एक हप्ते उद्घोषण तालिम सम्पन्न

Share:

रञ्जन अधिकारी, पोखरा १९ जेठ / पोखराको चिप्लेढुंगामा रहेको थम्बरुल पोखरा प्रा.लि.ले महिलाहरुका लागि सञ्चालन गरेको एक हप्ते उद्घोण तालिम सोमबार सम्पन्न भएको छ । गत जेठ १३ गतेदेखि सञ्चालित तालिममा अधिवक्ता सुरेन्द्र थापामगरले नेतृत्व तथा व्यक्तित्व विकासका साथै उद्घोषण कलाका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका १४ महिला सहभागी थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले यस तालिमबाट सहभागीहरुका लागि सबै सम्भावनाको ढोका खुलेको बताए । बोल्न समेत डराउने महिलाहरु तालिम पश्चात माईक समातेर आत्मविश्वासका साथ आÇना कुरा राख्न सक्षम हुनु खुशीको कुरा भन्दै उनले मिठो बोली र राम्रो प्रस्तुतिले ठूलो प्रभाव पार्ने बताए । ‘मानिसको बोलीले उसको ईज्जत प्रतिष्ठा बढाउँछ । संयमित भएर बोल्न जरुरी छ ।’ बास्तोलाले भने– ‘एक महिलाले सिक्नु भनेको १० जनाले सिक्नु हो ।’

प्रशिक्षक थापा मगरले मानिसले हरेक दिन नयाँ नयाँ विषय सिक्नुपर्ने भएकाले सिक्ने कुरा जीवनमा कहिले नसकिने बताए । प्रशिक्षार्थीहरुले सिकेका कुरालाई व्यवहारमा लागू गरेमात्र तालिम लिनुको सार्थकता हुने बताउँदै उनले महिलाले बोल्नेमात्र होईन, अन्यायमा पर्दा स्पष्टका साथ बोल्नुपर्नेमा जोड दिए ।

थम्बरुल पोखराका संस्थापक ईन्दिरा थापामगरले  डाडुपन्यूमा सीमित महिलाहरु एक हप्ताको तालिम पछि नै माईब समाउन सक्ने भएको भन्दैै गौरवको कुरा भएको बताईन् । समाजले केहि भन्छ भनेर डर मानेर नबस्न आग्रह गर्दै उनले महिलाहरुले हर क्षेत्रमा नेतृत्व लिन अघि सर्नुपर्ने उल्लेख गरिन् । निर्देशक कञ्चन गुरुङले हरेक मानिस जन्मदैं विशेष क्षमता लिएर आउने भन्दै अभ्यासले मात्र उसले अगाडिको यात्रा तय गर्ने बताईन् । उनले महिलाहरु सोचाईमै पछि रहँदा पुरुषभन्दा पछाडि परेकाले चिन्ता होईन चिन्तन गरेमात्र उपाय निस्कने बताईन् ।

प्रशिक्षार्थी शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम अघि सबैको अगाडि बोल्न डर लागेपनि अब आत्मविश्वास बढेको भन्दै सिकेका कुरालाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता जनाए । प्रशिक्षार्थीहरु शोभा पण्डित, शान्ति गुरुङ, टीका गुरुङ, गीता तिवारी, दुर्गादेवी बास्तोला, यूकुमारी पुन, सीता पुन, सरस्वती पुन र दुर्गा पुनले बोलेकी थिईन् । कार्यक्रममा विना जिसीले स्वागत तथा ईन्दिरा पौडेलले सञ्चालन गरेकी थिईन् ।

थम्बरुल वंशाणुगत गुण, गर्भावस्थाको अध्ययन, औंठाको छाप तथा रेखा, मनोविज्ञान, मस्तिष्क तथा स्नायू विज्ञानमा आधारित वैज्ञानिक प्रविधि रहेको र यसले व्यक्रिमा लुकेर बसेको विशेष क्षमता, कमजोरी र समानधान पत्ता लगाउन मद्दत गर्ने संस्थापक ईन्दिरा थापामगरले बताईन् । १५ मिनेटको फिंगर प्रिन्टपछि सिंगापुर स्थित कम्पनीमा पठाईने र एक हप्तापछि रिपोर्ट आउने जानकारी दिँदै उनले यसबाट जन्मजात गुण, क्षमता पत्ता लाग्ने बताईन् । ‘एसएलसी पछि के पढ्ने भनेर बसेका विद्यार्थीहरु आफ्नो क्षमता अनुसार माथिल्लो तहको पढाईका लागि सम्पर्क गर्न सक्नेछन् ।’ उनले भनिन् – ‘आफ्नै क्षमता अनुसार अघि बढे सफलता चुम्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्
Share: