११ जेठ। रियल मड्रिड दशौं पटक युरोपियन च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि उचालेको हो ।
पोर्चुगलको राजधानी लेस्बनमा भएको खेलमा अग्रता भने एथ्लेटिको मड्रिडले लिएको थियो । तर, अन्तिम केही मिनेट जोगाउन नसक्दा च्याम्पियन बन्ने मौका गुमायो ।
एथ्लेटिको मडि्रडले ३६ औं मिनेटमा डिएगो गोडिनको गोलबाट अग्रता लिएको थियो । उनले रियल मड्रिडका गोलरक्षक कासिलोसको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
तर, खेलको ९० औं मिनेटमा सर्जिओ रामोसले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
११० औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ११८ औं मिनेटमा मार्सेलोले गोल गरे । खेलको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि रियल मड्रिड च्याम्पियन बन्यो ।
