लोकप्रिय गायक स्व. अरुण थापाको पोखरामा स्मरण

Share:

साउन ०५,   पाेखरा । 

नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापामगरको सोमबार पोखरामा सम्झना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा अरुण थापाको १६ औं स्मृति दिवसका सन्दर्भमा गरेको ‘अरुण थापा स्मृति कार्यक्रममा बिदाको दिन नभएपनि हलभरि खचाखच दर्शक थिए ।

कार्यक्रममा बोल्दै पोयुसांपका संस्थापक अध्यक्ष एवं अरुण थापाका समकालीन साथी वरिष्ठ गायक सरोजगोपाल बज्राचार्यले अरुण थापा मीठो स्वर र तेज स्मरण शक्ति भएको गायक भएको बताउनुभयो । अरुण थापाका जुन गीत सुनेपनि असाध्यै मीठो लाग्ने उल्लेख गर्दै बज्राचार्यले अरुण थापाको गीतमा डुबेर गाउने बानी साह्रै राम्रो भएको समेत बताउनुभयो । अरुण थापाको वैवाहिक जीवन असफल भएपछि कुलतमा लागेको बताउँदै उहाँले विवाह असफल भएपनि सांगीतिक जीवन भने अत्यन्त सफल रहेको उल्लेख गर्नुभयो । नशाको लतले अरुण थापालाई हामीबाट टाढा बनाएको बताउँदै बज्राचार्यले अरुण थापालाई नशाको लतबाट छुटाउन धेरै सल्लाह दिएको भएपनि नसकेको उल्लेख गर्नुभयो ।

वरिष्ठ साहित्यकार एवं अरुण थापाका अर्का समकालीन साथी सरुभक्तले आफ्नो छोटो जीवनमा आफ्नो विलक्षण प्रतिभा प्रदर्शन गरेर अरुण थापा स्थापित भएको उल्लेख गर्नुभयो । पोयुसांपले लामो समयको अन्तरालपछि आफ्ना संस्थापक सदस्य अरुण थापालाई सम्झेकोमा खुशी व्यक्त गर्दै सरुभक्तले अरुण थापा थोरै गीत गाएर धेरै चर्चा पाउने गायक भएको बताउनुभयो । ‘अरुण थापा मेरो साथी हो भन्दा मलाई गर्वानुभूति हुन्छ’, साहित्यकार सरुभक्तले भन्नुभयो, ‘उनको गीति यात्रा प्रगति उन्मुख थियो, उनी संगीतका एक अमर प्रतिभा हुन् ।’

सो अवसरमा अरुण थापाका कालजयी गीतहरू विभिन्न कलाकारहरूले प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित गायक विनोद बानियाँले जति माया लाएपनि र भुलुँ भुलुँ लाग्यो मलाई, गुरुकूल संगीतालयका गायक पशुपति गुप्ताले म रोएपनि, गायक नरजड्ड गुरुङले आँखाको निद खोसी लाने, संगीत प्रशिक्षण केन्द्रकी गायिका डा. मितु पालले भुलेका कथा तीता मीठा, गायक आशीष दियालीले साँझको जुनसँगै, तराना म्यूजिकका संगीतकार श्रीमान थुलुङले दोष कसैलाई दिन चाहन्न, पोखरेली युवा सांस्कृतिक परिवारका संगीत विभाग संयोजक प्रसाद खप्तरीमगरले चोट के हो व्यथा के हो र गायक विजय गुरुङले ऋतुहरूमा तिमी गाउनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक सरोजगोपाल बज्राचार्य, वरिष्ठ साहित्यकार सरुभक्तसहित वरिष्ठ कवि तीर्थ श्रेष्ठ, पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, कवि विक्रम सुब्बालगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहयोग गर्नेहरूलाई मायाको चिनो समेत दिइएको थियो । परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश ज्ञवालीले गर्नुभएको थियो भने स्वागत संगीत विभाग संयोजक प्रसाद खप्तरीमगरले गर्नुभएको थियो । यसअघि, विगत तीन वर्षदेखि नेपाल मगर विद्यार्थी सङ्घ कास्कीले अरुण थापा स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै अरुण थापाको सम्झना गर्दै आएको थियो । काठमाडौंमा समेत सङ्घको केन्द्रीय समितिको आयोजनामा हरेक वर्ष ‘अरुण स्मृति सड्डीत पुरस्कार’ वितरण समेत हुँदै आएको छ । यसैबीच, यस वर्षको अरुण स्मृति सड्डीत पुरस्कारबाट सड्डीतकार अजय थापा सम्मानित हुनुभएको छ । राजधानीमा आयोजित कार्यक्रमका बीच सड्डीतकार थापालाई संस्कृतिमन्त्री भीम आचार्यले उक्त पुरस्कारबाट सम्मान गर्नुभयो ।

रुद्र श्रीष मगर

कमेन्ट गर्नुहोस्
Share: