डन ‘चरी’को गोली प्रहार गरी हत्या, मुठभेडमा मारिएको प्रहरीको दावी

Share:

काठमाडौं, श्रावण २१ – चर्चित डन दिनेश अधिकारी चरीको काठमाडौंको भिमढुंगा ६ नर्सरी भञ्ज्याङमा भएको प्रहरीसँगको भिडन्तमा ज्यान गएको छ । बुधबार बेलुकी ५ बजेतिर प्रहरीसँगको भिडन्तमा चरीको ज्यान गएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी पुष्कर कार्कीले भीमढुंगामा प्रहरीसँगको भीडन्तमा चरी मारिएको पुष्टी गर्नुभयो । भीमढुंगाबाट धादिङ जाने बाटोमा जंगलमा मारिएको कार्कीले बताए। प्रहरी अपराध महाशाखाको गस्ती टोली त्यहाँ पुगेका बेला फायरिङ भएपछि जवाफी कारबाहीमा उनी मारिएको प्रहरीले जनाएको छ ।

कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । ‘संकास्पद ब्यक्ति हतियारसहित मोटरसाइकलमा हिडेको भन्ने सूचनाका आधारमा प्रहरीले पिछा गरेको थियो’ एसएसपी कार्कीले भने-’प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायर गर्दा उनी ढले, ढलेपछि मात्रै उनी चरी हुन भन्ने थाहा भयो ।’ –

घटनास्थलबाट प्रहरीले उनले प्रयोग गरेको पेस्तोल र ८ राउण्ड गोली लाग्ने म्यागेजिन बरामद गरेको छ । म्यागेजिनमा एक राउण्ड गोली मात्रै बाँकि रहेको कार्कीले बताए । यस्तै घटनास्थलमा ४९ प ३११२ नम्बरको रातो मोटरसाइकल लडिरहेको अवस्थामा भेटिएको छ ।

चरी केही समयदेखि सार्वजनिक रुपमा हिडडुल गरिरहेका थिएनन् । ६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेकाे अभियोग लागेपछि उनी फरार थिए। लामो समय भारतमा बसेका चरी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षास्रोतले जानकारी दियो। स्रोतका अनुसार उनी काठमाडौँ भित्रिएलगत्तै केही व्यापारीहरुलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको खोजीलाई तीव्रता दिएको थियो।

उनी नयाँ बजार क्षेत्रलाई अाधार बनाएर अापराधिक गतिविधिमा सक्रिय थिए। खाग तस्करी अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरे पनि राजनीतिक दबाबपछि उनले सफाइ पाएका थिए। पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने लतमा फसेका उनी अार्थिक रुपमा कमजोर भएका थिए।

उनीमाथि एक वर्षअघि काठमाडौंको थानकोटमा गोली प्रहार भएको थियो । त्यतिबेला पाखुरामा गोली लागेपनि उनी बाँच्न सफल भएका थिए । लामो समयदेखि अापराधिक गतिविधिमा सक्रिय ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्षसमेत हुन्। धादिङकै राधे भण्डारी पहिला ‘चरी’ समूहमै थिए। ‘चरी’ एमालेमा प्रवेश गरेपछि यी दुवैबीच दुश्मनी बढेको थियो। करिब ८ महिनाअगाडि धादिङबाट काठमाडौँ फर्किएका ‘चरी’लाई काठमाडौँमा राधे समूहले गोली हानेको थियो। त्यसैको बदला लिन नयाँबजारमा ‘चरी’ले भण्डारीलाई खुकुरी हानेका थिए। खुकुरी हानेपछि चरी भागेका थिए ।

प्रहरीले अहिले चरिकी श्रीमती मोडल खुस्बु ओलीसँग बयान लिईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: