ऋषिराम लामिछानेका ‘विगतलाई फर्केर हेर्दा’ विमोचन

Share:

रञ्जन अधिकारी पोखरा, २३ जेठ । मालपोत कार्यालय कास्कीका अधिकृत ऋषिराम लामिछानेको पुस्तक ‘विगतलाई फर्केर हेर्दा’ को शुक्रबार पोखरामा विमोचन गरिएको छ । निजामति सेवामा कार्यरत रहँदा फरक–फरक विषयका अनुभूतिलाई समेटेर तयार पारिएको सो पुस्तककोसहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले विमोचन गरे ।

आफू कार्यरत निजामती क्षेत्रमा देखिएका समस्या र त्यसलाई समाधान गर्न सरकारलाई सहयोग हुने गरी २०५९ देखि हालसम्मै विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुलाई एकीकृत गर्दै लामिछानेले पुस्तकका रुपमा बजारमा ल्याएका हुन् । निजामती कर्मचारी भएरपनि सेवामा बढुवा र सरुवामा देखिएका बेथितीका विरुद्ध कलम चलाएका उनले मालपोत कार्यालयमै हुनेगरेका कमी कमजोरी समेत स्विकारेका छन् । लेखमार्फत राजनीतिक दलहरुलाई खबरदारीका साथै सम्पत्ति छानविन आयोगको कार्यक्षेत्रबारेको त्रुटि केलाएका लामिछानेले सरकारले निर्वाचनमा कहाँ र कसरी धाँधली गर्न सक्छ ? भनेर २०५९ सालमै खुलेर लेखेको लेख समेत पुस्तकमा समेटिएको छ । समानुपातिक विकासका लागि महिला साक्षरतालाई जोड दिएका लामिछानेले पिछडीएका जाति, क्षेत्र र समुदायका बालबालिकालाई राज्यले निश्चित तहसम्म निःशुल्क शिक्षा दिनुपर्ने वकालत समेत लेखमार्फत गरेका छन् ।

विभिन्न २५ शीर्षकका लेख समेटिएको सो पुस्तकबारे टिप्पणी गर्दै ¥याण्डम रिडर्स सोसाईटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागाईं ‘आहात’ ले वस्तुपरक लेख समेटिएकाले शुन्य कल्पनाशीलता रहेको पुस्तकले दशक अघिको प्रशासन यन्त्र, निजामति सेवामा राज्यको नीति, तत्कालित राजनीतिक परिवेशलाई टपक्कै टिपेको बताए । आफैं कर्मचारी भएर भ्रष्टाचार विरुद्ध कलम चलाउन सक्ने साहसिक लेखक पराजुली हुन् भन्दै स्रोत सहितको तथ्यांक समेटेकाले लेखहरु गहकिलो बनेको टिप्पणी गरे । तत्समयमा प्रकाशित लेखहरुलाई समय सान्दर्भिक बनाउन तिथिमिति सच्याउँदै परिवर्तित नीति अनुसार पुर्नलेखन गर्नुपर्ने सुझाव समेत उनले दिए ।

कस्केली अधिकृत समाजको आयोजनामा भएको पुस्तक विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सरकारी कार्यालयहरुमा रहेका समस्या र समाधानका लागि लेखमार्फत दिईएको सुझावलाई मनन् गर्दै नीति निर्माणका लागि पुस्तक सहयोगी हुने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले नेपालको निजामति प्रशासनको सेवा प्रवाह कस्तो छ भन्ने कुरा पुस्तकले देखाएको भन्दै लामिछानेको सुझावलाई सम्बन्धित निकायले सुन्ने विश्वास व्यक्त गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सरकारी कामका सिलसिलामा गरिएका अनुभव प्रस्तुत भएको यो पुस्तकलाई नीति निर्माणका सवालमा सम्बन्धित पक्षले ध्यान दिने अपेक्षा गरे । ‘कर्मचारी, कर्मचारीमा मात्र सीमित रहेनन् । लामिछाने राष्ट्र र सेवाग्राहीको समस्या प्रति पनि चिन्तित छन् भन्ने पुष्टि पुस्तकमा रहेका लेखले गर्दछ ।’ उनले भने ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले विगतदेखि नै संचारमाध्यममा प्रकाशित लेखलाई एकत्रित गर्दै पुस्तक प्रकाशनसम्मको अवस्था आउनु सुखद् पक्ष रहेको बताउँदै सुशासनका सवालमा सञ्चारमाध्यम सरकारी कर्मचारीसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाए ।

नेकपा एमाले पोखरा नगर कमिटिका अध्यक्ष तेजनारायण अधिकारीले पुस्तकले निजामति क्षेत्रका समस्या, चुनौति र समाधानका सम्भावनाबारे बोलेको बताए ।

समाजका अध्यक्ष डा. दीर्घनाथ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखकका दाजु तोयनाथ लामिछानेले लेखक परिचय दिएका थिए । उपाध्यक्ष विष्णुप्रसाद बरालले स्वागत तथा सचिव अशोक खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: