रञ्जन अधिकारी, पोखरा ८ असार । एसओएस हर्मन माईनर विद्यालय गण्डकीले २८ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा आईतबार पोखरामा तत्स्थान चित्रकला प्रतियोगिताको आयोजना ग¥यो ।
माध्यमिक विद्यालय स्तरीय सो प्रतियोगितामा कास्कीका २४ विद्यालयका ५८ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा गण्डकी आवासीय उच्च माविका विपिन श्रेष्ठ प्रथम भए । शिशु निकेतन उच्च माविका आराध्यप्रसाद अधिकारी द्वितीय, कास्की मोर्डनाईज्डका प्रमिश गुरुङ तृतीय तथा आयोजक एसओएस हर्मन माईनर विद्यालयकी सृष्टि कार्की सान्त्वना भईन् । विजयीहरुले क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र सात सय ५० रुपैंया प्राप्त गरे । निर्णायकहरुमा कलाकारहरु गोपाल प्रसाद श्रेष्ठ, लोकप्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका थिए ।
यसअघि, अग्रज कलाकार दुर्गा बराल वात्स्यायनले पानी रंगको चित्र कोरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रमुख अतिथि बरालले घरभित्रै बसेर पनि चित्र बनाउन सकिने भएपनि खुला आकाशमुनी बसेर लेखिएका चित्रले विशेष महत्व राख्ने बताए । उनले भने – ‘तत्स्थानमा लेखिएका चित्रमा प्राकृतिक तथा सांस्कृतिक रिवेशको प्रभावका साथै कलाकारका अनुभव तथा अनुभूतिहरु झल्किन्छ ।’
काठमाण्डौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले एसओएस हर्मन माइनर विद्यालयले शैक्षिक उन्नतिका साथै कला क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले चित्रकलालाई जीविकोपार्जनको रुपमा पनि लिन सकिने बताए ।
एसओएस बालग्राम गण्डकीका निर्देशक भगतकुमार श्रेष्ठले हाम्रो समाजले चित्रकलालाई त्यति महत्व नदिएको भएपनि यो प्रतिभा प्रदर्शनको माध्यम भएको र ख्याती आर्जन गर्न सकिने बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका प्राचार्य मोहनमुरारी खनालले चित्रकला प्रतियोगितालाई निरन्तर २८ वर्ष देखि सञ्चालन गर्दै आएको जनाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई हरेक वर्ष एकै स्थानमा जमघट गराएर विद्यालयबीच समन्वय र विद्यार्थीहरुको कलाको विकासमा प्रोत्साहित गर्दै आएको बताए ।
कार्यक्रम संयोजक बुद्धि गुरुङले हरेक वर्षका प्रतियोगितामा अग्रज कलाकारहरुलाई आमन्त्रण गरेर विद्यार्थीहरुको मनोबल बढाउने प्रयास गर्दै आएको बताए । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक वीरसिंह बुढाले गरेका थिए ।
यसैबीच, एसओएस दिवसकै अवसरमा विद्यालयले शनिबार सामाजिक न्याय विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । नौ विद्यालयका १७ विद्यार्थी सहभागी रहेकोमा सेन्टमेरिज स्कूलकी प्राप्ति अधिकारी प्रथम, गण्डकी बोर्डिङकी कुशुम बस्नेत द्वितीय, बसलाईन एकेडेमीकी अञ्जु गुरुङ तृतीय र ग्लोबल कलिजियटकी स्नेहा खनाल सान्त्वना हुँदै क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र सात सय ५० रुपैंया प्राप्त गरे ।
जुन २३ अर्थात् एसओएस दिवसको दिन सोमबार कर्मचारी सम्मान, पुरस्कार वितरण सहित विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने अतिरिक्त क्रियाकलाप संयोजक वीरसिंह बुढाले जानकारी दिए ।
