
रञ्जन अधिकारी पोखरा, ८ साउन / पोखराको पर्यटकीय क्षेत्र लेकसाईड र व्यापारिक क्षेत्र न्यूरोड सुरक्षाका हिसाबले पनि संवेदनशील छन् । यद्यपी पोखरा असुरक्षित शहर भने होईन । तरपनि अब यी क्षेत्रमा रातको समयमा पनि झलमल्ल हुने भएपछि सुरक्षाको थप प्रत्याभूति हुने अपेक्षा गरिएको छ । शहरका यी दुई मूख्य सडक क्षेत्रका दाँयाबाँया सौर्य बत्ती जडान कार्य सम्पन्न भएको छ ।
सार्वजनिक–निजी–साझेदारी अवधारणा अन्तर्गत दुई करोडको लागतमा दुवै क्षेत्रका साढे चार किमि सडकमा सौर्य बत्ती जडान भएको हो । नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग, सेण्टर फर इन्क्ल्युसिभ ग्रोथ (सीआईजी) को प्राविधिक तथा आर्थिक सहयोग एवं पोखरा पर्यटन परिषद् र न्यूरोड टोल सुधार समितिको स्थानीय सहभागितामा कूल दुई करोड १ लाख लागतको परियोजना सम्पन्न भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ८० लाख, पोखरा उपमहानगरपालिका कार्यालयले ४५ लाख, सिआईजीले १८ लाख ५० हजार आर्थिक सहित प्राविधिक सहयोग र बाँकी ५७ लाख भने दुवै ठाउँका उपभोक्ता समितिले व्यहोरेको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए ।
गत वैशाख ८ गतेबाट सौर्यबत्ती जडान अभियान सञ्चालन भएकोमा जेठ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएपनि असार मसान्तसम्ममा जडान कार्य सम्पन्न भएको हो । सौर्यबत्तीको उद्घाटन आगामी साउन २१ गते स्थानीय विकास तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नेछन् । न्यूरोड क्षेत्रमा सभागृहचोकदेखि विपीचोकसम्म ९७ र लेकसाईडको शहीदचोकदेखि खहरेसम्म एक सय ३ ओटा पोलमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य बत्तीका लागि प्रत्येक पोलमा सोलार प्यानल र ब्याट्री जडान गरिएको छ ।सडक किनारको दुवैतिर १५÷१५ मिटरको दूूरीमा जडित सौर्य बत्ती र प्यानलमा १० वर्ष ग्यारेण्टी तथा ब्याट्रीको दुई वर्ष वारेण्टी रहेको छ भने ४० वाटको बत्ती प्रयोग हुने भएकाले पर्याप्त उज्यालो हुने कार्यकारी अधिकृत अधिकारीले जनाए । एकदेखि डेढ मिटर गहिरो ढलान गरेर गाडिएका पोल जमिनमाथि साढे सात मिटर उचाईका छन् । पोलहरु २० वर्षसम्म हावापानीबाट नबिग्रने बताईएको छ । एक दिनमा पा“च घन्टा घाममा चार्ज भएपछि आधारातसम्म फुल लाइट र त्यसपछि केही मधुरो बल्नेछ । न्यूरोडको तल्लो क्षेत्रमा गत महिना केहि हप्ता परीक्षण समेत गरिएको थियो ।
‘नेपालकै यो मोडल आयोजना हो । अब हामी उद्घाटनको चरणमा छौं’ – कार्यकारी अधिकृत अधिकारीले भने – ‘१७ औं नगरपरिषद्ले नै ‘हाम्रो नगर, उज्यालो शहर’ अभियानलाई अघि सा¥यो । यसै अभियान अन्तर्गत पर्यटकीय र व्यवसायिक हिसाबले महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिसक्यौं ।’ आगामी तीन वर्ष भित्र पोखराका महत्वपूर्ण सडकहरु पुरै सौर्य प्रणालीमा आधारित बनाउने लक्ष्य अनुरुप १८ औं नगरपरिषद्ले पनि चालू आ.व. २०७१÷७२ का निमित्त ८० लाख बजेट विनियोजन गरिसकेको अधिकारीले बताए । पोखरा १ अन्तर्गत बागबजार क्षेत्र र वडा नं. १३ का पनि केहि क्षेत्रमा वडा स्तरीय बजेट र टोल विकास संस्थाहरुको पहलमा सौर्य बत्ती जडान कार्य सम्पन्न भईसकेको जनाउँदै उनले सरकारकै प्राथमिकता प्राप्त आयोजना भएकाले स्थानीयस्तरमा कार्यालय लागिपरेको बताए ।
‘सौर्य प्रणालीमा गईसकेपछि पोखरा उपमहानगरपालिका कार्यालयले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्कमा उल्लेख्य रुपमा कटौति हुनेछ’– उनले भने–‘ कार्यालयले प्राधिकरणलाई करीब ११ करोड रुपैंया महसुल भुक्तानी गर्न बाँकी रहेको अवस्थामा अब सहज हुनेछ । उपमहानगरले सडक बत्तीबापत वार्षिक २० लाख रुपैया“ लगानी गर्दै आएको छ । उनले अध्यारोमा आफै बल्ने र उज्यालोमा आफै डिम हुने अटोमेटिक प्रणालीमा आधारित सो बत्तीको दिगो व्यवस्थापनका लागि पोलमा विज्ञापन राख्नका लागि ठेक्का आह्वान गरिसकेको जानकारी दिए ।
विज्ञापनबाट प्राप्त रकमलाई यसैमा खर्च गरिने नीति बनाएर अघि बढिसकेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोईराला बताउँछन् । ‘विज्ञापनको आम्दानी व्यवस्थापन समितिको कोषमा राखेर यसैबाट सडक बत्ती मर्मत सम्भार गरिनेछ’ – उनले भने – ‘विज्ञापन एजेन्सीलाई दिनका लागि टेण्डर आह्वान समेत भईसकेको छ ।’ पोखरा उद्योग वाणिज्य संघकै मध्यस्थतामा कठिनाईहरु हल गर्दै आज बत्ती जडान गर्ने अवस्थासम्म आईपुगेको भन्दै उनले खुशी व्यक्त गरे ।
लेकसाइडमा पोखरा पर्यटन परिषद्को अगुवाइमा आर्थिक सहयोग सङ्कलन जारी छ। हालसम्म शहीदचोकदेखि बाराहीघाटसम्मका स्थानीय व्यवसायीसँग संस्थागत तथा व्यक्तिगत सहयोग संकलन गरिसकेको जनाउँदै परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले खहरेसम्मकै उपभोक्तासँग सहयोग संकलन गरिने जनाए । उनले सौर्य बत्ती जडान भएपछि रातको समयमा पर्यटकलाई हि“डडुल गर्न सहज हुनुका साथै लोडसेडिङको समयमा पनि १४ ओटा सीसीटीभी क्यामेराका लागि सौर्य ऊर्जाबाट नै ब्याकअप उपलब्ध हुने भएपछि सुरक्षित हुने बताए । यसअघि पर्यटन सम्बद्ध संघसंस्था, व्यवसायी, स्थानीय बासिन्दाको सहयोग र सहभागितामा लेकसाइड क्षेत्रमा सीसीटीभी जडान भएको थियो। लेकसाईड पछि न्यूरोडमा पनि सिसि क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढिसकेको छ ।
सौर्य सडक बत्ती जडान समिति, लेकसाइडका संयोजक रहेका रेवान, पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले लेकसाईडमा राति उज्यालो हुँदाको फाईदा स्थानीय व्यवसायी र पर्यटकलाई मात्र नभएर राज्यलाई नै हुने भन्दै उनले यो एउटा मोडल योजनाका रुपमा लिएर समग्र पोखरालाई नै सुरक्षित बनाउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार करीब ३५ लाख जुटाउनुपर्ने परिषद्ले हालसम्म २० लाख बढि संकलन गरिसकेको छ । ‘लेकसाईड क्षेत्रमा मात्रै वार्षिक खर्च ७ लाख रहने अनुमान छ’ – भट्टराईले भने – ‘पोलमा विज्ञापनका लागि ठाउँ दिएर वार्षिक १५ लाख उठाउने योजना छ ।’
सौर्यबत्ती योजना थाल्न काठमाडौंको सुर्योदय उर्जा कम्पनी प्रालिसित सौर्य सडक बत्ती व्यवस्थापन समितिका तर्फबाट कार्यकारी अधिकृत अधिकारी, नया“ सडक सुधार समितिका अध्यक्ष डम्बरबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल र पोखरा उद्योग वाण्ँिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइराला तथा निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रालिका तर्फबाट निर्देशक नवीन भुजेल र प्रबन्ध निर्देशक रामबहादुर भण्डारीले हस्ताक्षर गरेका थिए । सोलार बत्ती जडान पछि लेकसाईड र न्यूरोड क्षेत्रको शान्ति सुरक्षामा समेत सघाउ पुग्ने विश्वास गरिएको छ ।
