रञ्जन अधिकारी पोखरा, ५ जेठ / पोखरा९ पृथ्वीचोक स्थित पोखरा मलमा कारोबार सञ्चालन गरिरहको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले दोस्रो वर्ष प्रवेशको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पोखरा मल व्यवसायी संघको संयुक्त आयोजनामा भएको रक्तदानमा ३३ यूनिट रगत संकलन भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीका प्राचार्य नारायणप्रसाद अर्यालले पहिलो रक्तदाता जगदीश योगीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। अर्यालले सहकारीहरु सीमित क्षेत्रमा रहेर शहरकेन्द्रित बनिरहँदा हाम्रो सहयोगी सहकारीले फराकिलो क्षेत्र ओगटेर काम गरिरहेको बताए। पोखरा, लेखनाथ सहित आसपासका वडा कार्यक्षेत्र बनाएको हाम्रो सहयोगी सहकारीले मापदण्ड भित्रै कार्य गरिरहेको बताउँदै अब सहकारीहरुले उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। शेयर सदस्यलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिँदै अर्यालले शेयर होल्डर र सदस्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापाले पोखराका समग्र उद्योगी व्यवसायीको छाता संगठन पोखरा उद्योग वाणिज्य संघ रहेकाले पोखरा मल व्यवसायी संघमा कुनै समस्या भएमा त्यसको समाधानका लागि संघ तयार रहेको बताए।
पोखरा मल संचालन समिति अध्यक्ष नन्दु तिवारीले आँखादान, रक्तदान जस्ता महत्वपूर्ण कार्यहरु गर्दै पोखरा मल व्यवसायी संघ र हाम्रो सहयोगी सहकारीले व्यवसाय संगसँगै सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुशी व्यक्त गरे।
सहकारीका लेखा समिति संयोजक मञ्जु पौडेल भट्टराईले संस्थाका गतिविधिबारे जानकारी गराउँदै एक वर्ष पूरा भएको अवसरमा सहकारीले निकट भविष्यमै रेमिट्यान्स सेवा, एसएमएस बैंकिङ, ३६५ दिने सेवा, सन्ध्याकालिन सेवा सुरु गर्ने जानकारी दिईन्।
पोखरा मल व्यवसायी संघका अध्यक्ष तथा सहकारीका कार्यवाहक अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका सचिव ध्रुब पौडेल, सहकारीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद गुरुङ, पोखरा मल व्यवसायी संघकी द्वितीय उपाध्यक्ष राधिका योगी, राष्ट्रसेवक बचत तथा ऋण सहकारीका ध्रुबसिंह खड्का लगायतले बोलेका थिए। सहकारी महिला समिति संयोजक मनु खड्काले स्वागत गरेको सो कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं सचिव नविनकिरण भुषालले गरेका थिए।
१ करोड ५० लाख शेयर पूँजीका साथ संस्थाले एक वर्षको छोटो समयमै तीन करोड निक्षप संकलन तथा तीन करोडकै हाराहारीमा लगानी गरेको जनाएको छ।
