बाग्लुङ बसपार्कको नामै परिवर्तन गर्नुपर्ने सुझाव किन आयो ? सोचौं: एसपी लामा

Share:

रञ्जन अधिकारी पोखरा, १७ जेठ / पर्यटकीय नगरी पोखरामा यौनजन्य क्रियाकपलाप हुने प्रमुख स्थानका रुपमा बाग्लुङ बसपार्क क्षेत्रलाई चिनिँदै आएकाले अब यसको नामै परिवर्तन गर्नुपर्ने होकि ? भन्ने धारणा सार्वजनिक कार्यक्रममा व्यक्त हुन थालेका छन् । वर्षौदेखि यौनव्यापार गर्दै आएको सो क्षेत्रका केहि होटलका कारण स्थानीय बासिन्दाले आफू बसेको ठाउँ समेत भन्न नसक्ने अवस्था आएकाले नामै परिवर्तन गर्नुपर्ने अवस्था उत्पन्न भएको वक्ताहरुले धारणा राखे ।

भीमसेन टोल सुधार समिति, पोखरा २ ले शनिबार आयोजना गरेको बाग्लुङ बसपार्क क्षेत्रका होटलमा सञ्चालित अनैतिक क्रियाकलाप विषयक अन्तक्र्रिया कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोईरालाले अब बाग्लुङ बसपार्कको नाम नै परिवर्तन गरेर मुस्ताङ बसपार्क राख्ने कि ? भन्ने धारणा राखेपछि प्रमुख अतिथि कास्की प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले नामै परिवर्तन गर्नुपर्ने अवस्था किन आयो ? गम्भीर विषय भएकाले सबै पोखरेलीले सोच्नुपर्ने बताए । ‘पोखरा सुन्दर र सफा पर्यटकीय नगरी हो । तर, यहीं रहेको बाग्लुङ बसपार्कलाई पोखराभित्र मात्रै होईन, आन्तरिक तथा बाह्य पर्यटकले यौनव्यवसाय हुने क्षेत्र भनेर चिन्छन् ।’ लामाले भने– ‘भोलि अर्को ठाउँ यसरी बदनाम हुन सक्छ । सभ्य र सजग नागरिकले सोच्नुपर्ने बेला आएको छ।’

उनले आफू प्रमुख भएर कास्कीमा आएपछि भोलिपल्टबाटै यौन व्यवसाय हुने बाग्लुङ बसपार्कका होटलमा निगरानी सुरु गरेको बताउँदै अहिले सो क्षेत्रबाट हटेपनि अन्य क्षेत्रबाट यौन व्यवसाय भईरहेको सूचना प्राप्त भएकाले कहिंकतै यस्ता गतिविधि हुन नदिने बताए । ‘कानुन वर्जित क्रियाकलाप रोक्नु प्रहरीको दायित्व हो । विकृतिजन्य क्रियाकलापलाई रोक्नुका साथै सामाजिक कामहरुमा हातेमालो गर्दै अघि बढ्न प्रहरी प्रशासन तयार छ ।’ लामाले भने ‘मेरो सरुवा जहिले पनि हुनसक्छ । तर बसन्तकुमारले दिएनन्, अब अर्को प्रहरी प्रमुख आएपछि फेरि निरन्तरता दिउँला भनेर नसोचे हुन्छ । हटाउने अभियान एउटा अवस्थामा पुगिसकेको छ । स्थानीयवासी पनि सजग भईसकेका छन् ।’

एसपी लामाले व्यवसाय छाडेर जाउ भनेर आफूले कसैलाई नभनेको स्पष्ट पार्दै अमर्यादित र अवैधानिक क्रियाकलाप भएमा भने कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए । ‘हाम्री चेलीहरु बाध्यताले यौन व्यवसायमा लागेका हुन् । उनीहरुलाई दुःख दिने हाम्रो मनसाय छैन । तर, सम्मानित पेशा गर्न चाहन्छन् भने रोजगारीको अवसर सिर्जना गर्न हामी तयार छौं ।’ लामाले भने ।

लामा अघि बोलेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोईरालाले बाग्लुङ बसपार्कको नामै अर्कै दृष्टिकोणबाट मात्र चिनिने भयो भन्दै सो बसपार्कबाट मुस्ताङसम्म गाडी छुट्ने भएकाले मुस्ताङ बसपार्क बनाउनुपर्ने धारणा राखेका थिए । उनले व्यवसाय सुरु गर्दा कानुनी प्रावधान, आचारसंहिता र आफ्नो व्यवसायले समाजमा पार्ने प्रभावबारेमा पनि ध्यान दिन आग्रह गरे । ‘व्यवसायमा महिला कर्मचारी राख्नै हुन्न भन्ने होईन । विकृतिजन्य क्रियाकलापमा संलग्न नगराउनुस् ।’ उनले भने– ‘सही पेशा गर्नुस्, तपाईंको व्यवसाय क्रममा आईपर्ने समस्या समाधान गर्न संघ तयार छ । सामाजिक उत्तरदायित्व वहन गर्नुस् ।’

पूर्व जिल्ला न्यायाधीश वीरेन्द्रकुमार बाटाजुले प्रहरी प्रशासनको सक्रियताले यस क्षेत्रबाट विस्थापित भएपनि गरीबी, अशिक्षा र बेरोजगारका कारण उनीहरुले वैकल्पिक पेशा नरोज्ने बताउँदै यसतर्फ राज्यले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए ।

बाग्लुङ बसपार्क होटल तथा रेष्टुरेण्ट व्यवसायी समितिका अध्यक्ष लक्ष्मीप्रसाद पाध्याले सबैले ठानेजस्तो बसपार्क क्षेत्रका सबै होटलमा यौन व्यवसाय नहुने दाबी गर्दै प्रहरीको नियन्त्रण अभियानमा आफूहरुले पनि सघाईरहेको जनाए । उनले भने ‘प्रहरीको निगरानीपछि ती होटलहरु अहिले बन्द भईसके । जसले यो व्यवसाय गरेका छैनन् उनीहरु निर्वाध सञ्चालनमा छन् ।’

अर्का होटल व्यवसायी युवराज श्रेष्ठले बाग्लुङ बसपार्क क्षेत्रमा संचालित ८२ होटल मध्ये ६० प्रतिशत बढिले यौन व्यवसाय गर्ने गरेकोमा अहिले ति सबै विस्थापित भएर किराना पसल, कपडा तथा निर्माण सामाग्री पसल सञ्चालनमा आएको बताए । उनले रोजगारीको अवस्था सिर्जना भए कसैले पनि यौन व्यवसाय नगर्ने बताए ।

भीमसेनटोलका महिलाहरुले बसपार्क क्षेत्रको मात्र समस्या नभएको भन्दै पोखरामै यौन व्यवसाय रोक्नुपर्ने बताए । उनीहरुले देहव्यापारले मात्र होटल चल्छ भन्ने मान्यता त्याग्न व्यवसायीलाई आग्रह गर्दै आफ्ना बालबच्चा हेरेर एकपट सोच्न आग्रह गरे । त्यहाँका यौनव्यवसायी युवतीहरु अहिले आफ्नै कोठा तथा फोनबाट समेत व्यवसायलाई निरन्तरता दिईरहेकोतर्फ युवाहरुले प्रहरीलाई सचेत गराएका थिए ।

समितिका अध्यक्ष सुरेश बजिमयको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका ठाकुर सुवेदी, राप्रपाका ईन्द्र भारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक गोविन्द अधिकारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: