचण्ड) लाई क्रान्ति पनि गर्न सक्ने, शान्ति सम्झौतामा पनि आउनसक्ने, मुलुकलाई गणतन्त्रमा पनि ल्याउन सक्ने भनेर प्रसंशा गर्ने गरेका छन्। प्रचण्डले पनि सिके राउतसँग आफूलाई नजोडेको भए हुने तर, जोडेर पनि केही नबिग्रिएको द्विविधापूर्ण जवाफ दिए ।‘निर्णय क्षमता भएको भन्ने अर्थमा उहाँले यस्तो भन्ने गर्नुभएको छ, त्यस्तै निर्णय क्षमताको सन्दर्भमा राउत र मेरो तुलना गर्नुभएको होला’ उनले भने, ‘तर, तुलना आफैमा लंगडो हुन्छ, सबै तुलना एक अर्कासँग मिल्दैनन्। त्यसैले, मैले त्यसलाई अन्यथा मानेको छैन ।’

‘सरकारको ‘इन्टेन्सन’ पृथकतावादी आन्दोलनको प्रबृतिलाई मलजल हुने वातावरण बनाउन हुँदैन भन्ने हो’ प्रचण्डले थपे, ‘यस्तो प्रबृति भोलिपनि बढ्नसक्ने खतरा बुझेर मूलधारमा ल्याउने पहल भएकाले शंका गर्नु जरुरी छैन। उनले सहमति विपरित राउत पक्षले पृथकतावादी बाटो अख्तियार गरिरहे सरकारले कार्वाही गर्ने संकेत पनि गरे।

कमेन्ट गर्नुहोस्
Share: