रञ्जन अधिकारी पोखरा, ७ असार / पोखरामा रगत अभाव भईरहेका बेला पर्वत मिलन समाज पोखराले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । समाजको स्थापना दिवसको अवसरमा वार्षिक कार्यक्रम अनुसार आयोजित कार्यक्रममा २९ जनाले रक्तदान गरे ।
प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल पोखराका उपनिर्देशक रमेशराज पौडेलले पहिलो रक्तदाता टेकप्रसाद तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले रगत अभाव हुने समयमा समाजले वार्षिक कार्यक्रम नै बनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा समाजको कामप्रति प्रशंसा गरे ।
कार्यक्रममा पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा अधिकृत ओमराज पौडेल, समाजका सल्लाहकार महेन्द्र रिमाल, मेट्रो सिटी हस्पिटलका डा. रवि रेग्मी, पर्वत तोला आभुषणका सञ्चालक कृष्ण सुनार, पर्वत मिलन समाजका अध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष ई. सुरेन्द्र पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष शिवलाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका सहसचिव छवि शर्मा र सञ्चालन टापेन्द्र रिजालले गरेका थिए ।
