पोखरा, ७ साउन / सफाइ कर्मचारीले विभिन्न माग राख्दै आन्दोलनमा उत्रेपछि स्वास्थ्य सेवा बन्द भएको मणिपाल शिक्षण अस्पताल आजबाट सुरु भएको छ । मंगलबार मानवअधिकारकर्मी तथा पोखरा उद्योग बाणिज्य संघको पहलमा भएको वार्तामा सफाइ कर्मचारी र अस्पताल प्रशासनविच सहमति भएपछि सेवा शुरु भएको हो ।
दुवैपक्षविच ८ वुंदे सहमति भएको छ । सहमतिमा आन्दोलनको अगुवाइ गरेका कृष्ण गायक तथा अस्पताल प्रशासनका तर्फबाट अस्पतालका डाइरेक्टर पि।के चक्रवती र मानव संसासधन तथा प्रशासन प्रमुख बिरेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सहमतिपछि कर्मचारीले मंगलबार साँझमा सफाइ गर्न थालेका छन् ।
‘सहमति भएपछि हामी सरसफाइ गर्न अस्पतालमा आएका छौं’ कृष्ण गायकले भने, ‘बुधबारदेखि सेवा शुरु हुदैछ ।’ अस्पताल आइतबारदेखि अनिश्चितकालका लागि बन्द भएको थियो । आइतबार जिल्ला प्रशासनमा वार्ता भएपनि सहमति भएन । ८ वुंदे सहमतिमा सफाइ कर्मचारीलाई अस्पतालले पोशाक सन् २०१५ सम्म उपलब्ध गराउने, आवश्यक सामग्री उपलब्ध गराउने, सामुहिक सौदाबाजी अनुसार अन्य सेवा सुविधा प्रदान गरिने, अतिरिक्त काम गरेबापतको भत्ता र समयमा बिदा उपलब्ध गराउने, कर्मचारी थप्न सुपरभाइजर तथा अस्पताल प्रशासनले छलफल गर्ने र गैरकानुनी तवरले अस्पतालमा कर्मचारीले आन्दोलन, बन्द हड्ताल गर्न नपाउने गरेमा श्रम ऐन अनुसार कार्वाहि गर्ने उल्लेख छ ।
वार्तामा बरिष्ठ मानवअधिकारर्मी टेकनाथ बराल लगायत, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइराला र अन्य सदस्य पनि सहभागि थिए । दिउँसोबाट वार्ता शुरु भएपनि साँझमा मात्र सहमति भएको थियो ।
