
महेश भण्डारी, अध्यक्ष, बिग एफएम १०१.२ मेगाहर्ज, न्यूरोड पोखरा ।
बिग आईकन पाँचौ सँस्करणसम्म आईपुग्दा यसको उचाई निकै माथि पुगिसकेको छ । मोफसलबाट निरन्तर पाँच पटकसम्म भएको यो रियालिटि शो नेपालमै पहिलो हो । र, सबैभन्दा बढि पुरस्कार राशि भएको प्रतियोगिता पनि विग आईकन हो । यसका साथै विग आईकनमा प्रतिस्पर्धाका लागि आउने प्रतिस्पर्धीहरु पनि वर्षेनी थपिँदै गएका छन् । यहि कुराले विग आईकनको सफलतालाई स्पष्ट रुपले देखाउँछ । यूवा संचार उद्यमी महेश भण्डारीको नेतृत्वमा संचालन भैरहेको विग एफएमले वर्षेनी आफ्नो वार्षिकोत्सवको अवसर पारि विग आईकनको आयोजना गर्दै आईरहेको छ । त्यसो त विग एफएमका अध्यक्ष भण्डारी आफँै पनि संगीतलाई निकै माया गर्ने व्यक्ति हुन् । संगीत सम्बन्धि खोज, अनुसन्धान र जानकारी राख्न उनी रुची राख्छन् । संगीतलाई माया गर्ने भएकै कारण उनले विग आईकन जस्तो साँगीतिक कार्यक्रमलाई विशेष बनाउन सँधै प्रयत्नरत हुन्छन् । उनै महेश भण्डारीसंग साथी रेम बिकले विग आईकनसंग सम्बन्धित रहेर गरेको कुराकानीको सम्पादित अंश ः
गायन रियालिटि शो एफएमको माध्यमबाट गर्नुको कारण के हो ?
जस्तो कि, एफएमबाट पनि केहि नौलो काम गरौँ भन्ने हाम्रो योजना अनुसार हामीले गायन रियालिटि शो ‘विग आईकन’ शुरुवात गरेका हौँ । परम्परागत रुपमा जस्तो कि, न्यूज, प्रोग्राम, विज्ञापन, गीत बजाउनु मात्रै भन्दा नयाँ के गर्ने त नी भन्दा पोखरा एउटा साँगीतिक शहर हो, यहाँ संगीतकर्मी र संगीतप्रेमीहरु धेरै छन् । धर्मराज थापा, अलि मियाँ, हरिदेवी कोईराला, कल्याण शेरचन जस्ता दिग्गजहरु, जो सदैव संगीतमा समर्पित भए, गोपाल योञ्जन, नारायण गोपाल जस्ता हस्तीहरु पनि विभिन्न कालखण्डमा पोखरा र यहाँको संगीतसंग सम्बन्ध राखे । त्यसैलाई जिवन्तता दिनका लागि भनौ पोखरालाई साँगीतिक माहौल दिनका लागि प्रतियोगितात्मक गायन प्रतियोगिता उचित हुन्छ भन्ने ठानेर हामीले विग आईकन शुरुवात गरेका हौँ । हामी पाँचौ सँस्करणसम्म आईपुग्दा जे सोँचेर शुरुवात गरेका थियौँ त्यसमा सफल पनि भैसकेका छौँ । हामीले प्रत्येक वर्ष एफएमको वार्षिकोत्सवको अवसर पारेर यो ग्राण्ड ईभेन्ट गर्दै आएका छौँ र, पश्चिमाञ्चलसंगै नेपालकै उत्कृष्ट साँगीतिक मञ्चको रुपमा विग आईकनले आफ्नो स्थान बनाईसकेको छ ।
विग एफएम ईभेन्टमा आधारित एफएम हो ?
ईभेन्ट पनि गर्छौँ, स्रोताहरुसंग नजिक भएर गर्छौँ । ईभेन्ट गर्नुमा हाम्रो स्वार्थ भनेको एफएममा स्रोताहरुको प्रत्यक्ष सहभागिता हो । तर एफएम ईभेन्टमा मात्रै आधारित भन्दा पनि हाम्रो आफ्नै खालका मौलिक कार्यक्रमहरु पनि छन् । विग न्यूजमा प्रशारण हुने न्यूज, रिपोर्टहरु पश्चिमाञ्चलमा चर्चाको विषय बन्ने गर्छ । त्यसैले हामी न्यूजमा पनि अगाडि छौँ । हाम्रा अन्य केहि कार्यक्रमहरु छन् जस्तो, स्थापनाकालदेखि शुरु गरेको रेडियो नाटक ‘एउटा कथा यस्तो पनि’ जुन स्रोताहरुले सर्वाधिक रुचाउने कार्यक्रममध्ये अगाडि छ । रेडियो नाटककै लागि करिब सात जना जनशक्तिहरु खटिनुपर्छ, त्यहि अनुसारको प्रोडक्शनको काम गर्नुपर्छ । त्यसैगरि यस क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक र राजनीतिक विषयहरुलाई पनि समाचार र कार्यक्रममार्फत हामीले प्रशारण गर्दै आएका छौँ । जुन यूवापुस्ताले अत्याधिक रुचाईरहेका छन् । त्यो बाहेक विग एफएम अन्य रेडियोको तुलनामा फरक देखिनुको अर्को कारण भनेको के हो ? भने हामीले १९ घण्टासम्म एफएमबाट प्रशारण हुने सम्पुर्ण कार्यक्रम तथा समाचार हामी आफैले उत्पादन गर्छौँ, न कि अन्य देशी विदेशी एफएमबाट हुक गर्दैनौँ ।
एफएम रेडियोहरुप्रति पछिल्लो समय मानिसहरुमा वितृष्णा छ भनिन्छ नी ?
एफएमका स्रोता घटेका होईनन् । झन् बढेका छन् । विग आईकनले यो कुरालाई पुष्टी गरिदिएको छ । अहिले विश्वकप फुटबलको सिजनमा पनि हामीलाई सुन्नेहरु अत्याधिक छन् । म मान्दिन कि एफएमको स्रोता घटेका छन् । एफएमप्रति मानिसहरुको बितृष्णा हुनु भनेको उसको मौलिकता, लगनशिलता र कल्पनाशिलतामा कमी आएर हो । यी कुराहरुमा हामीले कहिल्यै पनि कमी आउन दिएनौँ । रेडियो समयक्रम अनुसार परिवर्तत हुँदै जानु पर्छ । परम्पराबादी समाचार र कार्यक्रमहरुभन्दा माथि उठेर स्रोताको परिवर्तित सोँचअनुसारको समाचार, कार्यक्रम र त्यसको शैली परिवर्तन गरेको खण्डमा एफएम सुन्ने स्रोताको कमी कहिल्यै हुनेछैन ।
बजारमा विग एफएमको जुन प्रभाव देखिन्छ, विग आईकनमा आएका स्पोन्सरहरुको लामो सूचीले पनि त्यसलाई प्रमाणित गर्छ, मोफसलमा रहेको एफएमबाट यो कसरी संभव भयो ?
यो चाँहि हाम्रो मेहेनतबाटै संभव भएको हो । पहिलो विग आईकनमा हामीले सामान्य स्पोन्सर उठाएर ईभेन्टलाई शुरु गरेका थियौँ । तर हामीलाई त्यो बेला स्रोता तथा शुभेच्छुकहरुबाट निकै राम्रो सहयोग मिल्यो । तत्कालिन समयमा हामीलाई विग आईकनको फाईनलमा मात्रै पाँच लाख भन्दा बढि एसएमएस प्राप्त भएको थियो । सामान्यत स्पोन्सरहरुले सँधै आफ्नो ब्राण्डिङ खोज्छन् र उनीहरुले चाहेअनुरुपको ब्राण्डिङ विग एफएम र हामीले गर्ने ईभेन्ट विग आईकनबाट संभव भयो । मल्टिनेशनल कम्पनीहरु पनि हामीप्रति आकर्षित भए । उनीहरुलाई विग आईकन र विग एफएमको बारेमा जानकारी दिनका लागि हाम्रो मार्केटिङ टिम पनि उत्तिकै लाग्यो । हाम्रो मेहेनत, विज्ञापनदातालाई हामीले दिने माईलेज र स्रोता शुभेच्छुकहरुको अथाहा मायाले नै यो संभव भएको हो ।
उसो भए, विग आईकनकै कारणले विग एफएम ‘पश्चिमाञ्चलकै नम्बर वान एफएम’ भएको हो भन्न मिल्छ ?
एक अर्थमा यो पनि भन्न मिल्छ । किनभने विग एफएमलाई यो उँचाईसम्म पु¥याउन विग आईकनजस्तो ग्राण्ड गायन रियालिटि शो को प्रभाव हुँदैन भन्न त मिल्दै मिल्दैन । यद्यपी विग एफएम पश्चिमाञ्चलकै नम्बर वान एफएम हुनुमा अन्य कुराहरुको पनि उत्तिकै ठुलो योगदान छ । विग एफएमबाट प्रशारण हुने न्यूज, प्रोग्रामलाई उत्कृष्ट बनाउन योगदान दिने कर्मचारीहरुकै कारण हामी पश्चिमाञ्चलकै नम्बर वान बन्न सक्यौँ । त्यो बाहेक आर्थिक रुपमा बलियो बन्नका लागि मार्केटिङ टिमको योजना र योजना कार्यान्वयन अर्को कारण हो नम्बर वान हुनुको । विग आईकनको बेलामा मात्रै विग एफएमको चर्चा हुने पनि होईन, अन्य समयमा पनि विग एफएमको चर्चा उत्तिकै हुने गर्छ । एफएम भनेपछि संगीतसंग यो जोडिने नै भयो, त्यसैमाथि हामीले संगीतसम्बन्धि खोज खनिज गर्ने ‘मेलोडि टाईम्स’ जस्तो प्रोग्राम पनि एफएमबाट प्रशारण गर्दै आएका छौँ । विग आईकनसम्म आईपुग्दा संगीतको दायरा अझै फराकिलो बनाउँदै लगेका छौँ । पहिला हाम्रो प्रोग्राम हिट हो, न्यूज प्रभावकारी हो र, यो हाम्रो टिमको स्पिरिटबाट मात्रै संभव भएको हो ।
रियालिटि शो को एउटा विडम्बना छ, विजेता घोषणा गर्छन् अनि विजेता कता हराउँछन् कता ? विग आईकनहरुको हालत अहिले कस्तो छ त ?
एकदमै समसामयिक कुरा गर्नुभो । हामीले विग आईकनको पाँचौ सँस्करणसम्म आईपुग्दा यो कुरालाई एकदमै विशेष ध्यान दिएका छौँ । हाम्रा विजेताहरुको कुरा गर्दा हामीले उनीहरुलाई विग आईकनको हरेक ईभेन्टमा सम्झिने गरेका छौँ । पहिलो विग आईकनबाटै कुरा गरौँ । पहिलो विग आईकन विजेता गगन पुन पहिलो एल्बम ‘रिदम’ बजारमा ल्याएपछि पुनः अर्को एल्बमको तयारीमा छन् । उनी विभिन्न देशहरुमा स्टेज शो का लागि बोलाईने अहिलेका व्यस्त गायक हुन् । त्यसैगरि दोस्रो विग आईकन सुमन गौतम पोखरा र आसपासमा सेलेब्रिटि बनिसकेका छन् । यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा स्टेज तताउन उनी माहिर मानिन्छन् । फिल्मको पाश्र्वगायन समेत गरिसकेका उनी अहिले लेकसाईडस्थित एउटा स्तरिय बारमा गायक हुन् । त्यहाँबाटै उनले राम्रो आम्दानी समेत गरिरहेका छन् । तेस्रो विग आईकन नविन काफ्ले पनि संगीतमै छन् । गीत रेकर्डिङ गर्ने तयारी गरिरहेका उनले विशेषगरि आफुलाई अझै बढि निखार्नका लागि संगीतकै शिक्षा लिईरहेका छन् । केहि समयमै उनको पनि साँगीतिक एल्बम बजारमा आउनेवालामा छ । चौथो विग आईकन मुस्कान रानाभाट पनि निकै चर्चित छिन् । विग आईकन हुनु अगावै उनले एउटा एल्बम निकालिसकेकी थिईन् । बालगीत संग्रह निकालेकी उनले अहिले चारवटा भन्दा बढि गीतहरु रेकर्ड गराईसकेकी छन् । चाँडै नै उनको एल्बम पनि बजारमा आउँदैछ । त्यो बाहेक उनी चाँडै नै बेलायतको साँगीतिक यात्रा पनि गर्दैछिन् । यी त भए विग आईकन विजेताका कुरा त्यो बाहेक विग आईकनका उत्कृष्ट प्रतिस्पर्धीहरु दुर्गा परियार, नरजंग गुरुङ, आशिसदास दियाली जस्ता प्रतिभाहरु अहिले नेपाली साँगीतिक फाँटमा निकै चर्चामा रहेका छन् ।
विग आईकनको ग्राण्ड फिनाले निकै भव्य हुने गर्छ । यो पटकको भव्यता कस्तो रहला ?
विग आईकन भव्य हुनुको कारण हो, विग आईकनले मान्छेलाई निकै उत्सुक बनाईदिन्छ । संगीतप्रेमीहरुमा त्यो एउटा जागरुकता आफ से आफ आउने कुरा हो । २१ वटा चरण पार गरेर ग्राण्ड फिनालेमा को को उत्रिए ? र, उनीहरुमध्ये को चाँहि विग आईकन बन्छ ? भन्ने कुरा अलनेपाल उत्सुकताको विषय हुन्छ । र, यहि स्रोता तथा सुभेच्छुकहरुको उत्सुकताले कार्यक्रमलाई भव्य तुल्याईदिन्छ । त्यो बाहेक हरेक विग आईकनको ग्राण्ड फिनालेमा सेलिब्रिटिहरुबाट विग आईकन घोषणा गर्ने हुँदा पनि त्यसले भव्यता दिलाउँछ । यो पटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह’ जोडि पनि ग्राण्ड फिनालेको अर्को आकर्षण हुनेछन् । विग आईकनमा प्रवेशका लागि थोरै रकम भएपनि पुग्ने भएकोले पनि स्रोता सहभागिता अत्याधिक हुने गरेको छ । जुन रकम हामीले बालश्रमिकहरुका लागि उठाउँदै आएका छौँ । यो पटक हामीले विशेषगरि कार्यक्रमको व्यवस्थापन र सुरक्षा व्यवस्थालाई चुस्त बनाउने तर्फ ध्यान दिनेछौँ ।
