
काठमाडौं : बुढीगण्डकी नदीमा आकस्मिक बाढी आउनुअघि आरुघाट बाढी मापन केन्द्रमा जलसतह तीव्र गतिमा बढेको पाइएको छ। बिहान साढे ६ बजे २.२८ मिटर रहेको जलसतह बढेर ३.३६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर र खतरा तह ५ मिटर रहेको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाका उपकार्यकारी निर्देशक एवं प्रवक्ता डा. राजन भट्टराईका अनुसार बिहानै सूचना प्राप्त भएपछि नदीको तटीय क्षेत्रअन्तर्गत वेनिघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना जारी गरिएको थियो।
बाढी आउनुको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको डा. भट्टराईले बताए।
उनका अनुसार बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतरा तहभन्दा माथि हो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्न थाल्यो। बिहान ८ः३० बजे जलसतह ६.२२ मिटर पुगेको थियो भने त्यसको १० मिनेटपछि बढेर ८.४३ मिटर पुग्यो।
त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र नै बगाएकाले त्यसपछिको जलसतहसम्बन्धी थप विवरण प्राप्त हुन नसकेको डा. भट्टराईले जानकारी दिए।
गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीको सहायक नदीबाट आकस्मिक रूपमा बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो।
त्यसैगरी, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको थियो।
बुढीगण्डकी नदीको बहाव घटेको देखिए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको महाशाखाले जनाएको छ। पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न डा. भट्टराईले आग्रह गरेका छन्।
