
१९ साउन, काठमाडौं । साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार दुईवर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन् ।
नेपाली महिलाबारे विस्तृत विवरण सार्वजनिक नगरेपछि त्यहाँ रहेको नेपाली दुतावासले यस विषयमा गम्भीर चासो व्यक्त गरेको छ । मृत्युदण्ड दिइएकी महिलाको नाम ‘शोबा ब्यारियर’ लेखेको छ, जसका कारण उनको नाम स्पष्ट हुन सकेको छैन । तर, उनी यसअघि नै मृत्युदण्डको सजायँ सुनाइएकी शोभा परियार हुन सक्ने अनुमान गरिएको छ ।
मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
घटनाबारे बुझ्न राजदूतावास सक्रिय
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले यो घटनाबारे बुझिरहेको बताएका छन् । मंगलबारसम्म जानकारी आएपछि थप भन्न सकिने उनले बताए । ‘अहिलेसम्म हामीलाई सरकारी तहबाट जानकारी आएको छैन, मैले पनि समाचार हेरेर थाहा पाएको हुँ ।’ राजदूत पाण्डेले सोमबार साँझ टेलिफोनमा भने- ‘अरर शहरमा एक नेपाली महिला नाबालक हत्या अभियोगमा थुनिएकी थिइन्, उनै हुन् वा अरु कोही हुन्, हामीले बुझ्ने प्रयास गरिरहेका छौं ।’
करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताए । ‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन् ।’ राजदूत पाण्डेले भने । आफूले आवेशमा आई हत्या गरेको र मनशायप्रेरित हत्या नभएको भन्दै मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई कन्भिन्स गरिदिन आफूले त्यहाँको गर्भनरलाई भेटेर आग्रहसमेत गरेको राजदूत पाण्डेले बताए । आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।
‘गर्भनरले कोसिस पनि गरेका हुन् तर, मृतकको परिवार निकै क्रुद्ध थियो,’ राजदूत पाण्डेले भने । यसबारे आफूले निकै पहिले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको र उनको परिवारसँग पनि सम्पर्क गरेको पाण्डेले जानकारी दिए ।
यद्यपि मृत्युदण्ड दिइएको भनिएकी महिलाको नाम अस्पष्ट भएकाले आफूले उनको अवस्थाबारे तत्कालै बताउन नसक्ने पाण्डेले बताए । यसबारे मंगलबारसम्म विस्तृत सूचना प्राप्त हुने राजदूत पाण्डले बताए ।
Source: Onlinekhabar
