लामाचौरमा हरितालिका तीज महोत्सव–२०७१ को तयारी

Share:

पोखरा, २० साउन / यसपालिको तीजमा पनि पोखराको लामाचौरमा हरितालिका तीज महोत्सव–२०७१ तथा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । तीजको अवसरमा स्थानीय नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारी नेपाली सँस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्दै प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले विविध प्रतियोगितासमेत आयोजना गर्दैआएको छ ।

संस्थाको १८ औं वार्षिकोत्सवको अवसरमा आगामी भदौ १० देखि १२ गतेसम्म लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी उच्चमाविको प्राङ्गणमा हुने सो महोत्सवको लागि तयारी तीव्र पारिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।

आयोजकले अघिल्लो वर्ष झैं यसपटक पनि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितालाई मुख्य आकर्षणको रुपमा राख्दै सम्पूर्णबाट सहयोगको अपेक्षासमेत गरेको छ । संस्थाका अध्यक्ष क्षत्रीका अनुसार महोत्सवमा यसबाहेक माविस्तरीय छात्रा भलिबल, अन्तरमावि लोकनृत्य, खुला तीज गीत, नरबहादुर स्मृति सितेरियो कराँते, पत्रकार दौड, महिला म्युजिकल चियरलगायत विविध रोचक साँस्कृतिक कार्यक्रम हुने छन् ।

राष्ट्रिय भलिबलमा डिफेण्डिङ च्याम्पियन न्यू डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ढोरपाटन भलिबल टीम, मध्यपश्चिमाञ्चल भलिबल संघ र पश्चिमाञ्चल भलिबल संघको सहभागिता रहनेछ । विजेतालाई ५० हजार १०१, उपविजेतालाई ३० हजार १०१, तेस्रोलाई १५ हजार तथा सान्त्वनालाई १० हजार प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडीसहित ५ विधा सर्भर, रिसिभर, डिफेन्डर, ब्लकर र स्पाइकरलाई पनि पुरस्कृत गरिनेछ ।

लोकनृत्यमा प्रथमलाई १५ हजार १०१, दोस्रोलाई १० हजार १०१, तेस्रोलाई ७ हजार १०१ र तीन समूहलाई सान्त्वना पुरस्कारको रुपमा ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । अन्तरमावि छात्रा भलिबल विजेतालाई २५ हजार १०१, उपविजेतालाई १५ हजार १०१ तथा उत्कृष्ट खेलाडी पुरस्कारसहित विभिन्न विधामा पुरस्कृत गरिनेछ ।

तीज गीतमा प्रथमलाई १५ हजार १०१, दोस्रोलाई १० हजार १०१, तेस्रोलाई ७ हजार १०१ तथा ५ समूहलाई ३ हजारसहित सान्त्वना पुरस्कार दिइनेछ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री, प्रचारसंयोजक संजयकुमार अधिकारी, नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ, पश्चिमाञ्चल भलिबल संघका महासचिव डीबी नेपाली, संस्थाका सचिव लक्ष्मी पाण्डेलगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: