भानुभक्तका सबै कृति नेपाली वाङ्मयका आधार स्तम्भः सरुभक्त

Share:

रञ्जन अधिकारी पोखरा, असार २९ / साहित्यकार सरुभक्तले आदिकवि भानुभक्तका सबै कृतिहरु नेपाली वाङमयका आधार स्तम्भ रहेको बताएका छन् । उनले रामायण लगायतका भानुभक्तका कृतिले नेपाली भाषाको उन्नयनमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

ज्ञानज्योति पुस्तकालय, पोखरा १५ रामबजारले आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको अवसरमा आईतबार आयोजना गरेको कवि गोष्ठीमा बोल्दै प्राज्ञ सरुभक्तले रामायण हिन्दु धर्मको ग्रन्थ मात्र नभएर सम्पूर्ण साहित्यकारहरुका लागि साहित्यिक ग्रन्थ भएको बताए । ‘साहित्यले लोकको सेवा गर्छ भन्ने भानुभक्तलाई थाहा थियो । त्यसैले त रामायणको पहिलो लाईनमै लोकलाई समेटिएको छ’ –उनले भने– ‘रामायण कृतिले जनजनमा नेपाली भाषा फैलियो । साहित्यका माध्यमबाट सबै जाति, धर्म, भाषाीहरुलाई एकताबद्ध बनाउने काम भयो ।’

जहाँनिया एकतन्त्रीय राणा शासनको प्रारम्भिक कालमा सुगौली सन्धीबाट पराजित मानसिकताले गुज्रिएको नेपाली समाजलाई साक्षी राख्दै लेखिएको रामायणले नेपाली समाजनै परिवर्तन गर्न सकेको उनको ठम्याई छ । सरुभक्तले नेपालमा शिक्षाको बारेमा भाषणबाजी गर्नेहरु धेरै भएपनि पुस्तकालय स्थापना र यसको सञ्चालमा सहयोगी हातहरु नभएको उल्लेख गर्दै पढेका व्यक्तिहरु समेत पुस्तकालयका महत्वको बारेमा भाषणबाजीमा सीमित रहेको भन्दै चिन्ता जनाए ।

प्रा.डा. कुशुमाकर न्यौपानेले कूलमात्रै नभएर राष्ट्रकै कल्याण गर्ने व्यक्तित्व आदिकवि भानुभक्तले विभिन्न छन्दमा आफ्नो प्रतिभालाई कृतिमार्फत बाहिर ल्याएको बताए ।

भानुभक्तका पाँचौ पुस्ताका सन्तति प्रदीपभक्त आचार्यले भानुभक्तको परिचय दिँदै भानु जन्मस्थल विकास समितिले स्थापना गरेको भानु पुस्तकालय अवलोकनका लागि सबैलाई आग्रह गरे ।

गोष्ठीमा प्राज्ञ रमेश श्रेष्ठ, कवि ईश्वरमणि अधिकारी, साहित्यकार दुर्गाबहादुर शाह बाबा, कवि रामनाथ अधिकारी, नारायण बास्तोला, धर्मराज पौडेल, शिवप्रसाद गौतम, प्रकाश ज्ञवाली, सुरेश रानाभाट लगायतले कविता वाचन गरेका थिए ।

सो अवसरमा पुस्तकालयका पूर्व अध्यक्ष एवं रामबजार सोसाईटी यूकेका सल्लाहकार महेश गुरुङले शिक्षाविद् जोर्ज जोनले स्थापना गरेको अक्षयकोषमा १० हजार रुपैंया थप तथा पुस्तकालयका लागि ६ हजार रकम हस्तान्तरण गरे । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य दिलिप श्रेष्ठले एक थान कम्प्युटर, दीपक गुरुङले ६ हजार तथा यामबहाजुर थापाले एक थान घडी प्रदान गरे ।

ज्ञानज्योति पुस्तकालयका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तारानाथ पाखेले स्वागत, उपाध्यक्ष माधव बरालले धन्यवाद ज्ञापन तथा सचिव गुरुदत्त कोईरालाले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: