
पोखरा, २१ साउन / नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान नबन्ने ठोकुवा गरेका छन् । उनले पहिचानसहितको संघीय संविधान जारी हुन असम्भव रहेको बताए ।
२० औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘पहिचान, संघीयता र तमुवान’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सचिव गुरुङले भने ‘अघिल्लो संविधानसभा हामीले दुई तिहाई हस्ताक्षर गराउँदा त संविधान जारी हुन दिइएन, विद्यमान संविधानसभामा हालसम्म सत्तामा हालीमुहाली गर्दै आएकाहरूको बहुमत छ, यस्तोबाट हामीले उत्पीडित पक्षमा संविधान आउँछ भनेर आशा गर्नु बेकार हुन्छ ।’
उनले जनताको संविधान निर्माणका लागि सम्झौता र सडक आन्दोलन दुई विकल्प मात्रै रहेको बताए । ‘पहिलो विकल्प भनेको सम्झौता हो, त्यसका लागि सबै राजनीतिक दलहरूबीच सहमति कायम गर्ने साझा थलो बनाउनु आवश्यक छ’ उनले भने ‘नभए दोस्रो विकल्प भनेको सडक आन्दोलन नै हो, सडक आन्दोलनकै बलद्वारा जनताको पक्षमा संघीय संविधान जारी गर्नुपर्छ ।’
सचिव गुरुङले ऐतिहासिक पहिचान र उत्पीडनको संकेतका आधारमा पहिचानसहितको संघीयता आवश्यक भएको बताए । राज्यले सदियौंदेखि गर्दै आएको उत्पीडन र ऐतिहासिक पहिचानका आधारमा तमुवान स्वायत्त राज्य हुनुपर्ने धारणा राखे ।
पूर्व स्थानीय विकास तथा कानुन मन्त्री समेत रहेका गुरुङले पहिचानसहितको संघीयता र तमुवान स्वायत्तताका लागि सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, दलित, मधेशी, महिलाका बीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
नेकपा–माओवादीकी वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला सेक्रेटरी सावित्री दुरा ‘आस्था’ले अधिकारका कुरा गरिरहँदा सधैं औपचारिकमा मात्र सीमित हुन नहुने भन्दै आदिवासी जनजाति आन्दोलनको समग्र समीक्षा गर्नुपर्ने बेला आइसकेको उल्लेख गरिन् ।
नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष अशोककुमार भट्टचनले आदिवासी जनजातिहरू सचेत भएर अघि बढ्नुपर्ने बताउँदै एकले अर्काको पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष टेकबहादुर गुरुङले आदिवासी जनजातिहरूले आफ्नो मातृभाषामा शिक्षा दिने कुरालाई जोड दिनुपर्ने बताउँदै मातृभाषा जोगाउन आफैं अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकीकृत नेकपा (माओवादी) कास्कीका सह–सचिव धर्म गुरुङ, संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङ, नेकपा (एकीकृत)निकट अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) कास्कीका अध्यक्ष लालकाजी गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेल, थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचन, तमु धिं नेपालका केन्द्रीय सचिव गिरीप्रसाद गुरुङ, ङ्योए तमु धिं लेखनाथका महासचिव मनबहादुर गुरुङ, पार्दी तमु समाजका अध्यक्ष क्या. चेतबहादुर गुरुङ, सिर्सेकोट तमु समाजका नेम गुरुङ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका सचिव प्रेम रोकामगर, अखिल (क्रान्तिकारी)का नारायण गिरी, नेपाल तामाङ युवा घेदुङ कास्कीका सुक घले, नेपाल तमु विद्यार्थी छोंज धिं पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काजी गुरुङलगायतले एकजुट भएर सडकबाटै पहिचानसहितको संघीय संविधान जारी गराउन दबाब दिनुपर्ने बताए ।
महासंघका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण Þयोल्मो तथा ले जिल्ला सदस्य एवं नेपाल छन्त्याल संघ कास्कीका सचिव बमबहादुर छन्त्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२० औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको तत्वाधानमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार बिहान राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयुक्त आयोजनामा थकाली सेवा समिति, नदीपुरको सभाहलमा ‘मातृभाषा कविगोष्ठी एवं अन्तरक्रिया’ कार्यक्रम हुने महासंघका सचिव पूर्ण Þयोल्मोले जानकारी दिए ।
News: Rudra Shrees Magar, Photo: Hum Tamu
