असार १७ – नेदरल्यान्ड्सले अर्को पुर्नआगमन रच्दै आइतबार विश्वकप २०१४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्लास जान हुन्टलरले इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि नेदरल्यान्ड्सले अन्तिम १६ को खेलमा मेक्सिकोलाई २-१ ले पराजित गरेको हो ।
मेक्सिको क्वाटरफाइनलबाट तीन मिनेट टाढा रहेको स्थितिमा नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल फर्काएको हो ।
राफेल माक्र्वेजले आरेन रोबिनलाई पेनाल्टी एरियामा लडाएपछि नेदरल्यान्डसले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक गोलको अवसर पाएको हो । मेक्सिको सन् १९८६ को विश्वकपयता अन्तिम आठमा पुग्न सकेको छैन् । जितसँगै उपाधिको प्रबल दावेदार तथा पछिल्लो विश्वकपको उप विजेता नेदरल्यान्ड्सले आफ्नो चुनौती यथावत् राख्न सफल भयो ।
स्टोडियो कास्टेलाओमा भएको प्रि-क्वाटरफाइनलमा भिल्लारियल फरवार्ड जियोभानी डस सान्तोसले दोस्रो हाफमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए । सान्तोसले ४८ औं मिनेटमा २० यार्डबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएका थियो । डच डिफेन्डरहरू उनलाई प्रहारको अवसरबाट रोक्न चुकेका थिए । मेक्सिकोका लागि सान्तोसको यो दुई वर्षयताको पहिलो गोल हो ।
एक गोलले पछाडि रहेको स्थितिमा लुइस भान गोलको नेदरल्यान्ड्सले आक्रमण बढाएको थियो । त्यसको प्रतिफल नेदरल्यान्ड्सले ८८ औं मिनेटमा प्राप्त गरेको थियो, जति बेला वेस्ली स्नाइडरले शक्तिशाली प्रहारको मदतले गोल गरे र खेल बराबरीमा पुगेको थियो । मेक्सिकोको कमजोर क्लियरेन्समा उनले बललाई पोस्टको दिन सफल रहे ।
यसअघि खेलले ३० औं मिनेट छुँदा रेफ्री पेड्रो प्रोनेकाले खेलाडीलाई तीन मिनेटको विश्राम दिएका थिए । यस्तै दोस्रो हाफमा पनि खेलाडीले विश्राम पाएका थिए । उच्च तापक्रमका कारण यसपल्टको विश्वकपमा पहिलो पल्ट ‘कुलिङ ब्रेक’ दिइएको हो ।
कोस्टारिका पेनाल्टी सुटआटमा ग्रिसलाई ५-३ ले पन्छाउँदै विश्व्कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
गोलकिपर कोस्टा नाभसले गिकासले पेनाल्टीमा प्रहार गरेको बल रोकेपछि निर्णायक प्रहारमा युमानाले गोल गर्दै कोस्टारिकालाई पहिलोपल्ट क्वाटरफाइनल पुर्याएका हुन् । पेनाल्टी सुटआउटमा कोस्टारिकाका पाँचै खेलाडी सफल रहे । यस्तोमा बोर्गेस, रुइज, गोन्जालेज, क्याम्बेल र युमानाले प्रहार गरेका थिए ।
गि्रसका कोस्टास, लाजारोस र चोलेभासको प्रहारमा मात्र बलले जाली चुमेको थियो । गिकासको प्रहार नाभसले रोकेलगत्तै कोस्टारिकन खेलाडीले सटिक प्रहार गरेपछि पेनाल्टी सुटआउटमा ग्रिसको पाँचौं खेलाडी आवश्यक नै परेन ।
यसअघि निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटको अवधि १-१ को बराबरीमा टुंगिएको थियो । ब्रायन रुइजले ५२ औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई १-० को अग्रता दिलाएका थिए । दोस्रो पहेंलो कार्ड बेहोर्दै डुअर्टेले मैदान छाडेपछि कोस्टारिका ६६ औं मिनेटमै दस खेलाडीमा सीमित भयो । त्यसपछि सोक्राटिसले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए । अतिरिक्त समय गोलविहिन टुंगियो ।
समूह चरणमा इङल्यान्डसँग बराबर तथा इटाली र उरुग्वेलाई पराजित गरेको कोस्टारिकाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।
